बालबालिकालाई कस्तो संस्कार सिकाउने ?

बालबालिकालाई कस्तो संस्कार सिकाउने ?

नवराज न्यौपाने ‘मौन’

 

विद्यार्थी जीवनमा कलेज् पढ्दा शनिबार घुम्दै जाँदा एउटा टोलमा पुग्दा स्थानीय टोलका १०-१२ वर्ष उमेरका बालकहरुले चना चट्पट बनाउदै गरेको मधेशी मूलको व्यक्तिलाई हेपेर होच्याएर बोलिरहेको देखें । कुनैकुनै बालकले त अश्लील पनि बोलिरहेका थिए । उसले चना चट्पट बनाउदै गर्दा उनीहरुले ठेलाबाट हातले झिक्दै चना, केराउ ,भट्ट ,भुजा मुक्क्याइरहेका थिए । कि किनेर खाऊ ,कि घर जाऊ भनेर उसले सम्झाउदा पनि उल्टै असभ्य पाराले अश्लील बोलिरहेका थिए । मसंगै बाटो हिड्दै गरेकी एउटा विदेशी महिलाले यो सबै हेरिरहेकी र सुनिरहेकी रहिछन् । एकछिनपछि ती विदेशी महिलाले नजिक आएर सोधिन् – ‘के तिमीहरुको आमाले यस्तै बोल्न र यस्तै गर्न सिकाएकी छिन् ?’ तीमध्ये एउटाले जबाफ दियो – ‘आमाले नसिकाए पनि हामी आँफैंले जानेको ।’ उनले भनिन् -‘सानो हुँदा सिकाएको कामकुरा मात्र गर्ने हो । आँफैंले जानेको कुरा त ठुलो भएपछि मात्र काम लाग्छ ।’ यति भनेर उनी बाटो लागिन् तर ती बालकहरु भने उनलाई खिसिट्युरी गर्दै ‘कुइरी” कुइरी’ भन्दै थिए । ‘ती महिलाले भनेको कुरा ठीक हो कि होइन भनेर घरमा गएर आमासित सोध्नू ‘ -यति भनेर म पनि आफ्नो बाटो लागें ।

त्यस्तै, जागिरे जीवनमा घटेको अर्को घटना पनि प्रस्तुत गर्न चाहन्छु । कुनै हिमाली जिल्लामा म लघुजलविद्युत योजना सञ्चालनको क्रममा कुनै एक तामाङ गाउँमा बसेको थिएँ । कलधारको पानी असाध्यै चिसो भएकोले म गाउँबाट नजिकैको मुलको ढुङ्गेधारामा नुहाइधुवाइ गर्न गएको थिएँ । धारा नजिकै केही बालकहरु खेलिरहेका थिए । यसै क्रममा मैले पैसा झिकेर झोलाबित्र राखें ,जुन ती बालकहरुले नियालिरहेका रहेछ्न् । नुहाइधुवाइ सकेपछि नजिकैको चौरमा लुगा सुकाउन जानुपर्ने भयो । ती केटाहरु त्यो पैसा देखेर कुरेर बसेका रहेछन् । शंका लागेर मैले झोलालाई केही पर रहेको ठुलो ढुङ्गामाती राखेर कपडा सुकाउन लागें । फर्केर हेर्दा एउटा केटो दौडदै उकालो लागेको देखियो । गएर झोलामा हेर्दा पैसा थिएन । त्यसपछी म पछ्याउदै गएँ तर ती सबै बालकहरु गाउभित्र अलप भईसकेका थिए । मेरो कुरा कसैले सुनेन र म आफू बस्ने थाउँमा गएर घरबेटीलाई सबै कुराको बेलिविस्तार लगाएँ । उनी जलविद्युत योजनाका कोषाध्यक्ष थिए । उनले सबैतिर बुझेछन् । गाउँको पसलमा ती बालकह्ररुले हजारको नोठ लिएर चाउचाउ बिस्कुट किनेका रहेछन् । अनि बाँकी पैसा लुकाएर राखेका रहेछन् । उनिहरुले खर्छ गरेको ७५ रुपैया बाहेक मैले सबै पैसा फिर्ता पाउन सकें । र, म त्यो गाउँमा बसुञ्जुलसम्म ती केटाहरु मेरो नजिक पर्न आएनन् ।

