व्यास युवा कप फुटबल प्रतियोगितामा ३५ टिम सहभागी हुँदै

दमौली खबर संवाददाता
तनहुँ, असोज १ । व्यास नगरपालिका–४ स्थित व्यास युवा क्लबको आयोजनामा संविधान दिवसका दिन असोज ३ गतेदेखि व्यास युवा कप २०७९ फुटबल प्रतियोगिता हुने भएको छ । तनहुँको सदरमुकाम दमौलीमा प्रतियोगिता हुने आयोजकले शनिबार दमौलीमा पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
राष्ट्र विकासमा युवाहरुको प्रतिबद्धता, सिर्जनशील, लगनशिल सहभागिता भन्ने नाराका साथ नाइन ए साइड फुटबल प्रतियोगिता हुने पत्रकबार सम्मेलनमा बताईएको थियो । प्रतियोगिताको लागि विभिन्न जिल्लाका ३५ टिमले नाम दर्ता गराएको क्लबका सचिव मनोज राउतले जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेलाई १ लाख ११ हजार १ सय ११ र द्वितीय हुने टिमलाई ५५ हजार ५ सय ५५ नगदका साथै मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने क्लबका अध्यक्ष मिनबहादुर गुरुङ चरिबाबाले जानकारी दिनुभयो ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर र सर्वाधिक गोल कर्ता घोषित गरी जनही ५ हजार रुपैयाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो  । युवाहरुलाई फुटबल खेलतर्फ आकर्षण गर्ने र राष्ट्रिय एवं अन्तर्राष्ट्रिय फुटबल खेलाडी उत्पादन गर्ने उद्देश्यले उक्त प्रतियोगिताको आयोजना गरिएको क्लबका अध्यक्ष गुरुङले बताउनुभयो । यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी, गोल रक्षक र रक्षकलाई पाँच हजार पाँच सय रुपियाँ पुरस्कार प्रदान गरिने अध्यक्ष गुरुङले जानकारी दिनुभयो । दमौलीको बीपी वन बाटिकाको मैदानमा आयोजना हुने प्रतियोगितालाई अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले प्राविधिक सहयोग गर्नेछ । कूल १३ लाख रुपियाँ लगानीमा आयोजना गर्न लागिएको प्रतियोगितालाई व्यास नगरपालिका, स्थानीय सहयोगी संस्था र विदेशमा भएका क्लबका शुभचिन्तकले सहयोग गरेको आयोजकले जनाएको छ । प्रतियोगितामा देशै भरीका खेलाडीको सहभागिता रहने पत्रकार सम्मेलनमा बताईएको थियो ।
 प्रतियोगितामा दुई महिला टिमबीच मैत्रीपूर्ण प्रतियोगिता गरिने र त्यसमा विजेता टिमले पाँच हजार नगद तथा ट्रफी पाउने पत्रकार सम्मेलनमा बताईएको थियो । पत्रकार सम्मेलमा व्यास नगरपालिकाका प्रवक्ता जीवन गुरुङले प्रतियोगिताको लागि नगरपालिकाको तर्फबाट मद्धत हुने बताउनुभयो । रिर्पोटस क्लब गण्डकी प्रदेशका अध्यक्ष मदन वाग्लेले सबैभन्दा लोकप्रिय खेल फुटबल भएको र यस्ता प्रतियोगिताले खेलाडीको अन्तर निहित प्रतिभाको प्रस्फुष्टन गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । नेपालीहरुको महान पर्व विजयादशमी, शुभदिपावली र छठ पर्वको अवसरमा उक्त फुटबल प्रतियोगिताको आयोजना गरिएको हो । प्रतियोगिताको उद्घाटन व्यास नगरपालिकाका प्रमुख र समापन कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले गर्ने आयोजकले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button