अनियन्त्रित भीडले कोरोना बढ्ने जोखिम

दमौली खबर संवाददाता

साउन १२, दमौली । व्यास २ गणेशमान चोक स्थित रहेको सांग्रिला डेभलपमेन्ट बैंक लि. अगाडी ठूलो भिड थियो । जात्रा झै लाग्ने त्यो भिड सामाजिक सुरक्षा भत्ता लिन आउने जेष्ठ नागरिकको थियो । यस्तै प्रकृतिको भिड व्यास नगरपालिकाको सभाहलमा रहेको खोप केन्द्रमा पनि देखिन्थ्यो । कोरोना भाइरस विरुद्धको जोन्सन एन्ड जोन्सन खोप लगाउन छुट भएका लक्षित वर्गका व्यक्तिलाई नगरपालिकाको सभाहलमा खोप लगाईएको थियो । जहाँ ५० वर्ष माथिका हालसम्म एक मात्रा पनि खोप नपाएका नागरिक, खोप लगाउन छुट भएका सबै शिक्षकहरु, कर्मचारीहरु, स्वास्थ्यकर्मी र सरसफाईकर्मी, सार्वजनिक यातायातका चालक तथा सहचालक, अत्यावश्यक सेवामा संलग्न खोप लगाउन छुटेका व्यक्ति थिए ।

यी दुबै ठाँउ कोभिड संक्रमणको जोखिमयुक्त क्षेत्र थिए । जिल्ला कोभिड व्यवस्थापन समितिले वैशाख २२ गते देखि गरेको निषेधाज्ञा तनहँुमा अहिले सम्म पनि जारी छ । यस अवधिमा भिडभाड नगर्न भनिएको छ । भिडभाड भएका क्षेत्रमा सामाजिक दुरीको पूर्णरुपमा पालना गदै स्वास्थ्य मापदण्डको अपनाउन भनिएको छ । पसल,व्यवसायहरुलाई निश्चित समयमा खोल्न भनिएको छ । बैंकहरूलाई कार्यालयको समयमा तथा आफनो अनुकुल मिलाएर खोल्न दिइएको छ। तर, खोप केन्द्रमा र बैंकमा कोरोना संक्रमण फैलन नदिन न्यूनतम मापदण्डसमेत अपनाएको पाइँदैन । बैंकअगाडि सामाजिक सुरक्षा भत्ताका लागि लाम लागेका जेष्ठनागरिकहरुलाई व्यवस्थित गर्न बैंक कर्मचारीसमेत छैनन् । झण्डै ५०० मिटर पर रहेको जिल्ला प्रहरी कार्यालय तनहँुले समेत कुनै चासो देखिँदैन ।

एक दर्जन भन्दा बढी बैंकका शाखा रहेको दमौली बजारमा यसै पनि भिडभाड रहन्छ । ठूलो भिडमा भत्ता लिनको लागि लाईनमा थिए ऋषिङ ३ का ८२ वर्षीय धनबहादुर थापा । विहान ९ बजे आएका थापाले दिउँसो २ बजे बल्ल भत्ता बुझन पाए । उनले भने,‘पहिला पहिला वडामा आएर बैंकले भत्ता दिने गथ्यो । तर अहिले दुई घण्टा लगाएर हिडेर बैंकमा आउनु परेको छ ।’ बैंक बाहिर थेग्नै नसक्ने रहेको भिड, बैंक भित्र भने कर्मचारीले स्वास्थ्य सावधानी अपनाएका थिए । ‘ सबै वडा कार्यालयसँग समन्वय गरेर वडाबाटै भत्ता वितरण गर्ने गरेका थियो,’ बैंकका शाखा प्रबन्धक सन्तोष श्रेष्ठले भने, ‘पहिरोले बाटो अवरुद्ध भएपछि बैंकबाटै भत्ता वितरण गरेका छौं ।’ ऋषिङ गाँउपालिकाका २ र ३ नं वडाको सामाजिक सुरक्षा भत्ता सांग्रिला बैंकले वितरण गर्ने गरेको छ ।

त्यस्तै अन्य बैंकहरुले पनि जिल्लाका विभिन्न पालिकाका सामाजिक सुरक्षा भत्ता वितरण गदै आएको छ । खातामा भत्ता आएकै दिन पैसा निकाल्नपर्छ भन्नी सोचले बैंकहरुमा भिडभाड हुने गरेको बैंकर क्लब अफ तनहँुका सचिव सुदिप न्यौपाने बताउन्छन् । उनले भने,‘पालिकाले सबै जेष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता खातामा दायिला आफनो आवश्यकता हेरेर निकाल्न सकिन्छ । निकाल्नको लागि कुनै समयावधि तोकिएको हुदैन ।’ महालक्ष्मी बैंक लि. दमौली शाखाका प्रमुख समेत रहेका न्यौपानेले भने,‘खातामा भत्ता आएकै दिन निकाल्न पर्छ भन्ने सोच जेष्ठ नागरिकमा छ ।

त्यो सोच हामीले हटाउन सकेमा यस्तो भिडभाड हुदैन । ’ त्यस्तै नगरपालिकाको खोप केन्द्रमा महिला पुरुषलाई छुटाछुटै लाईनमा लागि खोप लगाईएको थियो । तर स्वास्थ्य मापदण्ड बिना नै लाइनमा उभिँदा कोरोनाको झनै जोखिम बढ्ने आँकलन धेरैले गरेका थिए । लामो समय लाइन बसेर ३ घन्टापछि बल्ल पालो आएको व्यास २ का विष्णु श्रेष्ठले नगरपालिकाले लाइन व्यवस्थित बनाउन नसकेको उनको गुनासो थियो । लाइन बसेर भित्र गएपछि भित्र खोप लाउने काम एकै छिनमा हुने उनको भनाइ थियो । ‘बाहिर त्यत्रो बेर लाइन बसियो, खुट्टा दुखेर हैरानै भए,’ उनले भने, ‘भित्र गएपछि त सेकेन्ड मै काम सकियो ।’

एक सेकेन्ड पनि नलाग्ने काममा नगरपालिकाले जनता भुलाउने काम गरेको उनको आरोप थियो । लामो समयको पर्खाइपछि खोप लाएर बाहिरिएका खेमबहादुर गुरुङ भने खुसी देखिन्थे । बिहानैदेखि लाइन बसेर लगाएका खोपले कोरोना जित्नेमा उनी थिए । तर त्यहाँको अवस्था र नगरपालिको व्यवस्थापनमा भने उनको ठूलो गुनासो थियो । व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जनताको खोप प्रतिको मोहले भएको भीडभाड थेप्न गाह्रो परेको बताउँछन् । उनले भने, ‘जनताको खोप प्रतिको मोह पनि हो, सबैतिरबाट लगाउनुपर्छ भन्ने पनि भयो।’

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button