दीपकराज जोशीः व्यासको मेयरको उम्मेदवार हुनबाट पछि हट्न नदिने परिस्थिति बन्दैछ’

२०१७ सालदेखि नेपाली काँग्रेसको राजनीतिक मियोमा बाँधिएको परिवारमा जन्मेर २०४० बाट नेपाल विद्यार्थी संघको गतिविधिमा सक्रिय हुँदा पटक पटक गिरफ्तारीमा परेका दिपकराज जोशी २०४६ सालको जनआन्दोलनको गतिविधिमा सक्रिय हुँदा गिरफ्तारीमा परेका थिए । २०४६ साल चैत्र ११ गते बहुदलको घोषणासंगै रिहा भएका जोशीले आफ्नो अध्ययनलाई अगाडि बढाउँदै अमेरिकाबाट आईटी इन्जिनियरको अध्ययन पुरा गरेर त्यही राम्रो कमाई गरेर अमेरिकामा स्थापित भैसकेका थिए । आफ्नो मातृभूमि, धर्म संस्कार, कूल परम्पराप्रतिको आस्थाले १८ बर्षपछि नेपाल फर्कियर शैक्षिक अध्यापनमा व्यस्त रहेका जोशीले किन व्यास नगरपालिकाको मेयर बन्नका उम्मेदवारी दिदैछन् प्रस्तुत तनहुँ आवाजसंगको छोटो सम्वाद ।

तनहुँ आवाजः लामो समय विश्वको चर्चित देश अमेरिकामा बसेर राम्रो कमाइ गरेको मान्छे भनेर तपाइको नाम चर्चामा छ । साथसाथै अहिले व्यास नगरपालिकाको मेयरको उम्मेदवार भन्ने पनि चर्चा छ । यथार्थ के हो ?
दीपकराज जोशीः
हो करिब १८ बर्ष अमेरिका बसेर नेपाल फर्किएको हुँ । त्यहाँ रहँदा मैले उच्च शिक्षा हासिल गर्नुका साथै आफ्ना लागि पुग्ने जति कमाइ गर्थेँ, जुन अन्य मानिसहरू पनि गर्छन् । प्रश्न को मेयर हुने ? भन्दा पनि , किन हुने ? भन्ने हो । मैले म नै सबै भन्दा राम्रो भनेको होइन । सबै राम्रो मान्छे चुनाबमा उठे भने जो सुकै भए पनि एउटा असल नेतृत्व पाएर जनताको जित हुन्छ ।

तनहुँ आवाजः तपाइ त भानु नगरपालिकामा मतदाता भएको मान्छे व्यास नगरपालिकाको मेयरमा दाबी गर्न भयो किन ?
दीपकराज जोशीः
 मेरो जन्मभूमि भानुमा भए पनि कर्मभूमि व्यास नै हो । व्यासको तपोभूमि व्यास नगरपालिकाको सादगी मेयरको हैसियतले व्यास नगरको सारथि बन्दै शान्ति, संवृद्धि र विकासको अर्को पहिचान थप्नका लागि मेयरमा मेरो दाबी हो ।

तनहुँ आवाजः व्यवसायमा स्थापित मान्छे तपाईँलाई व्यासको मेयर बन्न के कुराले प्रेरित ग¥यो ?
दीपकराज जोशीः
 महत्वपूर्ण कुरा राजनीति कसले गर्ने भन्ने होइन, कसका लागि गर्ने भन्ने हो । सायद समृद्धि मेरो पालामा सम्भव हुन देशको परिस्थिति विग्री सकेको छ तर आजको सोंचले भोलि समृद्धिमा पु¥याउँछ भन्ने विश्वासले मलाई प्रेरित गरेको छ । आजको युगमा प्रत्येक परिवारले चाहेको स्कूलमा छोरा छोरीलाई पढाउन सक्ने, आफ्नो गाडी चढ्न सक्ने, काठमाडौँदेखि पोखरासम्म कुल २०० किलोमिटरको यात्रा दुई घण्टामै पार गर्न, प्रत्येक नगरवासीको घरमा शुद्ध पिउने पानीको धारा होस्, विरामी पर्दा उपचार गर्न विदेशी अस्पताल सरहको सामाजिक अस्पताल बनाउन, आफ्नो बारी बाँझो राखेर अर्काको बारी जोत्न बिदेसिन नपर्ने बनाउने मेरा सपना पूरा गर्ने हुटहुटीले नै मलाई व्यासको मेयर बन्न प्रेरित गरिहेको छ ।

