निःशुल्क स्थायी बन्ध्याकरण शिविर जारी सोमबार २७ जनाले गरे स्थायी बन्ध्याकरण

दमौली खबर संवाददाता

दमौली÷२३, माघ

सन्तानको रहर पुगेका दम्पत्तिको लागि स्वास्थ्य कार्यालय तनहुँद्वारा निःशुल्क स्थायी बन्ध्याकरण शिविर जिल्लाका विभिन्न पालिकामा भईरहेको छ । शिविरको क्रममा सोमबार २७ जनाले बन्ध्याकरण गरेका छन । शुक्लागण्डकी नगरपालिकाको खैरेनीटारबजार स्थित खैरेनीटार स्वास्थ्य चौकीमा भएको बन्ध्याकरण शिविरमा ति व्यक्तिहरुले स्थायी बन्ध्याकरण गरेका हुन । २१ जना पुरुषले भ्यासेक्टोमी र ६ जना महिलाले मिनील्याप गरेको परिवार नियोजन सुपरभाइजर एवं कार्यक्रमका फोकल पर्सन सुदिप कंडेलले जानकारी दिनुभयो । सन्तानको रहर पुगिसकेका ति दम्पत्तिहरुले स्थायी बन्ध्याकरण गरेको जानकारी। स्थायी बन्ध्याकरणमा सहभागी भएका पुरुष र महिलालाई प्रति व्यक्ति ३ सय रुपैयाँ, यातायात खर्च र महिलाहरुलाई यातायात पुग्ने ठाउँसम्म पु¥याइने गरिएको छ ।

शिविरबाट एक सय जना व्यक्तिहरुले स्थायी बन्ध्याकरण गर्ने लक्ष्य राखिएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारीले जानकारी दिनुभयो । कार्यालयका ल्याब टेक्निसियन राजेन्द्र रानाभाटले गत वर्ष ६५ जनाले स्थायी बन्ध्याकरण गरेको जानकारी दिनुभयो । माघ २४ गते पुरनडिही नगर अस्पताल, २५ गते आँबुखैरेनी अस्पताल, २७ गते जामुने स्वास्थ्य चौकी, २८ गते गजुरे स्वास्थ्य चौकी र फागुन १ गते दमौली अस्पतालमा निःशुल्क बन्ध्याकरण शिविर हुने जिल्ला स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button