धान ब्लकले किसानलाई बनायो उत्साहित

सविन लामिछाने,

दमौली, जिल्लाको भानु नगरपालिका ५ सेपाबगैंचा मा धान खेती गर्न महिना दिन भन्दा बढी लाग्थ्यो । धानको बिउ खोज्ने, बिउ छर्ने, अनि खेत जोतेर हिलो बनाउने, धान रोप्ने काम गर्दा किसानको धेरै समय खेतबारीमै बित्थ्यो । तर, अहिले खेती गर्ने चलन फेरिएको छ । एक सय हेक्टर जग्गामा एकैपटक धान रोपिएको छ । उक्त जग्गामा रामधान नामको धान रोपिएको हो ।

परम्परागत रुपमा धान खेती गर्दै आएका भानुको वडा नं ४, ६र ७ का झण्डै ५० जना किसानले आधुनिक प्रविधिको प्रयोग गरेर धान रोपेका हुन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत कृषि ज्ञान केन्द्रको सहयोगमा ब्लक विकास कार्यक्रम अन्तर्गत यहाँ धान ब्लक कार्यक्रम लागु भएपछि किसान उत्साहित बनेका हुन् ।

 

‘गाउँमा यसअघि दुइ गोरुले जोतेर धान रोप्नुपर्ने बाध्यता थियो । अहिले हाते ट्रयाक्टर छ ’ धान ब्लक सञ्चालक समितिका अध्यक्ष मनिलाल श्रेष्ठले भने, ‘एक हप्तामै खेती उतारेपछि समयको बचत भयो । खेती गरेर बचेको समय ज्याला मजदुरीमा लगाएर आर्थिक आम्दानी गर्न थालिएको छ ।’ फरक फरक धानको बिउ लगाउने चलन थियो । जसले गर्दा धानमा लाग्ने रोग, किरा नियन्त्रण गर्न समस्या पर्थ्यो । धान उत्पादन पनि कम हुने । तर, यसपाली भने एक सय हेक्टर खेतमा एउटै जातको धानको रोपिएको छ । किसान उत्साहित रहेको भानु सहकारीका अध्यक्ष समेत रहेका श्रेष्ठले बताए ।

 

‘किसानले आशा गरेका छन् अब पोहर भन्दा धेरै धान फलाउने । फरकफरक बिउको खेती गर्दा उत्पादन कम हुने समस्या थियो’ उनले भने, ‘एउटै धानको बीउ खेती गर्दा उत्पादन बढाउन सकिन्छ ।’ सहकारी संस्था र कृषि ज्ञान केन्द्रको संयुक्त लगानीमा धान ब्लक कार्यक्रम लागु गरिएको हो । झण्डै ५२ लाख रुपैयाँको लगानीमा कार्यक्रम सञ्चालन भएको छ । कृषि ज्ञान केन्द्रको ८५ प्रतिशत अनुदान र सहकारी संस्थाको बाँकी लगानीमा धान ब्लक कार्यक्रम लागु गरिएको हो । कृषि ज्ञान केन्द्रका प्रमुख कुलप्रसाद तिवारीले हरेक पालिकामा एक ब्लक निर्माण गर्ने योजना सहित भानुमा धान ब्लक कार्यक्रम लागु गरिएको बताए । उनले भने,“ हरेक पालिकामा एक ब्लक निर्माण गर्ने योजना छ । कतै सुन्तलाको ब्लक छ कतै धानको पालिका अनुसार फरक फरक ब्लक निर्माण गरेका छौ । ” एक सय हेक्टरलाई एउटा ब्लक मानेर खेती गर्ने गरिएको उनले बताए ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button