तनहुँ–१ को उपनिर्वाचनमा कांग्रेस, एमाले, रास्वपा, लगायतका पार्टीद्धारा उम्मेदवारी दर्ता

दमौली खबर संवाददाता

तनहुँ, चैत २१

तनहुँ–१ मा आगामी वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनका लागि प्रमुख पार्टी नेपाली कांग्रेस, नेकपा एमाले तथा राष्ट्रिय स्वतन्त्र पार्टी नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टी लगायतका तर्फबाट सोमबार उम्मेदवारी दर्ता भएको छ । सत्तारुढ गठबन्धनबाट आठ दलमा साझा उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले उम्मेदवारी दर्ता गराउनुभएको छ । उहाँको प्रस्तावकमा कांग्रेस तनहुँका पूर्वसभापति रघुनाथ पौडेल र समर्थकमा नेपाली कांग्रेस महासमिति सदस्य एवं गण्डकी प्रदेश कार्य समिति सदस्य सरीता गुरुङ रहनुभएको छ ।

नेकपा एमालेको तर्फ सर्बेन्द्र खनालले दर्ता गर्नु भएको छ । उहाँको प्रस्तावकमा भगवती न्यौपाने, समर्थकमा एकबहादुर राना रहनु भएको छ । रास्वपाको तर्फबाट डा.स्वर्णिम वाग्ले, राप्रपाकी शोभा गुरुङ, नेपाल मजदुर किसान पार्टीका रामप्रसाद प्रजापति, मङ्गोल नेसनल अर्गनाइजेसनका प्रेमबहादुर थापा, राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना उम्मेदवारी दर्ता गराइसक्नु भएको मुख्य निर्वाचन अधिकृत कोमलप्रसाद आचार्यले जानकारी दिनुभयो ।

उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग कुराकानी गर्दै सत्तागठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका गोविन्द भट्टराईले राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचनको सन्र्दभमा जनतासँग गरेका बाचाहरु पुरा गर्ने बताउनुभयो । आफ्नो पहिलो प्राथमिकता संविधानको रक्षा, बहुदलीय व्यवस्थाको रक्षा गर्नु र मानव अधिकारको रक्षा गर्नु भएको उहाँले बताउनुभयो । विकास गर्ने र अर्थतन्त्रको सुधार गर्नको निम्ति लोकतन्त्रको विकल्प नभएको तर्क भट्टराईको थियो । जनताको आयस्तर सुधार गर्ने र दरो लोकतन्त्र बनाउन उम्मेदवार बनेको भट्टराईले बताउनुभयो । एमालेका उम्मेदवार खनालले समृद्ध तनहुँ र सुखी तनहुँ बनाउनको लागि उम्मेदवारी दर्ता गरेको बताउनुभयो । कांग्रेसका भट्टराईको उम्मेदवारी दर्ता कार्यक्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापा, रास्वपाका खनालको उम्मेदवारी दर्ता कार्यक्रममा केन्द्रीय अध्यक्ष रवि लामिछाने समेत उपस्थिती रहेको थियो ।

तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँमा उपनिर्वाचन हुन लागेको हो । पौडेलले २५ हजार ३ सय ६१ मत र रानामगरले १९ हजार ९ सय ८१ मत पाउनु भएको थियो । त्यस्तै, सो क्षेत्रबाट स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले ६ हजार ८८६ मत ल्याउनु भएको थियो भने राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले ६ हजार ४४ मत प्राप्त गर्नु भएको थियो । यहाँको उपनिर्वाचनको लागि मतदानस्थलका १५२ मतदान केन्द्र स्विकृत भएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिनुभयो । एक मतदान स्थलमा बढीमा एक हजार मतदाता रहन सक्नेगरी सो सङ्ख्यामा मतदानस्थल तोकिएको उहाँले जानकारी दिनुभयो ।

मतदान केन्द्रमा लागि मतदान एक जना अधिकृत र त्यत्तिकै सङ्ख्यामा सहायक मतदान अधिकृत, दुई जना सहायक कर्मचारी र एक जना कार्यालय सहयोगी परिचालन गरिने ढकालले जानकारी दिनुभयो । निर्वाचन प्रचारप्रसारका लागि प्रतिनिधिसभा सदस्यका उम्मेदवारले २५ लाख रुपियाँ खर्च गर्न पाउने गरी सीमा निर्धारण गरिएको छ । वैशाख १० गते हुने उपनिर्वाचनका लागि निर्वाचन आयोगले प्रकाशन गरेको विवरण अनुसार मङ्सिरको चुनावको तुलनामा तनहुँ १ मा मतदाता घटेका छन् । तनहुँ निर्वाचन क्षेत्र नं. १ मा १ लाख २३ हजार ३०५ मतदाता कायम भएका छन् । मङ्सिरको भन्दा एक सय ८५ मतदाता घटेका छन् । पाँच सय २८ जनाको मृत्यु भएकोले मतदाता सङ्ख्या घटेको ढकालले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button