पृथ्वीराजमार्गको बिमलनगर– घाँसीकुवा सडकखण्ड राती थप १९ दिन बन्द हुने
दमौली खबर संवाददाता
दमौली, फागुन १३
रातको समयमा पृथ्वीराजमार्गको बिमलनगर–घाँसीकुवा खण्ड थप १९ दिन बन्द हुने भएको छ । राती ४ घण्टा बन्द गरिने जिल्ला प्रशासन कार्यालय तनहुँले आइतबार एक सूचना प्रकाशित गरी जनाएको छ । सहायक प्रमुख जिल्ला अधिकारी काशीराम गैरेद्धारा जारी विज्ञप्तती चैत्र १२ गतेदेखि ३० गतेसम्म राती १२ बजेदेखि बिहान ४ बजेसम्म उक्त सडक खण्ड बन्द हुने उल्लेख गरिएको छ । सो समयमा अत्यावश्यक सवारी साधन बाहेक अन्य सवारी साधन पूर्ण रुपमा बन्द हुने सूचनामा जनाइएको छ । जिल्ला सुरक्षा समितिको आइतबार नै बसेको बैठकले अत्यावश्यकका सवारी साधन बाहेक अन्य सवारी साधनहरु उक्त समयमा बन्द हुने निर्णय गरेको सहायक प्रजिअ गैरेले जानकारी दिनुभयो । मुग्लिन पोखरा सडक खण्ड विस्तारका क्रममा कामलाई छिटोछरितो र तिब्रता दिन बन्द गर्ने निर्णय गरिएको गैरेले बताउनुभयो । यस अघि पनि उक्त खण्ड फागुन १२ गते देखि २८ गते सम्म दैनिक चार घण्टा सोही समयमा बन्द गरिएको थियो । त्यस्तै फागुन २८ गते देखि चैत १२ गते सम्म अबधि लम्बाईएको थियो ।
चार लेन सडक विस्तारका क्रममा यस खण्डमा भिक्तो काट्ने काम गर्नुपर्ने भएकोले रातको समयमा सो खण्ड बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जानकारी दिनुभयो । यात्रुलाई यात्रा सहज बनाउन दिउँसो बन्द नगरी रातको समय बन्द गर्ने निर्णय गरिएको उहाँले जानकारी दिनुभयो । चाईना कम्पनीले पृथ्वी राजमार्ग अन्तर्गतको पोखरा–मुग्लिन सडकलाई तीन चरणमा विस्तार गर्ने क्रममा भित्ता खार्ने र खाल्टोहरु पुर्ने कार्य भईरहेको छ । हाल पृथ्वीराजमार्ग दुई लेनको रहेको छ । चाइना एण्ड कम्युनिकेशनले उक्त सडक तीन चरणमा पुरा हुने गरि योजना बनाएको छ । आँबुखैरेनीदेखि जामुनेसम्म, जामुनेदेखि पोखरा र आँबुखैरेनीबाट मुग्लिनसम्म गरी तीन चरणमा सडक फराकिलो गरिएको हो । मुग्लिनदेखि पोखरासम्मका सडक फराकिलो पार्न चिनिया कम्पनीले ठेक्का पाएर निर्माण कार्य थालनी भईरहेको छ । सो कम्पनीले सडक फराकिलो गर्न ६ अर्ब १४ करोड रुपियाँको ठेक्का पाएको छ ।