पौने तीन करोडमा निर्माण गरिएको रामायण भवन अलपत्र अवस्थामा

दमौली खबर संवाददाता

तनहुँ, भदौ १  गते

नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको जन्मस्थान भानु नगरपालिका–४ चुँदीरम्घामा बनाइएको रामायण भवन प्रयोग बिहीन बने बनेको छ । रामयाण भवन अलपत्र परेपनि संरक्षणको लागि सम्बन्धित निकायले चासो देखिएको छैन ।

तीन वर्ष अघि निर्माण पुरा भएको उक्त भवन प्रयोगमा नआउँदा अलपत्र र जीर्ण बन्दै गएको छ । करीव पौने तीन करोड लागतमा निर्माण गरिएको भवन प्रयोगमा नआउँदा ताला लगाएर राख्नुपर्दा संरचना कमजोर बन्दै गएको छ । झालढोकामा राखिएका शिसा फुट्न थालेका छन्, काठलाई धामिराले खान थालेको छ । आफ्नो पालिकाभित्रको साहित्यिकस्थल भएकाले चासो देखाए जस्तो गरे पनि यसको संरक्षणबाट नगरपालिका पन्छिने गरेको स्थानीयवासी बताउँछन् । पछिल्ला समयमा भवनका समान चोरी हुने, तोडफोड हुने, युवायुवती बस्ने र गफिनेस्थल जस्तै बन्दै गएकोमा दुःख लागेका सोही ठाउँ निवासी पम्फा परियारले बताउनुभयो । सडक खराब भएकोले घुम्न आउने पर्यटक र स्थानीय बासिदालाई पैदल हिड्नु पर्ने भएकोले असुविधा भएको परियार बताउनुहुन्छ । भानुभक्त सम्बद्ध स्थल, खोज, अनुसन्धान, संरक्षण, प्रर्वद्धन र प्रचारका उद्देश्यका साथ स्थापना गरिएको आदिकवि भानुभक्त जन्मस्थल विकास समिमि, स्थानीय निकाय र राज्यले भाषिक एकताका प्रणेता भानुभक्त जन्म स्थान प्रति गरेको वेवस्ताले गर्दा राममायण भवन अलपत्र परेको स्थानीय बासिन्दा सन्देश आचार्यले बताउनुभयो । आचार्यले भन्नुभयो, भानुजन्मस्थल प्रति गरिएको हेय भाव, समग्र भानुको विकासमा दुरावस्था रहेको तितो यथार्थलाई चिर्न आवश्यक छ ।’’

यथोचित विकास र प्रचार प्रसारका लागि सम्बद्ध सबैको ध्यानाकर्षण हुनु पर्ने आचार्य बताउनुहुन्छ । सङ्घीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्यन मन्त्रालयको पर्यटन विभाग मातहतमा आदिकवि भानुभक्त जन्मस्थल विकास समितिले रामायण भवन निर्माण गरेको हो । करिब १० रोपनी क्षेत्रफलभित्र भानुगृह, आवासगृह, चमेनागृह, पुस्ताकालय, शौचालय, पोखरीलगायतका भौतिक संरचना निर्माण गर्ने गुरुयोजना रहेको भएपनि हाल अलपत्र अवस्थामा रहेको छ । उक्त गुरुयोजनाका लागि अनुमानित लागत १६ करोड रहेको छ । पर्यटकलाई थप आकर्षित गर्न आदिकविको १०० फिट अग्लो शालिक निर्माणलगायतका दीर्घकालीन गुरुयोजना रहेको छ । चुँदीरम्घाबेंसीदेखि शिखरकटेरीसम्म पुग्ने धनञ्जय मोटरमार्ग स्तरउन्नती नहुँदा सवारी साधन सञ्चालन गर्न सकिएको छैन ।

साहित्यिक कार्यक्रम गर्ने सभाहल, भवनको भित्तामा रामायणमा भएका श्लोकहरू, रामायणसँग सम्बन्धी तस्विरहरू कुदिने योजना रहेको छ । राष्ट्रिय विभूतिको स्मृतिमा निर्मित रामायण भवन अलपत्र हुँदा चुँदेलीहरु दुःखित भएका छन् । भानुभक्त र रामायणसँग सम्बन्धित सामग्री सुरक्षित गरेर त्यसलाई साहित्यिक गन्तव्यस्थलका रूपमा विकास गर्नुपर्ने स्थानीय बासिन्दाको माग छ । रामायण भवन अलपत्र अवस्थामा देख्दा आँशु आएको भानु नगरपालिका–५ सेपाबगैंचा निवासी भरत पोख्रेलले बताउनुभयो । रामायण भवन कलात्मक बुँदा कुँदेर निर्माण गरिएको छ ।

पृथ्वीनारायण शाहले भौगोलिक रूपमा एकीकरण गरेको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिलाई विस्तार गरी नेपालीलाई एकतामा बाध्नु भएको थियो । वि.सं. १८७१ असार २९ गते तनहुँको चुँदी रम्घामा पिता धनञ्जय र माता धर्मावतीदेवीका पुत्रका रुपमा भानुभक्त जन्मिनु भएको थियो । उहाँले ‘अध्यात्मरामायण’को भावानुवाद गरी नेपाली समाजमा मौलिक नेपाली भाषा, साहित्य, धर्म, दर्शन र राष्ट्रियताको वीजारोपण गर्नु भएको थियो । भानुभक्तले लेखेको रामायण अहिले पनि नेपालीहरूको घरघरमा स्वर, लयका साथ पाठ गर्ने गरिन्छ । भानुभक्तका ‘प्रश्नोत्तर’ (१९१०), ‘भक्तमाला’ (१९१०) ‘वधूशिक्षा’ (१९१९), ‘रामगीता’ (१९२५) तथा दर्जनौं साहित्यिक कृति प्रकाशित छन् । जातीय एकता, राष्ट्रिय पहिचान र नेपाली सांस्कृतिक चेतना जगाउन र राष्ट्रिय संस्कृतिलाई बलियो बनाउनमा भानुभक्तको ऐतिहासिक योगदान रहेको छ । भानुभक्तको विसं १९२५ असोज ६ गते चुँदीरम्घमा नै निधन भएको थियो ।

Show More

Related Articles

Back to top button