बुन्नै छाडियो परालको गुन्द्री
मंसिरको पारिलो घाम । घर छेउमै परालको गुन्द्री बुन्ने तान । तानमाथि बसेर व्यास नगरपालिका–५ बरबोटेकी आशा थापा डागोमा बेरिएको हतासो तान्दै पराललाई कुदेर गुन्द्री बनाउन भ्याईनभ्याई थियो । रिमालले गुन्द्री बुन्न लागेको यो दृश्य नयाँ पुस्ताको सायद नौलो लाग्न सक्दछ । किनकी पछिल्लो समय गुन्द्री बुन्न बसेको यस्तो दृश्य विरलै देखिन्छ । दशक अगाडीसम्म गाउँघरमा परालको गुन्द्रीको अधिक प्रयोग हुन्थ्यो । हर घरको आँगनमा मंसिरमा धान थन्काएपछि गुन्द्रीको तान हालिन्थ्यो । खेत नहुनेले पनि जसै परालको जोहो गरेर गुन्द्री बुन्ने सुर कस्थे । तर, आजभोली परालबाट बनेको गुन्द्रीको प्रयोगमा कमी आएको छ ।
गाउँघरमा परालको गुन्द्रीको सट्टा बजारमा पाईने आधुनिक उत्पादन प्रयोग बढेपछि विस्तारै लोप हुने अवस्थामा छ । गुन्द्री बुन्ने सिप पनि हराउदै गएको छ । गुन्द्रीको प्रयोग गर्दै जिन्दगी बिताएका पुराना पुस्ता लोप हुन थालेपछि चिन्ता बढेको छ । तैपनि फ्याट्टफुट्ट गुन्दं्री बुन्न बसेको दृश्य गाउँघरतिर देखिन्छन् । उनको दैनिकी केही दिनदेखी तानमा हतासो ठोक्दैमा बितेको छ । घरमा आवश्यक पर्ने गुन्द्री आफैले बुन्ने उनी बताउँछिन् । ‘सकभर बजारको किन्दैनौँ’, उनले भनिन्, ‘तर गाउँमा त पहिलाको तुलनमा धेरैले बजारको प्लाष्टिक र म्याट ल्याएर बिछ्याउछन् ।’ गुन्द्री बुन्न धेरै समय लाग्ने भएकाले धेरैले गुन्द्री बुन्ने जाँगर नचलाउने उनको भनाई छ । परालबाट गुन्द्री बुन्ने परम्परा हराएकोमा उनलाई चिन्ता छ । उनले अगाडी थपिन्, ‘पहिला गुन्द्री किन्नलाई घरमै आउथे । अहिले त बजारमा लगेर बेच्दा पनि बिक्न मुस्किल हुन्छ ।’ आफ्नो घरमा आवश्यक मात्र गुन्द्री बनाउने उनले सुनाईन् ।
पछिल्लो समयमा बजारमा पाईने नाईलन र प्लाष्टिकको गुन्द्रीहरुको प्रयोग व्यापक बढ्दै गएको छ । व्यास ६ की डुम्रेस्वाराकी धुव्र रिमाल पनि यत्तिबेला गुन्द्री बुन्न व्यस्त छिन् । पारिलो घाम ताप्दै उनी गुन्द्री बुन्न थाल्छिन् । ‘घाम उदाएदेखि नै तानमा बसेर गुन्द्री सक्ने ध्याउन्न्मा हुन्छु,’ उनले भनिन्, ‘अरु काममा नभुलीकन लाग्ने हो भने दिनमा एउटा गुन्द्री सजिलै सकिन्छ । घरमा पुजाआजा, मर्दापर्दा पाहुनाआउँछन् । बिछ्याउनलाई प्लाष्टिकको गुन्द्री दिए धेरै चिसो हुन्छ । परालको गुन्द्री तातो पनि हुने भएकोले जसै बुन्ने गरेको उनले सुनाईन् । पहिला बाबियोको डोरीको तान लगाएर गुन्द्री बुनिन्थ्यो । तर, अहिले सुतारीको डोरीमा बुनिन्छ । सुतारीको डोरीमा बुनेको गुन्द्रीभन्दा बाबियोले बुनेको गुन्द्री राम्रो र टिकाउ हुने जानकारहरु बताउँछन् ।
नयाँ पुस्ताले तानमा गुन्द्री, चकटी बुन्ने सीप सिक्नमा चासो नदिएको थापाले बताईन् । व्यास नगरपालिका–६ लोधकी ६० वर्षीया रिमा लामिछानेका अनुसार दशक अगाडीसम्म बाबियो काटेर, रातभर बाबियो बाटेर भोलिपल्ट तान लगाएर गुन्द्री बुनिन्थ्यो । अहिले भिरपाखामा बाबियो मासिँदै छ । प्रयोग पनि घट्दै । ‘पहिले बाबियो बाटेर गुन्द्री बुन्ने चलन थियो,’ उनले थपिन्, ‘अहिले त बाबियो पनि मासिदैँ गयो, सुतारीको डोरीमा गुन्द्री बुन्छौँ । पैसा भए गुन्द्री बुन्ने दुख पनि गर्न पर्दैन् ।’ गुन्द्री बुन्नलाई पहिले समथर ठाउँमा चारवटा किला गाडिन्छ । तलमाथिका किलामा नै दुईवटा काठ तेस्र्याईन्छ । हतासोभित्र डोरी छिराइन्छ । डोरी काठमा बाँधिन्छ र डोरीमा मिलाएर पराल हालेर हतासाोले ठोक्दै दायाँबायाँ हातैले बिट मारिन्छ । बिट चाही आ–आफ्नो मारिन्छ । अनि त्यसपछि गुन्द्री तयार हुन्छ । गुन्द्री बुन्न चिसोमा दिनभरि नै टुक्रुक्क बसेर काम गर्नुपर्ने भएकोले समस्या देखिन्छ । पछिल्लो समयमा धान रोप्ने किसानले हाईब्रिड जात रोज्छन् ।
स्थानिय जातको धान कम फल्ने भएकाले कमै लगाईन्छ । धेरै धान फल्ने जातका धानको पराल छोटो हुने भएकोले छोटो पराल गुन्द्री बुन्ने परम्परा क्रमशः लोप हुन लागेको हो । अहिले गुन्द्रीर थर्कटीको सट्टामा बजारमा पाइने प्लाष्टिकका सामग्रीको व्यापक प्रयोग हुन्छ । ‘पहिले घरमा कोही पाहुना आउँदा नयाँ गुन्द्री झिकेर बस्न आग्रह गर्दा छुट्टै इज्जत हुन्थ्यो । हिन्दु धर्मअनुसार अझै पनि धार्मिक कार्यमा चोखो गुन्द्री चाहिन्छ,’ ८४ बर्षीया धरमबहादुर श्रेष्ठले भने, ‘अहिले घरमा पाहुना आउदाँ कुन्द्रीको सट्टा कुर्सी, बेञ्च टक्रयाईन्छ । गुन्द्रीको प्रयोग त हराईहाल्यो नि ।’ नेपाली समुदायमा बिहे गरेको, घरमा कसैको मृत्यु भएमा एकवर्ष नहुदाँसम्म गुन्द्री बुन्न नहुने जनविश्वास छ । आधुनिकताको नाउँमा गाउँघरबाटै गुन्द्री, थर्कटी र चकटी बुन्ने चलन हराउँदै गएको हो ।