तनहुँका घरबासः कोरोना गएन पाहुना कसरी बोलाउनु !

विनोद ढुङगना

उत्तरतर्फ हिमालका लर्कन खुल्न थालेका छन् । बेंसी फाँटमा पहेंलपुर धानको दृश्य साँच्चिकै लोभलाग्दो छ । पहाडका थुम्काहरु हरियाली छन् । सूर्योदय र सूर्यास्तको दृश्य नियाल्न ग्रामीण भेगका होमस्टेमा पाहुना उक्लने याम सुरु भइसकेको छ । तनहुँको भानु नगरपालिका–१३ मिर्लुङस्थित टुटेपानी सामुदायिक होमस्टे (घरबास) मा पाल्ने पाहुनाको स्वागत सत्कार गर्न गाउँलेलाई भ्याईनभ्याई हुनुपर्ने हो । तर, कोरोना महामारीका कारण तनहुँका होमस्टे बन्द हुँदा सञ्चालकहरु खेती किसानीमा व्यस्त हुनु परेको छ । तनहुँमा लकडाउन हुनुअघि चैत पहिलो सातादेखि नै होमस्टेको सेवा बन्द भएको हो । अहिले नै होमस्टे खोल्न हतार नरहेको टुटेपानी सामुदायिक होमस्टे व्यवस्थापन समितिका अध्यक्ष होमबहादुर गुरुङ बताउँछन् । ‘तिहारअघि होमस्टे खोल्ने छाँटकाँट छैन । त्यसपछि पनि कोरोना संक्रमणको आकलन गरेर खुलाउने योजना छ’, गुरुङ भन्छन् । कोरोना संक्रमण फैलावट दैनिक रुपमा बढिरहेकाले जोखिम मोल्न नसकिने स्थिति रहेको उनको बुझाइ छ । ‘होमस्टे खुलेपछि टाढाबाट पाहुना आउलान् ।

चिनेकालाई मात्र राख्ने कुरा भएन । तिहारअघिसम्म होमस्टेमा पाहुनालाई बोलाउन सोच छैन,’ उनले भने । गुरुङका अनुसार टुटेपानी आउन पाहुनाले तारान्तार फोन गरिरहेका छन् । समुदायमा कोरोना संक्रमण बढिरहेका बेला हतारो गर्दा गाउँ असुरक्षित हुने देखिएकाले होमस्टे नखुलाइएको उनको भनाइ छ । ‘रोगबाट बच्यौं भने अर्को वर्ष छँदै छ । अहिलेको महामारीमा बाहिरका पाहुना बोलाउँदा संक्रमण फैलिएर गाउँ नै सखाप हुने स्थिति आउन सक्छ । मान्छे नै नरहे किन होमस्टे चलाउनू ?’ गुरुङ भन्छन् । दुई वर्षयता टुटेपानी होमस्टे पुग्ने पाहुना बढ्दै थिए । होमस्टे आउने पाहुनालाई नासिँदै गएको संस्कार, संस्कृति प्रदर्शन गरिने हुँदा आन्तरिक पर्यटक आकर्षित भएका हुन् । टुटेपानीमा जस्तै व्यास नगरपालिका–१३ मा दलित समुदायले सञ्चालन गरेको आपस्वाँरा होमस्टेमा विदेशी पाहुनाको आकर्षण अझ बढी थियो । तर, अहिले सुनसान छ । पाहुना नआएको मौकामा होमस्टे सञ्चालकहरु पूर्वाधार निर्माणमा जुटेका छन् ।

पाहुना घरमा सौचालय ठडिन थालेका छन् । होमस्टे चलाइने १८ घरकै आँगन ढुंगा बिच्छ्याएर चिटिक्क बनाइँदै छ । ‘गाउँ नै असुरक्षित हुने भएकाले पाहुना नराख्ने निर्णय गरेका हौं’, होमस्टेका अध्यक्ष रेशमबहादुर विक भन्छन्, ‘गाउँको मान्छे आउँदा पनि क्वारेन्टाइनमा राखिएको छ । बाहिरका मान्छे आउँदा डराउनुपर्ने अवस्था छ । तत्कालै पाहुना ल्याउँदैनौं ।’ होमस्टे चलाएर आत्मनिर्भर भइरहेका स्थानीय आम्दानीको स्रोत ठप्प भएपछि ज्याला मजदुरी गर्न थालेको विक सुनाउँछन् । ‘पाहुना आएर बस्ने मात्र नभई फर्कंदा स्थानीय उत्पादन किनेर लैजान्थे । अहिले होमस्टे बन्द हुँदा उत्पादनले बजार पाएन । कतैबाट कमाइको पैसो नआएपछि ज्याला मजदुरी गर्नुपर्ने बाध्यता छ’, उनले भने । तनहुँका ग्रामीण भेगका करिब ५० गाउँमा होमस्टे सञ्चालनमा छन् । केही होमस्टे दर्ताबिनै चलिरहेका छन् ।

बन्दीपुरमा पाहुनालाई निम्तो

असोज सुरुदेखि नै पर्यटन सिजन हो । आन्तरिक पाहुना भित्र्याउने उद्देश्यले पहाडी रानी उपमाले प्रसिद्ध बन्दीपुरका होटल रेस्टुराँ खुलेका छन् । आन्तरिक पाहुनालाई डाक्न विशेष प्याकेज ल्याउने योजना बुनिरहेको यहाँका पर्यटन व्यवसायी बताउँछन् । तर, बन्दीपुर वरपरका गाउँमा होमस्टे खुल्ने सुरसार छैन । कोरोना संक्रमण घटेर सामान्य नहुदाँसम्म पाहुनालाई घरमा राख्न नसकिने बन्दीपुर होमस्टे महासंघकी अध्यक्ष दिलमाया राना बताउँछिन् । ‘परिवारमा बालबच्चा छन् । पाहुना आएपछि चुलोमा राखेर खुवाउनुपर्छ । सौचालय÷बाथरुम एउटै प्रयोग हुन्छ’, उनले थपिन्, ‘कोरोनाको बिगबिगी छ । त्रसित भएर अहिले खोल्दैनौं । केही समय अझै कुर्छौं ।’ होमस्टे बन्द भएर आम्दानी शून्य हँुदा लघुवित्त तथा वित्तीय संस्थाबाट लिएको ऋण तिर्न ताकेता भइरहेको उनले गुनासो गरिन् । यस्तो अवस्थामा बारम्बार ऋण तिर्न ताकेता गरी मानसिक तनाव नदिन लघुवित्त र वित्तीय संस्थासँग समन्वय गर्न गाउँपालिका तयार रहेको बन्दीपुर गाउँपालिका उपाध्यक्ष करुणा गुरुङले बताइन् । ‘तनाव हुने गरी ताकेता गरेको आधिकारिक पत्र गाउँपालिकालाई दिनुप¥यो । समन्वयकारी भूमिका खेल्न तयार छौं । ऋण लिएपछि तिर्नैपर्छ तर यो बेला तनाव दिन भएन’, उनले भनिन् । बन्दीपुर कोरानामुक्त रहेको सन्देश फैलाउन जनप्रतिनिधि र कर्मचारी गाउँपालिकामा सञ्चालित होमस्टेमा एक रात बास बस्ने कार्यक्रम ल्याइएको उनले जानकारी दिइन् । – पालिका खबर

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button