तनहुँ आवाजः नेपाली काँग्रेस गठबन्धन गरेर चुनावमा जाने भनेको छ । काँग्रेस नेता गोविन्दराज जोशी जनताको टिकटबाट चुनाव लड्न आव्हान गर्नु भएको छ । तपाइको उम्मेदवारीको धरातल कुन हो ?
दीपकराज जोशीः 
आउँदो निर्वाचनमा आफूलाई सकेसम्म नेपाली काँग्रेसले उम्मेदवार बनाओस् भन्ने हो । यदि सो नभएमा पनि आफू स्वतन्त्र रूपमा नगरपालिकाको मेयरमा प्रतिस्पर्धा गर्ने छु । १४औँ महाधिवेशनबाट हाम्रो परिवारलाई नै बहिर्गमनमा पार्ने अन्याय भएतापनि आफ्नै पार्टीबाट टिकट माग्ने हो । नदिए स्वतन्त्र उम्मेदवार भएर पाँच वर्ष मैले व्यास नगरवासीहरूको सेवा गर्ने अठोट गरेको छु । मैले विदेशमा प्राप्त गरेको ज्ञान र सिप तनहुँको व्यास नगरपालिकामा प्रयोग गर्ने मौका पाएँ भने व्यास नगरपालिकालाई नेपालमा एउटा उदाहरणीय नगरपालिका बनाउने मसंग योजना छ । त्यसैले म जनताद्वारा निर्वाचित हुन चाहन्छु । जनता नै धरातल हुन् र सर्वेसर्वा पनि ।
जनधरातलमा उभिएर मैले आफ्नो उम्मेदवारी दिनेछु ।

तनहुँ आवाजः तपाइ आइटीको विशेषज्ञ । अमेरिकामा राम्रो पैसा कमाएको मान्छे भनेर चर्चा छ । विदेशको सुख सुविधा छोडेर व्यासको मेयर बन्न किन मन लाग्यो ?
दीपकराज जोशीः 
तपाईँले सुन्नुभएको कुरा गलत होइन । तर म आइटिमा दख्खल राख्ने विज्ञ मात्रै नभएर सात्वीक जीवनशैली अपनाउँदै आएको मान्छे पनि हुँ । म भौतिकवादमा विश्वास गर्दिनँ जसले भौतिक रुपमा सम्पन्न हुनुलाई सुख ठन्दिन । मलाई मेरै समाजमा केही गर्ने हुट हुटि छ किनभने म जहाँ रोपिएँ, त्यही फूल्न र फल्न चाहन्छु । म नेपाली हुँ छु र रहन्छु ।

तनहुँ आवाजः व्यासको आमजनताको मन छुने, मेयर भएपछि नगरवासीले अनुभूति गर्न सक्ने परिवर्तन दिन सक्ने योजना कार्यक्रम पनि तपाईँसँग छ कि ?
दीपकराज जोशीः 
म व्यासको सुशासन र सेवा प्रवाह, आर्थिक विकास, सफा पानी, सरसफाइ, महिला तथा प्रजनन स्वास्थ्य, वन वातावरण तथा जलवायु परिवर्तन, सूचना प्रविधिको प्रयोग, युवा स्व–रोजगार, निःशुल्क स्वास्थ्योपचार, खेलकुद, कृषि उत्पादन र पारदर्शिताको लागि सदैव लागी रहने छु । विस्तृत योजना मेरो चुनावी घोषणा पत्रमा पनि देख्नुहुनेछ ।

