वेपत्ता भएकाको खोजी गरिदिन परिवारजनको आग्रह

दमौली खबर संवाददाता
दमौली, भदौ ९ गते । वेपत्ता भएकाको खोजी गरिदिन परिवारजनले  आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय वेपत्ता दिवसका उपलक्ष्यमा नेपाल रेडक्रस सोसाइटी तनहुँद्वारा बुधबार दमौलीमा गरिएको अन्तरक्रिया कार्यक्रममा परिवारजनले आग्रह गरेका थिए । पीडित परिवारले खोजीदिन रेडक्रसकर्मी र संचारकर्मीसँग आग्रह गरेका थिए । वेपत्ता परिवार तनहुँकी अध्यक्ष समेत रहेकी सर्वदा घिमिरेले खोजी गरिदिन आग्रह गर्नु भयो ।
बन्दिपुर बाबियाटारका रामचन्द्र अधिकारीले पनि दिदीलाई वेपत्ता बनाएको २४ वर्षसम्म कुनै अत्तोपत्तो नहँुदा दुःख लागेको बताउनुभयो  । २०५५ मंसिर २४ गते एक्कासी सुरक्षाकर्मीले दिदीलाई नियन्त्रणमा लिइ वेपत्ता बनाएको जानकारी उनले दिए । तत्कालिन विद्रोही पक्ष माओवादी भएको आरोपमा दिदीलाई गायब बनाएका हुन उनले भने । म्याग्दे २ की धर्मकुमारी काफ्लेले पनि २०६० असोज १६ गते घरमै आएका प्रहरीले श्रीमान ईश्वर काफ्लेलाई गायब बनाएको बताउनुभयो  । राज्य पक्षसँग आफ्ना पतिका बारेमा धेरै पटक जानकारी लिन खोजे पनि सुनुवाइ नभएको उहाँको भनाई थियो  । उनीहरुले वेपत्ता पारिएका आफ्ना नागरिकहरुको कि जिवित नै आफुहरुको सामु ल्याइदिनुपर्ने कि मरेको हो भन्ने प्रमाण दिन सक्नुपर्ने बताए । हाम्रा मान्छेको कि हामीलाई श्वास देउ कि लाश देउ भन्ने आवाज अन्तरक्रियामा उठाउनु भएको थियो ।
 १० वर्ष जनयुद्धका बेला तनहुँ जिल्लाका २१ जना मानिसहरु वेपत्ता भए पनि धेरैले सो सूचीबाट नाम निकाली सकेका छन । रेडक्रस तनहुँ शाखाका सभापति कृष्णहरि वाग्लेले अहिले भने जिल्लाका १४ जना वेपत्ताको सूचीमा रहेको र उनीहरुको खोजीका लागि राज्य पक्षसँग पहल भइरहेको बताउनुभयो  । निमित्त प्रमुख जिल्ला अधिकारी काशीराम गैह्रेले नागरिक समाजबाट खबरदारी भइरहे त्यस्ता नागरिक खोज्न सहज हुने बताए । कृष्णचन्द्र पाण्डे लगायतकाले वेपत्ता नागरिकको खोजीका लागि राज्य पक्ष गम्भिर हुनु जरुरी रहेको बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button