महासंघले सात पत्रकार पुरस्कृत गर्ने

दमौली खबर संवाददाता

दमौली ५ , चैत

नेपाल पत्रकार महासंघ तनहुँ शाखाले सात जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । महासंघ स्थापना दिवसको उपलक्ष्यमा यही चैत १६ गते विविध कार्यक्रम गरी पुरस्कृत गर्ने निर्णय गरेको हो । महासंघका अध्यक्ष उज्वल पौडेलको अध्यक्षतामा बसेको कार्य समितिको बैठकले महासंघ मातहत रहेर स्थापित विभिन्न पुरस्कार प्रदान गरी दिवस मनाउने निर्णय भएको हो ।

तनहुँ शाखाको संयोजकत्वमा रहेको महासंघका पूर्व अध्यक्ष मुक्तिनाथ खनालद्वारा स्थापित पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका संस्थापक अध्यक्ष विश्वबन्धु भण्डारीलाई प्रदान गरिने निर्णय भएको सचिव प्रताप रानाले जानकारी दिनुभयो । संस्थापक अध्यक्ष भण्डारीलाई रु.१५ हजार नगद पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

उहाँका अनुसार इन्जिनियर हरिभक्त भट्टराई स्मृति पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष डम्बर बहदाुर अधिकारी, भोर्लेली केवल बहादुर स्मृति पुरस्कार महासंघ तनहुँका पूर्व अध्यक्ष प्रकाशचन्द्र भट्टराई र रण बहादुर चिजाकुमारी सुरज गुरुङ स्मृति पुरस्कार नेपाल पत्रकार महासंघ तनहुँका निवर्तमान अध्यक्ष ओकार आचार्यलाई प्रदान गर्ने निर्णय भएको छ । अधिकारी र भट्टराईलाई नगद रु.१०÷१० हजार र आचार्यलाई नगद रु.पाँच हजार पुरस्कार प्रदान गरिनेछ ।

त्यस्तै टिकानिधी ढुङ्गाना व्यास पराशर पत्रकारिता पुरस्कार नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश उपाध्यक्ष सोनी शर्मा, पत्रकार एवं वरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेद्वारा स्थापित पुरस्कार साने बहादुर नेपाली र स्वर्गीय पुरुषोत्तम काफ्ले स्मृति युवा पत्रकारिता पुरस्कार पवन पौडेललाई प्रदान गर्ने निर्णय भएको रानाले बताउनुभयो । शर्मा, नेपाली र पौडेललाई रु.१० हजारका दरले पुरस्कृत गरिनेछ ।

त्यसैगरी बैठकले तनहुँका आदरणीय व्यक्तित्व रामचन्द्र पौडेल नेपालको तेस्रो राष्ट्रपति पदमा निर्वाचित हुनुभएकामा हार्दिक बधाई तथा सफल कार्यकाल शुभकामना दिने निर्णय गरिएको छ । नेशनल इलेक्ट्रोनिक्सका प्रोप्राइटर सागर अधिकारीले छोराको जन्मदिनको अवसरमा नेपाल पत्रकार महासंघ तनहुँलाई २१ हजार रुपैयाँ बराबरको फ्रिज दिनुभएकोमा धन्यवाद ज्ञापन गरेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button