तनहुँ आवाजः सम्पर्क कार्यालय नै खोलेर तातो चिसोको प्रबन्ध गरेर प्रचार अभियानमा जुट्नु भएको छ रे । गठबन्धन तालमेल वा कुनै कारणले तपाइले व्यासको मेयरमा उम्मेदवारी नदिने वातावरण परिस्थिति बन्यो भने तपाइको उम्मेदवारी कुन पदका लागि हुनेछ ?
दीपकराज जोशीः 
व्यासको मेयरको उम्मेदवार हुनबाट पछि हट्न नदिने परिस्थिति बन्दैछ । परिस्थिति अनुकुल बनेर आउने छ । अब त परिस्थितिले मलाई पछि हट्नै दिँदैन ।

तनहुँ आवाजः तपाइ अहिले साधारण चप्पल लाएर चुनावमा निर्वाचनमा होमिनु भएको छ । चुनाव तिजेपछिको गेट अप दैनिकी आमनगरवासीले यस्तै देख्न पाउलान कि नपाउलान् ?
दीपकराज जोशीः 
दमौलीको गर्मीमा मेरो चप्पलको यति विधि चर्चा हुनु जरुरी थिएन, जति भइरहेको
छ । म हिजो पनि चप्पल लगाउँथे , आज पनि लगाउँछु र भोलि पनि लगाउने छु । कुरा चप्पल लगाउने या जुत्ता लगाउने भन्ने मात्र पनि होइन । म चप्पल लगाउने मात्र ठिक र जुत्ता लगाउने खराब हुन् भन्ने मानसिकता बाट ग्रसित मान्छे पटक्कै होइन । तर के कुरा सत्य हो भने म सात्विक जीवनशैली अवलम्बन गर्ने व्यक्ति भएकोले मेरो जिबनशैली साधारण छ । मलाई साधारण जीवनशैली बिताउँदा आनन्द आउँछ । म आफू vegan(विशुद्ध शाकाहारी) भएकोले माछा मासु दूध जन्य पदार्थ र कुनै पनि जनावरबाट आएका वस्तुहरूको प्रयोग गर्दिनँ । म vegan मात्र नभएर Minimalism (अति सूक्ष्म बाद) जीवनशैली अभ्यास गर्छु ।
म त चुनावी खेल मैदानमा जाने तयारी मात्रै गर्दैछु । जनताको पैसाले जनताको भोट तान्न रवाफिलो जिवनशैली देखाउनेलाई चुनाव जिताउने हो कि सादगी जीवनशैली भएको र बिना स्वार्थ जनताको पक्षमा काम गर्न चाहने व्यक्तिलाई जिताउने त्यो त जनताको फैसला हो । अब रह्यो चुनाव जितेपछि चप्पल लगाउने नलगाउने कुरा , म यो देशको प्रधान मन्त्री नै भएँ भने पनि मेरो जिवनशैली यहि नै हुन्छ जुन आज छ । म त आफूलाई भाग्यमानी सम्झन्छु चप्पल लगाएर हिँड्दा किनभने ६० हजार ऋण बोकेका कयौँ नेपालीको गोडा अहिले पनि चप्पल विहिन छन् । मैले गोडामा लगाउने चप्पल र जुत्ताले होइन, मैले अगाडी बढाउने सहि पाइलाले यो समाजलाई अगाडी बढाउँछ भन्ने मेरो विश्वास हो ।

तनहुँ आवाजः मानिलिनुस् तपाइ व्यास नगरपालिकाको मेयर हुनुभयो । तपाईँ त दमौलीमा घर भएको मान्छे । तपाइ मेयरको क्वाटरमा बस्न जानुहुन्छ कि क्वाटर भाडा लिएर आफ्नै घरमा बस्नु हुन्छ ?
दीपकराज जोशीः 
मैले अहिले सम्म सरकारी सम्पत्ति दुरुपयोग गरेको छैन र गर्ने पनि छैन । न त क्वाटरको भाडा लिन्छु न त म क्वाटरमा नै बस्छु । मैले जिउने जिवनशैलीमा जनताको एक पैसा पनि संलग्न हुने छैन । म इन्धन खर्च मा कटौती गर्नेछु, धेरै भन्दा धेरै साइकल र विधुतीय स्कुटर प्रयोग गर्नेछु ।
मेयर र उप–मेयरले आफ्नो घर भाडामा दिएर सरकारबाट घर भाडा लिने संस्कार भएको हाम्रो समाजमा म जनताको पैसाको दुरुपयोग गर्ने छैन भन्ने कुराको प्रतिबद्धता व्यक्त गर्दछु । मेयर पद मेरो लागि जागिर होइन सेवा हो । मितव्ययिता मेरो लागि महत्वपूर्ण विषय हो ।

