लघुकथा:- मन
लघुकथा:- मन
खेमलाल पहारी
गुम्बा परिसरमा मुण्डन गरी चिबर नाप्दै गर्दा छिरिंगको आँखामा तस्वीर नाचिरहेको थियो – आफ्नो राजकुमारको काखमा घोडसवार उनी क्षितिजको शैलुन्गमा टिपेको गुराँस नाम्ग्यालकै हातले शिरभरि सिउरिएर उसकै अन्गालोमा लीन हुने छिरिंगको सपना तब भताभुंग भएको थियो जब उसले दिदीलाई छोडेर बहिनि कार्चुंगलाई लिएर हंगकंग गएको थियोl बचपनदेखि एकदशकको उसको पवित्र प्रेममा एकाएक आफ्नै बहिनी ग्रहण बनेर आएकी थिईl सुरुमा त छिरिन्गले यसलाई रमाइलोको रुपमा लिई; हंगकंगमा एउटा गतिलो होटल खोलियो भने दुवै दिदीबहिनी नाम्ग्याल्को बाहुपासमा संधैन्भारी बेह्रिएर रहन सक्छन् भन्ने उसलाई लागेको थियो तर जब उसलाई नाम्ग्यालले आफ्नो प्रेममा तुसारो छेरेको भान भयो छिरिन्गलाई पैतालामुनिबाट जमिन भासिएको अनुभव भयोl
नामग्याल सदाको लागि टाढिएपछि उसको साथी थियो – भोटेपिपलको चौतारोl मेलापात, घाँस दाउरा केहिमा पनि मन थिएन छिरिंगकोl उसलाई रोधीघरको डम्फु, मुर्चुङ्गाको पनि झर्को लग्न थालेको थियोl हिजो चौताराबाट ल्याएर साथीहरुले फकाई फुल्याई छ्यांग पिलाइदिए पछि उसले नशाको तालमा आफ्नो मन पखालिन्l
उनलाई कुङ्गाको जिम्मामा लगाएर जाँदै गर्दा संगीहरु अब नसको तालमा छिरिन्ग्को नामग्याल मर्ने र त्यसको खरानीबाट कुङ्गाको जन्म हुने कुरामा ढुक्क थिएl “तिमी किन यसरि टुटेको सोल्टिनी?” कुङ्गाले उनको कपाल सम्हाल्दै सोधेl छिरिन्गले आफ्नो सपना टुटेको र आफु मर्न चाहेको बताईन्l कुङ्गाले राति अबेरसम्म उनको जिउमा चौंरीको घिउ मालिस गर्दै उनलाई धेरै सम्झाएl नशामा लठ्ठिएकी छिरिन्गले कुङ्गाको नाक चिमोट्दै सोधिन्, “अब मेरो हात तिमीले थाम्छ त, ङ्ग्लोl” उनको पैतालामा मालिस गर्दै उनले भने, “हैन, भगवानलेl”
बिस्तारै छिरिन्ग्को नशा उत्रिंदै थियो कुङ्गा भाले नबास्दै भित्रबाट ढोकाको आग्लो लगाएर छानाबाट झरेर गुम्बाको बाटो लागेl
छिरिन्ग झुमा भईन्l
एकदिन कुङ्गा हिउँमा चिप्लिएर हिंड्न सकेनन्l छिरिन्गले उनलाई बोकेर गुम्बामा ल्याएर खुब सेवा गरिन्l कुरैकुरामा उनले सोधिन्, “तिमीले किन बिहे नगरेको ङ्ग्लो?”
“अब हामी भगवानको भक्त भएकाछौँl भक्तले गृहस्तीको कुरा गर्नुहुन्नl”
लामा हुनुअघि मनमा त कोहि बसेको थियो होला नि”, छिरिन्गले कर गरिन्l
कुङ्गाले खोच्याउँदै भने, “मैले मन पराएकोले मेरो भाइलाई रोज्योl भाइले उसको बहिनीलाई रोज्योl मनसँग कसको के लाग्छ ङ्ग्लोस्यो?”
(यो लघुकथा कथाकार नवराज न्यौपानेको लघुकथा ‘छिन्जोङको सपना’ पढेर त्यसको विनिर्माण (डिकन्स्ट्रक्सन) गरी लेखिएको हो ।)