शिक्षक कल्याणकारी कोषबाट ४ लाख वितरण

शिक्षक कल्याणकारी कोष तनहुँले सदस्य शिक्षकलाई स्वास्थ्य उपचार तथा मृतक परिवारलाई राहत वितरण गरेको छ । नेपाल शिक्षक संघ तनहुँका अध्यक्ष कमलभक्त पोख्रेलले चुनावताका यही नारा लिएर प्रतिष्पर्धामा उत्रिएका थिए । उनकै सक्रियतामा जिल्लाभरका शिक्षकहरु अहिले कोषमा आबद्ध छन् । दैनिक एक रुपैयाँ उठाएर स्थापित कोषको अक्षयकोषबाट आउने ब्याज रकमबाट राहत रकम वितरण गरिएको हो ।

मंगलबार दमौलीमा आयोजित कार्यक्रममा कोषले गम्भीर प्रकृतिका स्वास्थ्य समस्या देखिएका तथा मृत्यु भएका शिक्षकका परिवारलाई गरी तीन लाख ९२ हजार रुपैयाँ सहयोग गरेको छ । विभिन्न रोग लागेका तथा रोगको कारणबाट मृत्यु भएको शिक्षकहरुको परिवारलाई आर्थिक सहयोग गरेका हुन् । जसअन्र्तगत शुक्लागण्डकीको पन्चमुनिदेवका शिक्षक रामकुमारी श्रेष्ठको उपचारको लागि ५२ हजार रुपैया सहयोग प्रदान गरिएको छ । त्यस्तै मुत्यु भएको शुक्र आधारभूत विद्यालयाका शिक्षक वासुदेव मिश्रको परिवारलाई ५२ हजार सहयोग गरिएको छ ।

विभिन्न रोगबाट ग्रस्ति भएर अकालमा ज्यान गुमाएका जनजुक्त माविका विनोद वाग्ले, चण्डीको आधारभूत विद्यालयका मानसिं थापा, अरुण माविका सन्तबहादुर गुरुङको परिवारलाई ५२ हजारका दरले सहयोग प्रदान गरेको अध्यक्ष पोखरेलले जानकारी दिए । उपचारको लागि जनगणपतीका अमृतबहादुर थापालाई ५२ हजार, मिन माविका सोमनारायण श्रेष्ठलाई क्रिया खर्च वापत १३ हजार सहयोग गरिएको छ । कोषमा आधारित तनहुँका शिक्षकहरुले दैनिक रुपमा एक रुपैयाँको दरले उठाएको रकम संकलन गरी सहयोग गरिएको पोखरेलले बताए ।

नेपालमा पहिलो पटक गैरसरकारीस्तरमा शिक्षकले दुर्घटना, बिरामी तथा मृत्युजस्ता कठिन समयमा राहत दिने गरी खडा गरेको कोष सञ्चालन गरिएको हो । शिक्षक महासंघमा आबद्ध विभिन्न पेसागत शिक्षकका प्रतिनिधि तथा जिल्ला शिक्षा अधिकारी सदस्य रहने गरी स्थापना गरिएको कोषले शिक्षकबाट वार्षिक संकलित प्रतिव्यक्ति ३ सय ६५ रुपैयाँको व्यवस्थापन तथा आवश्यकताअनुसार राहत वितरणको व्यवस्थापन गरिएको छ । कोषका परिकल्पनाकार एवं शिक्षक संघ तनहुँका अध्यक्ष पोखेलले शिक्षक संघ अध्यक्षको निर्वाचनताका यो चुनावी नारा ल्याएका थिए।

चुनाव जितेपछि राष्ट्रिय रूपमा लागू गर्न उनले शिक्षा मन्त्रालयमा आग्रह गरे। तर, यो योजनाले मूर्तता पाउन सकेन। आफ्नो जिल्लामा लागू गर्ने उनको योजनामा शिक्षकका अन्य पेसागत संगठन सकारात्मक भएपछि तीन वर्ष अघि देखि कोष सुरु भएको हो। हाल कोषमा जिल्लाभरका एक हजार एक सय १ सामुदायिक शिक्षक आबद्ध छन्। उनीहरूले दैनिक १ रुपैयाँका दरले वर्षभरको रकम एकमुष्ट बुझाउँछन्। सोही रकम र ब्याजबाट कोषको विधानअनुसार अप्ठेरोमा परेका शिक्षकलाई राहत दिने गरिएको छ। ‘शिक्षकको सामाजिक सुरक्षा निकै कमजोर छ’, उनले भने, ‘राज्यले गर्नुपर्ने काम नगरेपछि हामी आफैं सक्रिय भएका हौं।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button