छिन्जोङको सपना

लघुकथा
छिन्जोङको सपना
नवराज न्यौपाने ‘मौन’

सधैंं हंसमुख र प्रफुल्ल मुद्रामा प्रस्तुत हुने छिरिङ छिन्जोङ आज दिनभर भोटेपीपलको फेदमा बसेर रोइरही । उसलाई बाल्यकालमा बाहेक अन्य बेला यसरी रोएको कसैले देखेका थिएनन् । उसलाई आफ्नो सुन्दर संसार भत्के झैं लाग्यो । असंख्य चाहनाहरु र अनन्त रहर साँचेर ऊ छ वर्षसम्म नाम्ग्याललाई कुरेर बसेकी थिई । किनभने फुपूको छोरा नाम्ग्यालले हङकङ जाने बेलामा भनेको थियो – ‘ छिन्जोङ, म अहिले तिमीलाई लान नसके पनि पछि आएर सँगै लानेछु । कसैसँग नजाउ है ! बरु म आउनु अगाडि नै नागरिकता र पासपोर्ट बनाएर राख ।’
नाम्ग्यालको यही बचनले गर्दा ऊ छ वर्षसम्म उसलाई कुरेर बसेकी थिई । हङकङमा गएर होटेल खोलेर बस्ने चाहना पालेर उसले समयमा नै नागरिकता र पासपोर्ट बनाएर राखेकी थिई । तर समय बदलिए जस्तै नाम्ग्यालको मन पनि बदलिएला भनेर उसले रत्तिभर पनि सोचेकी थिईन ।
छ वर्षपछि फर्केको नाम्ग्यालले उसलाई लानुको साटो उसकी बहिनी कार्चुङलाई पो लिएर गयो । ‘ममा केको कमी थियो र उसले बहिनी कार्चुङलाई मन पराएको होला ? ‘ यस्तै सोचेर ऊ साँझ परुञ्जेलसम्म भोटेपीपलको फेदमा बसेर टोलाईरही । साथीसङ्गी आएर उसलाई सम्झाइबुझाई गरेर घर पुर्‍याए ।
यो छ वर्षको अवधिमा उसलाई कैयन केटाहरुले आँखा लगाएका थिए । तर उसले नाम्ग्याललाई सम्झेर सबैका प्रस्ताव अस्वीकार गरिरही । तीनजना केटाहरुले तितीनपटक तानेर लगेका पनि थिए । तर तीन दिनसम्म पनि उसले मञ्जुरी नजनाएपछि परम्परा अनुसार ससम्मान उसलाई फिर्ता गरिदिएका थिए । अनि खिङ्गामा होटेल चलाएर बसेकी थिई । उसलाई मन पर्ने नाम्ग्याल ऊबाट टाढिएपछि उसको स्वभावमा पनि परिवर्तन आयो ।
ऊ एकोहोरी जस्ती देखिन थाली । आमा बितिसकेकी थिइन , बाबु चौंरी गोठमा बस्ने गर्थे भने दाइ थाइल्याण्डमा बस्थे । घरमा दुई दिदीबहिनी मात्रा थिए । अब ऊ एक्लीजस्तै भई । साथीहरुले कर गरेर उसलाई छ्याङ खुवाइदिए । त्यसपछि उसले धाराप्रवाहमा आफ्नो दु:ख पोखी ।
एकछिनपछि नाम्ग्यालको दाइ कुङ्गा आइपुग्यो । साथीहरुले कुङ्गालाई सम्झाइदिनु भनेर घर गए । कुङ्गाले ‘खाना पकाइदिउँ कि ?’ भनेर सोध्यो । रुदारुदा सुन्निएका आँखा देखेर कुङ्गाले अलिकति छ्याङ पिउन कर गर्‍यो । छिन्जोङले कुङ्गासित भनी ‘ कुङ्गा ,अब म एक्लै यो घरमा कसरी बसूँ ?’ कुङ्गाले लठेब्रो स्वरमा भन्यो -‘ झुमा गुम्बामा कति झुमाहरु एक्लै बसेका छन् । बुद्धको ध्यान गरेर बस्यो भने एक्लोपन सबै बिर्सिन्छ । म एक्लै जसरी लामा भएर बसेको छु ,त्यसरी नै तिमी झुमा भएर एक्लै बस्न सक्छ्यौ ।’ ‘ त्यो त हो नि!’ भन्दै उसले फेरि १ कप छ्याङ थपी । अब मनमा अलिअलि खुशीको सञ्चार भएजस्तो भयो । कुङ्गाले टुङ्ना बजाउन थाल्यो । टुङ्नाको धुन सुन्दासुन्दै निदाई ।
बाहिर फुर्फुर हिउँ परिरहेको थियो । छिन्जोङ निदाएपछि भित्रबाट ढोका बन्द गरिदिएर कुङ्गा छ्तबाट आफ्नो घरतिर लाग्यो । कुङ्गाले पनि सोच्यो कि लामा र झुमाको भगवान बाहेक अर्को मिल्ने साथी नहुने रहेछ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button