सरकार गरिबले उपचार नपाएरै मर्ने ?
सुनिता थारु (२७) जतिबेला विस्तारामा लम्पसार परिरहन्छिन् । आफ्नै शरिर काबुमा छैन् उनको । अरु त परको कुरा, कोल्टे फेर्नलाई समेत श्रीमान् भागीरामले साहारा नपाएसम्म सक्दिनन् ।
पिठ्युँमा उनको गहिरो घाउ छ । त्यो भन्दा गहिरो घाउ त मनमा होला । व्यक्त गर्न पो नसकेकी । मलमपट्टी नपाएको घाउ घरघरी चर्हाउँछ । मन पनि त्यस्तै हुँदो हो ।
हट्टाकट्टा सुनिताको जिन्दगीको असार ११ गते कालो दिन सावित भयो । बर्दिया न्याउलापुर घर भई दुलेगौँडा बस्दै आएकी उनलाई डेरा नजिकै सवारीले ठोक्दिएपछि अशक्त बनेकी छन् । आर्थिक अभावमा गहिरो घाउलाई मलमपट्टी गर्न पनि मुस्किलै छ ।
ज्याला मजदुरीमा जाने श्रीमानको साहार बन्न आएकी उनी आफैलाई साहारा चाहिने अवस्थामा पुगेकी छिन् । सुनिताका श्रीमान् भागीराम ज्यालामजदुरी गर्छन् । विस्तारामा थलिएकी श्रीमतीको स्यहारा गर्ने की काममा जाने । केही गरी सुख छैन् उनलाई पनि । ‘घरमै स्यहार गरेर बसुँ भने दुर्घटनापछि उपचार गर्दाको ऋण तिर्न बाँकी छ । काममा जाऊ भने ओल्टापोल्टाइर्, दिशापिसाब गराउन आईरहनुपर्छ’, उनले सुनाए ।
उनका अनुसार दुर्घटनापछि सुनिताको उपचार गराउन पोखरा लगिएको थियो । पोखराको अस्पतालमा सम्भव नभएपछि थप उपचारका लागी काठमाडौँ पठाईयो । झण्डै दुई महिना उपचार गराएर डेरामा (दुलेगौँडा) फर्किएको उनले बताए । त्यतिबेला ठक्कर दिने सवारी पक्षले उपचारका लागी ३ लाख दिए । घर परिवार र आफन्तबाट त्यति नै ऋण काढे। काम गर्दै आएको ठेकदारसंग १ लाख । ठेकेदारको ऋण तिर्नलाई पनि विस्तारामा थला श्रीमतीलाई छाडेर काममा जाने गरेको उनले बताए । उनले भने, ‘ठेकेदारले नजिकै काम दिएर गएको हो । दिनमा ३÷४ पटक घरमा आएर उनको स्याहार गर्छु ।’
चिकित्सकले सुनिताको अप्रेसन गर्नुपर्छ भनेका छन् । अप्रेशन गरेपछि पनि निको हुने शतप्रतिशत ग्यारेण्टि त छैन् । तै पनि भागीरामलाई उपचार गराएपछि निको हुन्छ भन्ने विश्वास छ । ‘उपचार गर्न ५ लाख रुपैयाँ लाग्छ । पहिलेकै ऋण तिर्न बाँकी छ । अब फेरी पैसा कसरी जम्मा गर्ने ?, उनको प्रश्न छ ।
ठक्कर दिने सवारी चालकले ३ लाख रुपैयाँ भन्दा सुक्को नदिएको उनी बताउँछन् । दाताको सहयोग पाएर उपचार गराएको धेरै सुनेका उनले त्यस्तै मनकारी पाए आफ्नी जिवनसंगीनिको पनि उपचार गराउने मनमा झिनो आशा भागीरामसंग छ ।