तनहुँ १ मा चुनावी सरगर्मी बढ्यो

दमौली खबर संवाददाता

दमौली, चैत्र २

तनहुँको क्षेत्र नं. १ मा उप निर्वाचन हुने भएपछि चुनावी सरगर्मी बढेको छ ।

प्रतिनिधि सभा सदस्यमा विजयी भएका रामचन्द्र पौडेल राष्ट्रपतिमा निर्वाचित भएपछि उक्त क्षेत्रमा उपनिर्वाचन हुने भएकोले चुनावी सरगर्मी बढेको हो । क्षेत्र नं. १ मा उपनिर्वाचन हुने पक्का भएपछि ठूला पार्टीका नेताहरु टिकटको लागि दौडधुपमा सुरु गरेका छन् । कांग्रेस, एमाले लगायतका दलका नेताहरु टिकट आफ्नो पक्षमा पार्न लबिङ गर्न थालिसकेका छन् । नेपाली कांग्रेसबाट केन्द्रीय सदस्यद्धय गोविन्द भट्टराई ध्रुव वाग्ले, संविधान सभा सदस्य रामचन्द्र पोख्रेल, कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेल, कांग्रेस नेता लक्ष्मी आचार्य, कांग्रेसका युवा नेता दिपक भट्टराई, कांग्रेसकी नेतृ चिनु पोख्रेल, क्षेत्रीय सभापति श्यामकुमार मौरती लगायतका नेताहरु टिकटको लागि दौडधुप गर्नु भएको छ ।

त्यस्तै नेकपा एमालेबाट पूर्व आइजीपी सर्वेन्द्र खनाल, एकबहादुर राना, लगायतका नेताहरुले टिकट पाउन सक्ने सम्भावना बढेको उक्त पार्टी स्रोतले जनाएको छ । नेपाली कांग्रेस पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समुहबाट एमालेको सहयोगमा उम्मेदवार बन्न सक्ने सम्भावन पनि रहेको छ ।

८ दलीय गठबन्धन रहेको र त्यसमाथि पनि तनहुँ १ मा एमाले कमजोर भएकोले एमालेले स्वतन्त्र जोशी समुहलाई सहयोग गर्न सक्ने अनुमान गरिएको छ । उपनिर्वाचनका लागि टिकट आफ्नो पक्षमा पार्न आकांक्षीहरु राजधानी केन्द्रित हुन थालेका छन । पार्टी सभापति र पार्टीका अन्य पदाधिकारीसँग भेटघाट गर्ने, माहोल आफ्नो पक्षमा बनाउन लबिङ गर्ने कार्यमा ति नेताहरु व्यस्त रहेको बताइएको छ ।

निर्वाचन आयोगले वैशाख १० गते तनहुँमा उपनिर्वाचन गर्ने सम्भावना छ । चितवन क्षेत्र नं. २ मा वैशाख १० गते उपनिर्वाचन तोकिएकाले सोही मितिमा हुने सम्भावना भएको हो । आयोगलाई एकैचोटी उपनिर्वाचन गर्न सजिलो हुने भएकोले सोही मितिमा हुने सम्भावना बढी छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button