१०८ फिट व्यासमूर्ति निर्माणका लागि पर्यटन मन्त्रालयको साझेदारी

व्यासभूमि दमौलीमा १०८ फिट अग्लो व्यासको मूर्तिसहितको पूर्वाधार निर्माणका लागि संस्कृति, पर्यटन तथा नागरिक उययन मन्त्रालयले साझेदारी गर्ने भएको छ । पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले १०८ फिट मूर्ति निर्माणका लागि साझेदारी गर्न लागेको हो । पर्यटन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपजको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले साझेदारी (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका अनुसार १०८ फिट व्यासमूर्ति निर्माण योजनाका लागि रु चार करोड ५५ लाख बजेट विनियोजन गरेको छ ।

पर्यटकीय गन्तव्य पूर्वाधार विकास कार्यक्रम अन्तर्गत लागत साझेदारीमा सम्बन्धित स्थानीय तहले रु दुई करोड ४५ लाख व्यहोर्नुपर्ने मन्त्रालयले जनाएको छ । व्यासको जन्मभूमि दमौलीलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यका साथ निर्माण गर्न लागिएको मूर्तिका लागि व्यास नगरपालिकाले पनि रु एक करोड ५० लाख बजेट यस अगावै विनियोजन गरिसकेको छ ।
व्यास क्षेत्र शिव पञ्चायन विकास कोषका अध्यक्ष अशोक कुमार श्रेष्ठले मूर्ति निर्माणको चर्चा धेरै वर्ष पहिलादेखि चले पनि अब कामलाई अगाडि बढाउनुपर्ने बेला आएको बताए ।

कोषले केही समय अगाडि महायज्ञ लगाएर रु तीन करोड ४८ लाख रकम बचत गर्न सफल भएको थियो । मूर्ति निर्माणका लागि व्यास नगरपालिकाले केही दिनभित्रै बोलपत्र आह्वान गर्ने तयारी गरेको कोषका अध्यक्ष श्रेष्ठले जानकारी दिए । दुई÷चार दिनभित्रै बोलपत्र हुने छ, मूर्ति निर्माणको काम अब अगाडि बढ्छू, उनले भने । उनका अनुसार बोलपत्र भएपश्चात पर्यटन मन्त्रालयले विनियोजन गरेको रकमबाट मूर्ति निर्माणको काम अगाडि बढ्छ । गण्डकी प्रदेशको पर्यटन मन्त्रालय मार्फत पनि कोषलाई चालु आर्थिक वर्षमा रु ३० लाख बजेट प्राप्त भएको छ ।

उक्त रकमबाट पूर्वतर्फको प्रवेशद्वार र देउराली नगरतर्फबाट आउने बाटो निर्माणको काम गरिनेछ । मन्त्रालयबाटै गत वर्ष प्राप्त रु १० लाखको लागतमा मुख्य प्रवेशद्वारको केही काम गरिएको छ । गुरु योजना अनुसार सबै संरचना निर्माणका लागि रु ६४ करोड बजेट आवश्यक पर्दछ । विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) अनुसार मूर्ति र पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै रु ३४ करोड १६ लाख ७६ हजार ९९३ लाग्ने अनुमान गरिएको छ भने अन्य संरचना निर्माणका लागि रु २८ करोड ६८ लाख २८ हजार २१७ लाग्ने अनुमान रहेको छ ।

व्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न त्यतिबेला आयोजना गरिएको महायज्ञबाट करीब रु ७० लाख सङ्कलन भएको थियो । सो रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन व्यास नगरपालिकाको हाताभित्र राखिएको छ । निर्माण शुरु भएको चार वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको र पहिलो वर्ष मात्रै रु सात करोड खर्च हुने अनुमान छ ।

व्यासको मूर्ति अड्याउनका लागि तीन तल्लाको पेडेस्टल (स्तम्भ) निर्माण गरिनेछ । पेडेस्टल (स्तम्भ) निर्माणका लागि मात्रै डेढ वर्ष लाग्ने अनुमान गरिएको छ । व्यासमूर्ति निर्माणका ३० हजार किलो तामा आवश्यक पर्ने अनुमान छ । पेडेस्टल (स्तम्भ) भित्र सङ्ग्रहालय, पुस्तकालय हल प्रस्ताव गरिएको छ । गुरु योजनाअनुसार व्यासको मूर्तिका अलवा प्रवेशद्वार, पार्किङ, टिकट काउण्टर, सुरक्षाकर्मी बस्ने घर, कोशेली घर, बिक्रीकक्ष, धर्मशाला, प्रवचन हल, योगहल, समितिको सचिवालय बैठककक्ष, सङ्ग्रहालय, वृत्तचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैँचाको साथ विश्राम घर, तलाउसहितको मत्स्यगन्धा उद्यान, चमेनागृह, पूजारी घर, २७ वटा साना व्यासका मूर्ति, व्यासका अनुयायीहरुको पाँच साना प्रतिमा र गणेश बसेर वेद लेखेको सानो मूर्ति प्रस्ताव गरिएको छ । यी सबै संरचना निर्माणका लागि ६० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्दछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button