राजमार्ग विस्तारको काम समयमै पुरा गर्न सांसद भण्डारीको चासो

दमौली खबर संवाददाता

तनहुँ, जेठ २१
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधी सभा सदस्य शङ्कर भण्डारीले पृथ्वीराजमार्गको पश्चिमखण्डको काम चाँडो सम्पन्न गर्न चासो व्यक्त गर्नु भएको छ । आशा गरिएको अनुसारको काम पुरा नभएपछि विस्तारको क्रममा रहेको पृथ्वीराजमार्गको पश्चिमखण्डको काम चाँडो सम्पन्न गर्न भण्डारीले ध्यानाकार्षण गर्नु भएको हो ।
शनिबार सडकको स्थलगत अनुगमन गर्दै सांसद भण्डारीले काम चाँडो र गुणस्तरीय गर्न निर्माण कम्पनीलाई निर्देशन दिनु भएको हो । सडक विस्तार आयोजनाका ठेकेदार चिनियाँ कम्पनीका प्रोजेक्ट म्यानेजर ज्याकी र विजनेस म्यानेजर जिया हाओसँग शनिबार भेट गर्दै काममा भएको ढिलाईबारे सांसद भण्डारीले चासो राख्नु भएको थियो । सांसद भण्डारीले सडकको काम हुँदा धुलोले जनताले खेप्नुपरेको सास्ती, वातावरण प्रदूषण लगायतमा ध्यान दिन निर्देशन दिनु भएको थियो ।
काममा असहजता भए नेपाल सरकार र सम्बन्धित सरकारी निकायमा आफूले सहजीकरण गरिदिने तर निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र जनताको गुनासो अन्त्य हुनुपर्ने भण्डारीले बताउनुभयो । सांसद भण्डारीले भन्नुभयो, ‘‘सडक अनुगमनको क्रममा काम सन्तोष जनक देखिएन जनतालाई यात्रुलाई सास्ती भोग्नु परेकोले गंभिर भई काम द्रुत रुपमा गर्नु आवश्यक देखियो ।’’ भण्डरीसँगको कुराकानीको क्रममा प्रोजेक्ट म्यानेजर ज्याकीले समयमै कार्य सम्पन्न गर्न र स्थानीय जनताले भोग्नुपरेका समस्या समाधान गर्ने प्रतिबद्धता व्यक्त गर्नु भएको थियो ।
पश्चिम खण्ड अन्तर्गत जामुनेबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं २०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो । यस खण्ड निर्माणको ठेक्का चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ । यस खण्डको म्याद विसं २०८१ भदौसम्म छ । पश्चिम खण्डको काम सुस्त गतिमा भईरहेको छ । हाल सम्म ७ दशमल ०७ प्रतिशत मात्रै काम सम्पन्न भएको पश्चिम खण्डका प्रमुख अमितकुमार श्रेष्ठले बताउनुभयो । श्रेष्ठ भन्नुहुन्छ ठेकेदारलाई समयमा नै काम पुरा गर्न बारम्बार ताकेता गर्ने र पत्र लेखिरहेका छौं तर पनि सन्तोष जनक प्रगति भएको छैन ।’’ विसं २०२६ मा रेखाङ्कन गरिएको यस सडकमा सवारीको चाप बढेसँगै एसियाली विकास बैंक (एडिबी)को ऋण सहयोगमा सडक चार लेनको बनाउन लागिएको छ ।
पूर्वी खण्डको रु छ अर्ब २१ करोड ३१ लाख १३ हजारमा र पश्चिम खण्डको रु सात अर्ब ४० करोड ४६ लाखमा ठेक्का लागेको छ । सडक विस्तार गर्दा सडक सीमा दुईतर्फी २५–२५ मिटर हुनेछ भने सहरी क्षेत्र बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडाइको सडक बन्नेछ । सडकको डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक हुनेछ । दुलेगौँडाबाट खैरेनीटार बजारसम्म, कोत्रेबजार क्षेत्र र कास्कीको गगनगौँडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुने आयोजनाले जनाएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button