सरकारसँग भएका ५१ बुँदे सम्झौता कार्यान्वयनमा शिक्षक संघले आन्दोलन गर्ने

दमौली खबर संवाददाता

दमौली, फागुन २१ ।

नेपाल शिक्षक संघ तनहुँको नवौं जिल्ला अधिवेशन शनिवार बाट सुरु भएको छ । उक्त अधिवेशनको उद्घाटन नेपाल शिक्षक संघका संघिय अध्यक्ष राजेन्द्रराज पौडेलले गर्नुभयो । सो अवसरमा पौडेलले शिक्षकहरूको हितका लागि सरकारसँग भएको ५१ बुँदे सम्झौता कार्यान्वयन गर्ने गरी निर्णायक आन्दोलनको तयारी शिक्षक संघले गरिरहेको उद्घोष गर्नुभयो । देशभरका शिक्षक संघमा आवद्ध ८३ हजार शिक्षकहरूको बलमा आफूले उक्त निर्णायक आन्दोलनको नेतृत्व गर्ने उहाँको भनाइ थियो । २०४६ सालपछि ३३ वर्षसम्म शिक्षकका उपलब्धि हेर्दा आफै सन्तुष्ट हुने ठाउँ छैन भन्दै बेथितिहरुलाई हटाउँदै नयाँ शिक्षा ऐन मार्फत ऐतिहासिक उपलब्धि सिर्जना गर्न शिक्षक संघ लागिरहेको पौडेलको भनाई रहेको थियो । साथै उहाँले शिक्षकहरुले भविष्यका कर्णधार विद्यार्थीहरुको शैक्षिक गुणस्तरमा लाग्नुपर्नेमा जोड दिदै पेशागत हितमा लाग्न आग्रह गर्नुभयो ।

नेपाल शिक्षक संघ तनहुँका कार्यबाहक अध्यक्ष रसमाया गुरुङको सभापतित्वमा भएको उक्त अधिवेशनको उद्घाटन सत्रमा शिक्षक संघ गण्डकी प्रदेशका अध्यक्ष शिवमणी लामिछाने, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, शिक्षक संघ तनहुँका उपाध्यक्ष ओजराज बगाले, नेपाली कांग्रेस शिक्षा शाखा प्रमुख अम्बिका घिमिरे, शिक्षा विकास समन्वय इकाईका प्रमुख वसन्तराज पौडेल लगायतले शिक्षकले निजामती सरह सुविधा प्राप्त गर्न नसेकोले सबैजना एक जुट भएर समान सुविधा हुन दबाब दिन आवश्यक रहेको कुरामा जोड दिनु भएको थियो ।

कार्यक्रममा नेपाल शिक्षक संघमा आवद्ध दुई हजार २ सय १२ शिक्षकहरुको सहभागिा रहेको उक्त अधिवेशनमा शिक्षक संघ जिल्ला कार्य समितिका सचिव अर्थका नरेन्द्र न्यौपाने र कार्यबाहक सचिव कल्पना परियारले आआफ्नो प्रतिवेदन पेश गर्नुभएको थियो

अध्यक्षमा ६ जना आकांक्षी

उक्त अधिवशनमा रमेशबाबु भट्टराई, भरत काफ्ले, ज्ञानेन्द्र काफ्ले, उपेन्द्र विष्ट, रसमाया गुरुङ, ओजराज बगाले लगायतले अध्यक्षतामा उम्मेदवारी दिने भएका छन् भने सर्वसम्वत हुने सम्भावना कम रहेकाले निर्वाचन हुने सम्भावना बढिरहेको एक शिक्षक नेताले बताए । अन्य पदहरुमा पनि निर्वाचन हुन सक्ने पनि ति शिक्षक नेताले बताए । निर्वाचनको उम्मेदवारी दर्ताको आज गते बिहान १० बजेबाट बिपी स्मृति भवन दमौलीमा हुने सहसचिव रामदत्त पौडेलले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button