तनहुँ आवाजः म मेयर भएँ भने मेयरले पाउने आर्थिक सुविधा केही लिन्न भन्ने घोषणा पनि कुनै कुनै उम्मेदवारले गरिसकेका छन् । यसमा तपाइले कुनै दृष्टिकोण बनाउनु भएको छ ?
दीपकराज जोशीः 
जसले तलब भत्ता नलिई काम गर्छु भन्छ त्यसले काम होइन त्यो काम भित्रको स्वार्थ हेरेको हुन्छ । अमेरिकाको राष्ट्रपति धनी नै भए पनि तलब भत्ता नलिई काम गर्छु भनेर सस्तो लोकप्रियता कमाउन चाहँदैन । तलब भत्ताको पैसा सहयोग गर्छु पनि भन्दैन । यहाँ त तलब भत्ता नलिए जस्तो देखाएर पदको दुरुपयोग गरेरै अकुत सम्पत्ति कमाउने संस्कार बसिसकेको छ । जब कसैको चुनावी एजेन्डा नै तलब भत्ता नखाने जस्तो सस्तो लोकप्रियताको विषय हुन्छ भने उसले समाजलाई के दिन सक्छ ? अब कोही धनी व्यापारीले तलब भत्ता बराबर रकम सरकारलाई दिन्छु भन्यो भने के त्यसलाई नेतृत्व दिने ? दान दिँदा पनि दान लिनेलाई थाहा नदिई दान दिनु पर्छ भन्ने संस्कृति भएको हाम्रो समाजमा दान लाई नै व्यापार बनाउनेहरू माथि कसरी विश्वास गर्न सकिन्छ ? अब रह्यो तलब भत्ता के गर्ने भन्ने कुरा, म वैदिक सनातन धर्ममा विश्वास गर्ने सात्विक मान्छे भएको कारण पनि एउटा हातले दिएको दान अर्को हातलाई थाहा नपाओस् भन्ने संस्कृति भएको समाजमा मैले लिएको तलब भत्ता कहाँ र कसरी दान गर्छु त्यो भोलिका दिनमा समाजले देख्ने, थाहा पाउने र भोग्ने विषय हो । म “कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचनमा कर्मफलहेतुर्भूर्मा ते सङ्गोऽस्त्वकर्मणि।“ भागवत गीताको अध्याय २, पद – ४७ (तपाईँसँग तपाईँको निर्धारित कर्तव्यहरू गर्ने अधिकार छ, तर तपाईँ आफैँ तपाईँका कार्यहरूको फलको हकदार हुनुहुन्न । आफूलाई तपाईँका गतिविधिहरूको नतिजाको कारणको रूपमा कहिल्यै नलिनुहोस्, न त निष्क्रियतामा संलग्न हुनुहोस्।) मा विश्वास गर्छु । अतः यसको लेखाजोखा भोलि जनताले राख्नेछन् । मैले यो बारेमा केही बोलिरहनु आवश्यक होइन/छैन ।

