तनहुँ जलविद्युत आयोजनाको दुई वटै डाइभर्सन टनेल ब्रेक थ्रु

दमौली खबर संवाददाता

तनहुँ, फागुन ३० गते

निर्माणधिन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत आयोजनाको दुई वटै डाइभर्सन टनेल छेडिएको (ब्रेकथ्रु) छ । टनेल १ को छेडिएको डेढ महिना पछि टनेल २ पनि छेडिएको हो । आयोजनाको ड्याम निर्माणका लागि नदीको पानी तर्काउनुपर्ने भएकाले डाईभर्सन बनाईएको र दुईवटैकै सुरुङ छेडिएको तनहुँ हाईड्रो पावर लिमिटेडका प्रबन्धक ईन्जिनियर श्यामजी भण्डारी बताउनुहुन्छ ।

नदीको पानी निकाश गर्नका लागि अस्थायी रुपमा प्रयोग गर्ने गरी ६२६.९२ मिटर लम्बाईको डाइभर्सन सुरुङ–२ छेडिएको भएको उहाँले जानकारी दिनुभयो । डेड महिना अघि ५३९ मिटर लम्बाईको डाईभर्सन टनेल १ छेडिएको उहाँले जानकारी दिनुभयो । ‘‘दुईवटै डाईभर्सन टनेल छेडिएकाले पानी धेरै हुने वर्षायाममा समेत नदी सुख्खा बनाई ड्याम्म निर्माणको काम गर्न सकिन्छ’’ प्रबन्धक भण्डारीले भन्नुभयो । नदीकै सतहमा टनेल निर्माण गरिएको ड्यामसाइट निर्माण भएपछि यो टनेल बन्द गरिने उहाँले जानकारी दिनुभयो । पानी धेरै भएको बेला डाइभर्सन टनेलको मद्धतले पानी बाहिर पठाउन सकिने उहाँले जानकारी दिनुभयो । दुवै यो टनेल ११.४ मिटर व्यास (गोलाकार)को रहेको आयोजनाले जनाएको छ । आयोजनाको हालसम्म ३५.३४ प्रतिशत काम पुरा भएको आयोजनाका प्रमुख राजाभाई शिल्पकारले जानकारी दिनुभयो । आयोजना प्रमुख शिल्पाकारका अनुसार तीन चरणमा काम भइरहेको र हालसम्म ३१ दशमलव ८२ प्रतिशत वित्तीय प्रगति भएको छ । यस अवधिमा १३ अर्ब ७५ करोड ६७ लाख ५० हजार रुपियाँ खर्च भएको छ ।

आयोजनाको पहिलो प्याकेज अन्तर्गत १४० मिटर अग्लो बाँध लगायतका संरचना सोङ्ग दा कर्पोरेसन, भियतनाम–कालिका कन्सट्रक्सन प्रा.लि. नेपाल जे.भी.ले निर्माण गरिरहेको छ । जसअन्तर्गत अहिले मुख्य बाँध निर्माणका लागि नदी फर्काउन आवश्यक डाइभर्सन टनेलहरु (सुरुङ), बाँधको माथिल्लो भाग तथा स्लोप खन्ने कार्य, प्रवेश सडकको स्तरोन्नति लगायतका काम भइरहेका छन् ।

आयोजनाको सुरुङ, विद्युत गृह निर्माण र हाइड्रोमेकालिन तथा इलेक्ट्रोमेकानिकल उपकरण आपूर्ति, जडान तथा सञ्चालन लगायतका दोस्रो प्याकेजको निर्माण सिनो हाइड्रो, चीनले गरिरहेको छ । आयोजनाको तेस्रो प्याकेज अन्तरगत दमौलीबाट चितवनको भरतपुरसम्म २२० केभीको डबल सर्किट प्रसारण लाइन निर्माण कार्य केइसी, भारतले गरिरहेको छ । आयोजनाको समग्र निर्माण २०८३ असारभित्र सक्ने लक्ष्य राखिएको छ ।

कम्पनीको पुँजी संरचना तथा वित्तीय व्यवस्थापन आयोजनाको कुल लागत (प्रसारण लाइन, ग्रामीण विद्युतीकरण तथा निर्माण अवधिको व्याज समेत) ५० करोड ५० लाख अमेरिकी डलरको लागि एडीबीले १५ करोड, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाईका)ले १८ करोड ४० लाख, युरोपियन लगानी बैंकले ८ करोड ५० लाख र नेपाल सरकार÷नेपाल विद्युत प्राधिकरणले ८ करोड ६० लाख डलर व्यहोर्ने गरी वित्तीय व्यवस्थापन गरिएको छ ।

प्रशारण लाइन निर्माण सन् २०२२ मेसम्म सम्पन्न गर्ने लक्ष्य राखिएकोमा कोभिड–१९ को महामारी र वन क्षेत्रमा रुख कटानको स्वीकृति वन मन्त्रालयबाट प्राप्त हुन ढिलाइ हुँदा सम्झौताको म्याद सन् २०२४ डिसेम्बर १९ सम्म थप गरिएको आयोजनाले जनाएको छ । आयोजनाबाट विद्युत उत्पादनको पहिलो १० वर्ष सम्म वार्षिक औषत विद्युत उत्पादन ५८ करोड ७७ लाख, त्यसपछि ४८ करोड ९९ लाख युनिट उत्पादन हुने बताईएको छ । तोकिएकै समयमा काम पुरा गर्न कामलाई तिब्रता दिईएको आयोजनाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button