हिड्दा हिड्दै रक्तदान

दमौली खबर सम्बाददाता,
साउन २३,दमौली ।
रक्तदान गर्ने इच्छा भएर पनि रक्तसञ्चार केन्द्रसम्म पुग्न नसक्नेहरुले शनिबार सडकमा हिड्दा हिड्दै रक्तदान गर्ने अवसर पाएका छन् । २७ औं विश्व आदिवासी दिवसको अवसरमा नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद्को आयोजनामा व्यास ३ स्थित अनसन चौतारीमा खुला रक्तदान कार्यक्रम गरियो । रक्त सञ्चार केन्द्र दमौली अस्पतालको प्राविधिक सहयोगमा गरिएको उक्त रक्तदान कार्यक्रममा २६ पिन्ट रगत संकलन भएको छ । कोरोनाको कहरले जारी निषेधाज्ञाका कारण जिल्लामा रगत अभाव हुन थालिएपछि रगत कम हुन नदिन रक्तदान कार्यक्रम गरिएको महासंघको अध्यक्ष वसुन्धरा घर्तीले जानकारी दिईन् । रक्तदान कार्यक्रमको उद्घाटन सत्रमा बोल्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले रक्तदान गर्नु ठूलो कार्य रहेको बताउदै उनले सक्नेहरुले रक्तदान गर्नुपर्ने बताए । उनले भने,“ रक्तदान गर्न सक्ने सबैले रक्तदान गर्नुपर्छ, कसैले पनि रगत अभावमा ज्यान गुमाउने परिस्थिती आउन दिनुहुदैन ।” मिर्गाैलाका बिरामीलाई डायलासिस गराउनका लागि नगरपालिकाले चालु आर्थिक वर्षमा बजेटको व्यवस्था गरेको उनले बताए ।

प्रमुख जिल्ला अधिकारी सागर आर्चायले कोभिडले जारी निषेधाज्ञाले देशभर रगत अभाव भएको बताउदै यस्ता कार्यक्रमले रगतको संकट टार्न सकिने बताए । जिल्लामा सुत्केरीको उपचारको लागि, दुर्घटनामा परेका व्यक्ति, मृगौलाको डायलाइसिस गर्न, एनिमियालगायतका बिरामीलाई रगत आवश्यक पर्ने गरेको छ तर रक्तदाताको संख्या कम हुँदा रगतको अभाव छ । २०७२ सालमा दमौली अस्पालतमा स्थापना भएको रक्तसञ्चार केन्द्र मार्फत जिल्लामा रगत पूर्ति गर्ने गरिन्छ । रक्तसञ्चार केन्द्र नयाँ हुनाले केही थाहा पाएकाले मात्र रक्तदान गर्न त्यहाँ पुग्ने गर्छन। नियमित आफै रक्तसञ्चार केन्द्रमा पुगेर रक्तदान गर्ने दाताको संख्या १५ देखि २० जना जति रहेको छ । संस्थागत रक्तदाताको संख्या भने थपिने क्रममा छ । जिल्लामा एक महिनामा तीस देखि ४० युनिटसम्म रगत आवश्यक पर्ने गरेको छ । रगत अभाव हुँदा बिरामीले पोखरा लगायत बाह्य जिल्लासम्म पुगेर रगतको जोहो गर्नुपर्ने बाध्यता रहँदै आएको रक्तसञ्चार केन्द्रकी ईञ्चार्ज जसोधा थापा क्षेत्रीले बताईन् । उनले भनिन्,‘निषेधाज्ञा भए सँगै जिल्लामा रगत अभाव हुने गरेको छ । जिल्लामा हुने रक्तदान कार्यक्रमले रगत जोहो गर्न धेरै सहयोग पु¥याएको छ ।’ उनले अघि थपिन्, ‘ रक्तदान कार्यक्रम मार्फत नयाँ रक्तदाता खोज्न सजिलो भएको छ ।’ ‘नियमित दान नहुँदा रगतको अभाव व्यहोर्नुपर्ने अवस्था छ । रगत चाहिएकाले सँगै दाता खोज्नुपर्ने समस्या पनि छ ।’ रक्तदानको बारेमा अझै नागरिक स्तरमा सचेतना फैलाउन आवश्यक रहेको उनले बताईन् । पुरुष रक्तदाताको तुलनामा महिला रक्तदाताको संख्या थोरै छ । लैंगिक रुपमा पनि दाताको संख्यालाई बराबर पु¥याउन सक्दा दाता थपिन सक्नेछन । व्यास २ की चिनु पोख्ररेल नियमित रक्तदाताभित्र पर्छिन् । उनले भनिन्,‘रक्तदान गर्दा शरीर कमजोर हुन्छ भन्ने भ्रम छ । मानसिक र शारीरिक स्वस्थ्यताको लागि रक्तदान उपयुक्त मानिन्छ’उनले अघि थपिन्, ‘महिला रक्तदाता थप गर्न पहल गरेका छौं ।’ रक्तदान गर्न १८ वर्षदेखि माथि र ६० वर्षमुनि उमेर समूहको व्यक्ति हुनुपर्छ । ४५ किलो भन्दा माथि तौल भएको व्यक्तिले रक्तदान गर्न सक्नेछ । एउटा स्वस्थ पुरुषले वर्षको चारपटक र एउटा स्वस्थ महिलाले वर्षको तीन पटक रक्तदान गर्न सक्नेछन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button