ऋषिङ गाउँपालिकाद्धारा गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउँदा भत्ता

दमौली खबर संवाददाता

दमौली, पुस २४ । तनहुँको एक गाउँपालिकाले गर्भवतीलाई प्रत्येक पटक स्वास्थ्य परीक्षण गराउँदा भत्ता दिने व्यवस्था गरेको छ । यस्तो सुुविधा दिनेमा ऋषिङ गाउँपालिका रहेको छ । गाउँपालिकाको १३औँ गाउँसभाले गर्भवतीलाई स्वास्थ्य जाँच गराउँदा प्रत्येक पटक रु पाँच सय दिने निर्णय गरे अनुरुप सो व्यवस्था गरेको हो । शिसु र आमा दुवैको स्वास्थ्य सुरक्षा प्रदान गर्न भक्ता दिने व्यवस्था गरिएको गाउँपालिकाले जनाएको छ । गर्भवतीलाई स्वास्थ्य परीक्षण गराउन जाँदा लामो दूरीको अस्पताल पुग्नुपर्ने र आमा तथा बच्चाको स्वास्थ्य परीक्षण गर्न प्रोत्साहन गर्ने उद्देश्यले यस्तो व्यवस्था गरिएको गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले बताउनुभयो । गर्भवती अस्पतालसम्म पुग्न मान्दैनन्, आमा र बच्चा स्वस्थ जन्मिनुपर्छ, त्यसैले प्रोत्साहन गर्न भत्ताको व्यवस्था गरेका हौं’ अध्यक्ष श्रेष्ठले भन्नुभयो ।

गर्भवतीले स्वास्थ्य परीक्षण गराएबापत उक्त रकम तत्काल उपलब्ध गराइने अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो । गर्भवतीले आवश्यक मात्रामा गर्भ परीक्षण नगराउँदा सुत्केरी हुने समयमा समस्या हुनसक्ने भएकाले जटिल समस्याबाट जोगाउन यस्तो निर्णय गरेर सहज बनाउने प्रयासमा रहेको उहाँले बताउनुभयो । निर्णय सर्वसम्मत पारित भइसकेकाले अब तत्काल कार्यान्वयनमा लगिने उहाँले बताउनुभयो ।

यसका साथै गर्भवतीलाई सुत्केरी हुने समयमा अस्पतालसम्म पुर्याउन र घरसम्म ल्याउन आवश्यक परेमा गाउँपालिकाले निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय पारित भएको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button