माथिका यी घटनाहरुबाट के बुज्न सकिन्छ भने बालबालिकाहरु गिलो माटो जस्ताइ हुन ,जसको कुनै ठोस् आकार हुँदैन । के बोल्ने के नबोल्ने र के गर्ने के नगर्ने भन्ने कुराको सही आँकलन गर्न सक्दैनन् । आफ्ना अविभावकहरुले उनीहरुको बोली व्यवहार के कस्तो छ भन्ने कुरामा ध्यान दिनु जरुरी हुन आउछ । कुनै बालबालिकाले नराम्रो बोले वा खराब कार्य गरे भनेर अन्य व्यक्तिले गाली गरे वा कुट्पिट गरे बाबा आमाको मन दुख्छ र उल्टै प्रतिवाद गर्न तम्सिन्छन् । त्यसैले आफ्ना बालबालिकाहरुले राम्रो बोली व्यावहाँर गर्दा स्याबासी दिएर प्रोत्साहन गर्ने र खराब बोली व्यवहाँर गरे सम्झाइबुझाई गर्ने र सजाय दिने गर्नु पर्दछ । आफ्नो घर नै बालबालिकाको पहिलो पाठशाला हो र बाबाआमा नै उनीहरुका लागि पहिलो शिक्षक हुन् ।

अङ्ग्रेजीमा एउटा उखान छ – आफ्ना बच्चाहरुलाई नपिट्ने व्यक्तिहरुले पछि गएर आफ्नै छाती पिट्नु पर्ने छ । अर्थात धेरै माया गर्नाले पनि बच्चाहरु विग्रन सक्छन् । उनीहरुलाई समय दिएर असल बानी र राम्रो ज्ञानगुनका कुरा सिकाउनु हरेक अविभावकको कर्तव्य हुन आउँछ । भनिन्छ – ५ वर्षको उमेरसम्म आमा भगवान हुन, ८ वर्षको उमेरसम्म बाबु र १६ वर्षको उमेरसम्म गुरु भगवान हुन् । त्यसपछिका भगवान सबैका भगवान हुन् । अहिले आएर हाम्रो वर्तमान जीवनशैली परम्परागत जीवनशैलिभन्दा भिन्न हुन थालेको छ । कतिपय बाबाआमालाई आफ्ना बालबच्चालाई समय दिन पनि फुर्सद हुँदैन । उनीहरुको शारीरिक , मानसिक र सामाजिक स्वास्थ्य र सिकाइको प्रकृयाबारे अविभावक जानकार हुनु जरुरी हुन आउँछ । शिक्षकले विद्यार्थीलाई कुटे वा सजाय दिए मानव अधिकारको कुरा उठाउने वर्तमान समयमा बाबाआमाले नै पुरस्कार र सजायको व्यवस्था गरेर सही मार्गमा हिडाउने प्रयत्न गर्नुपर्ने हुन आउछ । अमेरिकामा आफ्ना छोराछोरिलाई कुटपिट गर्न पाइन्न ।उचित रेखदेख र अर्ती उपदेश दिएर नै असल बोटोमा हिडाउनु पर्छ भन्ने मान्यता रहेको छ । हाम्रो नेपालमा वर्तमान खानपान ,आहार्विहार र खेल खेल्ने डिजिटल प्रविधिले गर्दा बालबालिकाको स्वास्थ्य र बिकासमा समस्या देखिन थालेको छ । किशोर किशोरीहरु पनि गम्भीर अपराधमा सरिक् हुन थालेको तथ्याङ्कले बताउछ । उनीहरुलाई नैतिक शिक्षा घरबाट नै दिलाई पाप र अपराध भनेको के हो भन्ने छुट्याउन सक्ने गरी विवेकशील बनाउने जिम्मा पनि अविभावकको हातमा रहेको हुन्छ ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button