देखाउनलाई लगाए खोप

दमौली खबर संवाददाता
साउन २८, दमौली । चर्को घाममा स्वास्थ्य कार्यालय तनहुँको परिसरमा लामो लाइनमा मानिसहरु उभिएका छन् । कोही छाता ओढेर उभिएका थिए भने कोही हातमा पानीको बोतल समाएर । चर्को घामले घण्टौं बस्दा असिनपसिन देखिन्थे । कोभिड विरुद्धको खोप लगाउनका लागि घण्टौंदेखि उभिरहेका थिए उनीहरु । सामाजिक दूरी कायम गरेको देखिँदैन । कोरानाबाट बच्न खोपका लागि लाइन बसेका उनीहरु आफै संक्रमित हुने जोखिममा देखिन्थे । भीड व्यवस्थापनमा कसैको चासो गएको देखिँदैन । न त टोकन नै बाँडिएको थियो । खोपका लागि मानिसहरु दमौली अस्पतालको मुल गेट अगाडी बाट लाइनमा उभिरहेका थिए । कतिबेला पालो आउला भनेर पर्खाइमा बसेका देखिन्थे ।

चर्को घाममा छाता ओड्दै आफनो पालो कुरिरहेका थिए बन्दिपूरका रमेशबहादुर थापा । विगत ३ वर्षदेखि साउदी अरबमा काम गरिरहेका उनी छुट्टीमा घर आएका थिए । लकडाउन भयो । त्यसपछि उनी पुनः जान पाएका छैनन् । २ पटक त टिकट नै क्यान्सिल भइसक्यो । उनि भन्छन्, ‘खोप लगाएपछि मात्र कहिले जाने भन्ने कन्फर्म हुन्छ । नलगाएपछि जान पाइँदैन ।’ उनिसँगै खोपको पर्खाइमा छाता ओढेर बसेका थिए आँबुखैरेनीका दिनेश थापा र विकल गुरुङ । दुवै जना एउटै मेनपावरबाट कतार जान लागेका हुन् । खोप लगाउनका लागि विकल आँबुखैरेनीबाट विहान ८ बजे वस चढेर खोप केन्द्र आईपुगेका रहिछन् ।

घण्टौं लाइन बस्नुपरेकोमा उनले दुःख व्यक्त गरे । ‘टोकन दिएको भए राम्रो हुन्थ्यो ।खोप सिद्धियो भनेर पठायो भने झ्याउ हुन्छ ।’ उनले लाइनतिर नियाल्दै भनिन् । दुलेगौडांका जितबहादुर श्रेष्ठ लाइन व्यवस्थापनमा सम्बन्धित निकायले चासो नदिएको भन्दै आक्रोश पोख्दै भने, ‘यतिका बेर लाइनमा उभिएका छौं । आफैले संक्रमण होला भन्ने डर । प्रमाणिकरणका लागि पनि लाइन बस्ने होला । दुनियाँमा कस्तो–कस्तो सिस्टम आइसक्यो । हामी लाइन बसेको बसै ।’ वैदेशिक रोजगारीमा जाने तयारीमा रहेका २ सय ४० लाई स्वास्थ्य कार्यालय तनहुँले बुधबार खोप लगाएको हो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button