बदर घटाउन तनहुँमा धमाधम नमुना मतदान

दमौली  खबर संवाददाता
दमौली, कत्तिक २३ ,
तनहुँमा बदर मत कम गर्ने उद्देश्यले जिल्ला निर्वाचन कार्यालय तनहुँको पालिकासँग समन्वय गरी धमाधम नमुना मतदान कार्यक्रम गरेको छ ।  जिल्ला निर्वाचन  कार्यालय तनहुँको सहयोग एवं व्यास नगरपालिकाको आयोजनामा बुधवार व्यास ३ अनसन चौतारी खुला मैदानमा नमुना मतदान गरिएको हो । मंसिर ४ मा हुने संघ तथा प्रदेश सभा निर्वाचनमा बदर मत कम गर्ने उद्देश्यले बुधवार नमुना मतदान गरिएको हो । नमुना मतदानमा ८६ मत खसेको थियो । उक्त मतमध्ये सात मत बदर भएको र दुई मतपत्र गायब भएको व्यास नगरपालिका मतदाता शिक्षा समन्वय समिति उपसचिव नविन पराजुलीले जानकारी दिनु भयो  ।
नमुना मतदानमा महिला, पुरुष, अशक्त र बृद्धवृद्धाको लाइन मिलाउने, मतदान अधिकृतको हस्ताक्षर रुजु गर्ने, गोप्य स्थानमा पुगी उम्मेदवारको चुनाव चिह्नमा मत दिन सिकाइएको थियो । मत बदर नहुने गरी मतपत्र पट्याउन पनि सिकाइएको थियो । नमुना मतदानमा मतदानका सबै विधि र प्रक्रियाहरू अवलम्बन गर्ने गरिन्छ । तनहुँको दशवटै  पालिकामा नमुना मतदान हुँदैछ । स्थानीय चुनाव र अहिलेको मतपत्र फरक भएको र बदर मत कम गर्ने उदेश्यले नमुना मतदान कार्यक्रम गरिएको मुख्य निर्वाचन अधिकृत दलबहादुर केसीले बताउनुभयो  ।   जिल्लाका विभिन्न पालिकामा मतदान शिक्षा अन्र्तगत नमुना मतदान सम्पन्न भएको र केही पालिकामा हुन बाँकी रहेकोे जिल्ला निर्वाचन कार्यालय तनहुँका प्रमुख हरिप्रसाद ढकालले जानकारी दिनुभयो  । उक्त मतदानमा सहभागी व्यास ४ का स्थानिय देवनिधि पन्तले मतदाता शिक्षालाई गाउँगाउँमा  टोलटोलमा पु¥याउन आवश्यक रहेको बताउनुभयो । नेपाल रेडक्रस सोसाईटीका केन्द्रीय सदस्य प्रदीप घिमिरेले बजार क्षेत्रमा भन्दा गाउँका दुरदराजमा गएर नमुना मतदान गर्दा प्रभावकारी हुने बताउनुभयो । ‘बजार क्षेत्रमा अधिकांश शिक्षित समुदायका मानिसहरु बसोबास गर्ने भएकोले ग्रामिण क्षेत्रमा बढी उपयोगी हुन्छ’ घिमिरेले भन्नुभयो । निर्वाचन आयोगबाट स्वीकृत मतदाता शिक्षा कार्यक्रम निर्देशिका २०७९ को दफा १५ बमोजिम नमुना मतदान कार्यक्रम गरिएको हो । उक्त नमुना मतदान कार्यक्रम तनहुँ जिल्लाभित्रका १० वटै स्थानीय तहमा नमुना मतदान कार्यक्रम सञ्चालन गरिने निर्वाचन कार्यालयले जनाएको छ । बिहीबार कात्तिक २४ गते भिमाद नगरपालिका, ऋषिङ गाउँपालिका र घिरिङ गाउँपालिका गरी तीन पालिकामा नमुना मतदान हुँदैछ । यस अघि म्याग्दे, आँबुखैरेनी र बन्दीपुर  र व्यास  पालिकामा नमुना मतदान गरिसकिएको छ ।
 विगतमा भएका कमीकमजोरीलाई नदोहो¥याउन र मतदाता शिक्षालाई प्रभावकारी बनाउन नमुना मतदान सहयोगी बन्ने विश्वास लिइएको जिल्ला  निर्वाचन अधिकारी हरिप्रसाद ढकालले बताउनुभयो  । निर्वाचन कार्यालयले ८५ वटै वडामा एसइइ उर्तिर्ण स्वास्थ्य स्वयंसेविकालाई मतदाता शिक्षाका लागि खटाइसकेको निर्वाचन अधिकारी ढकाल बताउनुहुन्छ ।  २०७४ को निर्वाचनमा तनहुँ–१ मा ५ दशमलव १२ प्रतिशत र २ मा ४ दशमलव ६६ प्रतिशत बदर भएकोले त्यसलाई मध्यनजर गर्दै वदर कम गर्न मतदाता शिक्षा वडा वडामा र पालिका स्तरमा नमुना मतदान कार्यक्रम राखिएको जिल्ला निर्वाचन अधिकारी ढकालले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button