तनहुँ आवाजः व्यासको मेयर भएपछि तपाइले आफ्ना मतदातालाई पनि समयमा भेट दिन सक्नु हुन्न, समयमा फोन उठाउन सक्नु हुन्न होला । तपाइप्रति ठुलो अपेक्षा लिएर तपाईँलाई मतदान गर्ने मतदाताको भावना र चाहानालाई कसरी सम्बोधन गर्नु हुन्छ ?
दीपकराज जोशीः 
म जनताको मान्छे भएकोले म सदैव जनता सँगै हुने छु । मेरो सार्वजनिक सम्बन्ध राख्ने टिम हुने छ जसले सदैव जनताको गुनासो सुन्ने छ । म भाषण, उद्घाटन आदि इत्यादीमा विश्वास नगर्ने मान्छे भएकाले बढी भन्दा बढी समय जनतासँग बिताउने छु, मिलेसम्म जनता सँगै खानेछु । प्रत्येक विद्यालय र कलेजमा गएर आफुले जानेको कुरा सिकाउने छु । जसले गर्दा शिक्षाको गुणस्तर मापन गर्न सजिलो हुन्छ । म आफै आइटी इन्जिनियर भएकोले अफिसमा नै बसेर कुर्सीमा टासिएर काम गर्नु पर्छ भन्ने होइन म जहाँ बाट पनि काम गर्न सक्छु । मेरो पाँच वर्षको कार्यकाल म जनताको वरिपरि नै बसेर सुख दुखमा साथ दिने छु । व्यास नगरवासीको दुःखमा संगै रुनेछु सुखमा संगै हास्ने छु ।

तनहुँ आवाजः तपाईलाई व्यास नगरपालिकाको मेयरमा निर्वाचित हुन पुग्ने मत प्राप्त भएन भने त्यसपछिको पाँच बर्ष तपाईको भूमिका के हुन्छ ?
दीपकराज जोशीः
 म मेयर हुँदा पनि नहुँदा पनि अबको पाँच बर्षको लागि व्यास नगरपालिकाका आमनागरिकको समस्या समाधानमा एउटा जनप्रतिनिधिको हैसियतले जति भूमिका निर्वाह गर्न सकिन्छ, त्यो भूमिकामा रहनेछु ।

तनहुँ आवाजः अन्त्यमा नगरवासी मतदातालाई भन्न बाँकी केही छ र ?
दीपकराज जोशीः 
जब कार्यकर्ताको अनुशासन, नेताको शासन दुवै गलत दिशामा जान्छ तब समाज अगाडी बढ्दैन । तपाईँ अहिले जहाँ उभिनु भएको छ त्यहाँ राजनैतिक बिचार, आदर्श, मूल्य मान्यता र अनुशासनको अन्त्य भएको छ ।
आक्रामक नेताको साथ दिने निष्क्रिय समर्थक र बुद्धिमान शिक्षकसँग अज्ञानी विद्यार्थी भएको समाज कहिल्यै अगाडि बढ्न सक्दैन । यहि नै हामीले भोगीरहेका छौँ । ‘शिक्षित युवा, आजको राजनीतिको आवश्यकता’ भन्ने नारा लिएर समाजलाई अगाडी बढाउने छु । सहि र गलत पहिचान नगरी हामीले एकदिनको स्वार्थ पूर्ति गर्न पायौं भन्ने आधारमा मतदान गर्दा गलत मान्छेले चुनाव चित्न पुग्दछ र उसले पाँच बर्ष हामीलाई शोषण र शासन गर्दछ तर हाम्रो दुःखसुखको नेतृत्व गर्दैन । ती नेताहरूले राज्यको ढुकुटी रित्याएर देश र जनतालाई लुटी रहेको कुरा अब हामीले भूल्नु हुँदैन ।
हाम्रो मतदानले दक्ष, इमानदार, सक्षम, योग्य र प्रस्ट राजनीतिक दर्शन (भिजन) भएको उम्मेदवारले जित्नु पर्दछ । सचेत नागरिकले एउटा कुरा के बुझ्न पर्छ भने हाम्रो भूमिका समाज निर्माण गर्नका लागि धेरै महत्त्वपूर्ण छ । यस्तो निर्णायक मतदान गर्दा नागरिकहरू गंभिर र सम्वेदनशिल हुनु जरुरी हुन्छ । अब आउने चुनाव मा भोट बदलेर तपाईँको भविष्य बदल्नु परेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button