गाउँका रैथाने उत्पादनको बजारीकरण गर्न दमौलीमा कोसेली घर सञ्चालन

दमौली खबर संवाददाता

तनहुँ, फागुृन ३० गते

गाउँका रैथाने बाली तथा स्थानीय सीपको बजारीकरण तनहुँको सदरमुकामा दमौलीमा गर्न कोसेली घर सञ्चालनमा आएको छ । घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँद्वारा ‘व्यास कोसेली घर’ सञ्चालन गरिएको हो ।

कोशेली घरको जिल्ला समन्वय समिति तनहुँको प्रमुख शान्तिरमण वाग्लेले सोमबार उद्घाटन गर्नुभयो । सो अवसरमा समन्वय प्रमुख वाग्लेले तनहुँको घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई उपहारको रुपमा कोसेली लैजान सहज हुने विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले गुणस्तरीय सामग्री मात्र विक्री गरेर छुट्टै पहिचान बनाउनु पर्ने बताउनुभयो । व्यास नगरपालिकाका प्रमुख वैकुष्ठ न्यौपानले कोशेली घरले स्थानीय उत्पादनहरुको बजारीकरण, महिलाहरुमा उद्यमशिलताको विकास, आर्थिक चलायमान, नगरको पहिचान लगायतमा टेवा पुग्ने नगरपालिकाको विश्वास व्यक्त गर्नुभयो । साथै उहाँले समान खरीद गर्नको लागि बिउ पूजीको लागि नगरपालिकाको तर्फबाट पाँच लाख रुपियाँ बजेट बिनियोजन गरिएको जानकारी दिनुभयो ।

कार्यक्रममा घिरिङ गाउँपालिकाका अध्यक्ष होमबहादुर थापा, कृषि ज्ञान केन्द्र तनहुँका प्रमुख कुलप्रसाद तिवारी, पर्यटन तथा उद्योग कार्यालय तनहुँका प्रमुख अविनास कुँवर, नेपाल घरेलु तथा साना उद्योग महासङ्घको वरिष्ठ उपाध्यक्ष सूर्यबहादुर कँडेल, केन्द्रीय उपाध्यक्ष शोभा गुरुङ, केन्द्रीय सदस्य रिता कुमाल लगायतले स्थानीय उत्पादनहरुको बजारीकरण सहजताका लागि स्थानीय निकायले ढुवानीको लागि अनुदानको व्यवस्था गरे उपयुक्त हुने कुरामा जोड दिनु भएको थियो ।

तनहुँका विकट क्षेत्रमा उत्पादित वस्तु बजारको पहुँचमा पुग्न नसकेकाले लघु तथा घरेलु उद्यमीलाई बजारीकरणमा टेवा दिने उद्देश्यले कोसेली घर सञ्चालनमा ल्याइएको समितिका अध्यक्ष कल्पना गौलीले जानकारी दिनुभयो । कोसेली घर सञ्चालन गरेपछि उत्पादित कृषि बाली तथा विभिन्न सामग्रीमा सिधै उपभोक्ताको पहुँच पुग्ने हुँदा खरिदकर्ता र उत्पादनकर्ता दुवैलाई फाइदा पुग्ने तथा बिचौलियाको जरुरी नपर्ने उद्घाटन कार्यक्रममा जानकारी दिईएको थियो । स्थानीयस्तरमा उत्पादन गरिएका वस्तुलाई सहज रूपमा बिक्री गर्न र पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले ‘कोसेली घर’ सञ्चालनको अवधारणा ल्याइएको समितिले जनाएको छ । महिला उद्यमीले तयार गरेका सजावट तथा व्यवस्थापनका सामग्री घुम्न आउने आन्तरिक एवं बाह्य पर्यटकले खरिद गरेर लैजान सक्नेछन् । कोसेली घरमा कोदो फापर, मास, तरुल, गिट्ठा, भ्याकुर, मस्यौरा, हात तथा तानले बुनेका झोला, टोपी, स्विटर, पछ्यौरी, डोको, नाम्लो, लगायत विभिन्न उत्पादन बिक्रीका लागि राखिएको छ । पर्यटन तथा उद्योग कार्यालय, तनहुँले उक्त कोसेली घर निर्माण गरिदिएको हो ।

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट विनियोजित पाँच लाखबाट पसल सजावटको कार्य गरिएको अध्यक्ष गौलीले जानकारी दिनुभयो । कोेसेली घरमा राखिएको साम्रगीहरु आफै उत्पादन गरेको हुँदा अन्य स्थान भन्दा मूल्यमा सस्तो र गुणस्तरीय पनि रहेको सञ्चालक समितिको सदस्य वसुन्धरा घर्तिले बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button