बच्चाको पोषण थाहा पाउन नियमित तौल

दमौली खबर सम्बाददाता
माघ १३, दमौली । दमौली अस्पतालमा बच्चाको पोषण थाहा पाउन बच्चाको नियमित तौल लिने गरिएको छ । दमौली अस्पतालमा बच्चाको तौल लिन आमा र स्वास्थ्यकर्मीलाई भ्याई नभ्याई हुन्छ । साप्ताहिक रुपमा खोप लगाउन आमाहरु बच्चासहित अस्पताल पुग्ने गर्छन् ।
त्यही समयमा खोप लगाउने र तौल लिने दुवै काम गर्ने गरिन्छ ।तर, बच्चाको तौल लिने कार्य खोप लगाउने बेला मात्रै नभएर अन्य बेलामा समेत लिनुपर्ने हो । व्यास ७ वैरेनी की रिम दरैले आफनोे बच्चाको तौल अस्पतालमा आएको बेलामा मात्र लिने गरेको बताईन् ।
महिनामा एक पटक उनले बच्चाको तौल लिने गर्छिन् । तर, अस्पताल आउदा मात्रै उहाँले बच्चाको तौल लिने गरेकी हुन ।‘अस्पताल आउँदा मात्रै तौल लिन्छु । खोप लगाउँदा अस्पताल आउने हो’उनले भनिन् –‘तौल लिएपछि बच्चा कति किलो पुग्यो भनेर थाहा हुन्छ ।’ बच्चाको तौल लिँदा प्राप्त हुने सूचनाको आधारमा पोषणको स्थिति थाहा पाउन सकिन्छ । तर, सबै आमाहरुलाई यस बारेमा जानकारी छैन ।‘खै के बताउँ ।
बच्चाको तौल बढेपछि खुशी लाग्छ त्यही हो’कुमालले भनिन्–‘अरु के हुन्छ मलाई थाहा छैन ।’ हरेक महिना बच्चाको तौल लिनुपर्ने हुन्छ । यसरी तौलिँदा बच्चाको स्वास्थ्य अवस्था बारे आमालाई समयमै सूचना हुने व्यास ११ की सीता सारुको भनाई छ ।
‘बच्चाको तौलको आधारमा उसको अवस्था थाहा हुन्छ’ भवि दरैले भने खोप लगाउने बाहेक अन्य समयमा पनि बच्चाको तौल लिने गरेकी छिन् ।‘बच्चाको उमेर बढ्दै जाँदा तौल पनि बढ्दै जानुपर्ने हुन्छ । त्यो थाहा पाउन अस्पताल आउँदा होस या बजार पुग्दा बच्चाको तौल लिने गर्छु’उनले भनिन्–‘बच्चाको उमेर अनुसार तौल बढ्दा आमालाई पनि खुशी लाग्छ ।’
बाल स्वास्थ्य कार्डमा बच्चाको उमेर अनुसारको बृद्धि अनुगमन चार्ट रहेको हुन्छ । सोही चार्टमा हरेक महिना जाँच गरिने बच्चाको उमेर अनुसारको तौल ग्राफमा टिप्ने काम गरिन्छ । यसरी बच्चाको तौल लिँदा पोषणको अवस्था सहजै थाहा पाइने दमौली अस्पतालमा कार्यरत माया खड्काले बताइन् ।
‘उमेर अनुसार बृद्धि अनुगमन चार्टलाई विश्लेषण गर्दा ग्राफ रातो र पहेंलोमा गयो भने खतरा हुन्छ । पोषणको अवस्था बिग्रेको भन्ने थाहा हुन्छ । हरियोमा हुँदा पोषणको अवस्था ठीक छ भन्ने सूचना दिन्छ’उनले भनिन् –‘पोषणको अवस्था थाहा पाउनको लागि तौल लिनुपर्ने अति जरुरी
हुन्छ । तौल सँगै फित्ताले हातको साइज नाप्ने गरिन्छ ।’
बच्चाको सहि तौल लिने कार्य चुनौती पनि छ । नियमित रुपमा आमाहरुले बच्चालाई तौल लिन स्वास्थ्य संस्थामा नलैजाँदा बच्चाको सहि तौल नआउने समस्या छ । तर, यो समस्या समाधान गर्न नियमित रुपमा तौल लिने गर्नुपर्ने सल्लाह स्वास्थ्यकर्मीको छ । ‘
खोप लगाउन आउँदा मात्रै बच्चाको तौल लिने
होइन । अन्य बेलामा पनि तौल लिनुपर्छ’उनले भनिन् – ‘२४ महिना सम्म नियमित रुपमा तौल लिनुपर्छ । कतिपय आमाहरुले तौल लिन आउनै छाड्नुहुन्छ । यसो गर्दा पोषणको बारेमा थाहा पाउन गाह्रो हुन्छ ।’ उमेर अनुसार बच्चाको तौल पनि बढ्दै जानुपर्ने
हुन्छ ।
तर, बच्चाको उमेर बढ्दै जाने, तौल घट्दै जाने समस्याले बच्चामा पोषणको मात्रा कमि भएको सूचना दिएको हो । त्यही भएर नियमित रुपमा बच्चाको तौल लिने र केही समस्या देखिए स्वास्थ्यकर्मीसगँ सर–सल्लाह लिएर उपचारको लागि अघि बढ्नुपर्ने सल्लाह स्वास्थ्यकर्मीको
छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button