व्यास नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धि गर्ने
दमौली खबर संवाददाता
दमौली, भदौ ८ गते । व्यास नगरपालिकाले कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धि गर्ने भएको छ । यसको लागि नगरपालकाले गण्डकी प्रदेश सरकार समक्ष नवप्रवर्तनीय कार्यक्रम र कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रस्ताव पेश गर्ने भएको छ ।
नगरप्रमुख बैकुण्ठ न्यौपानको अध्यक्षतामा शुक्रबार बसेको कार्यपालिका बैठकले नवप्रवर्तनीय कार्यक्रम र कृषि क्षेत्रको प्रबद्र्धन, बजारीकरण, रोजगारी अभिबृद्धी गर्ने क्षेत्रमा नगरपालिकाको तर्फबाट प्रस्ताव पेश गर्ने निर्णय गरेको हो । कार्यपालिका बैठकले चालु आर्थिक वर्षमा वडागत, नगरस्तरीय, प्रदेश सरकार, संघ सरकारबाट तय भएका योजनाहरु उपभोक्ता समितिबाट गर्ने वा टेण्डर प्रकृयाबाट गर्ने विषयमा वडागत प्रतिवेदनहरुको समिक्षा गरी सम्बन्धित शाखालाई योजनाहरु कार्यान्वयन गर्न निर्देशन दिएको छ । नगर क्षेत्रको फोहोरमैला व्यवस्थापनका लागि नगरपालिकाका जनप्रतिनिधि, सम्भावित क्षेत्रका टोल संस्थाका अध्यक्ष एवं प्रतिनिधि सहित गत भाद्र ३० गते वालिङ नगरपालिका सरसफाई केन्द्रको अध्ययन भ्रमणका विषय बैठकमा जानकारी गराइएको थियो । सरसफाई केन्द्र तत्काल प्रारम्भ गर्न प्रस्तावित जग्गाहरुका स्थानीय सरोकारवालाहरुसँग समन्वय गरी प्रकृया अघि बढाउन सरसफाई व्यवस्थापन समितिलाई जिम्मा दिने निर्णय बैठकले गरेको प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालले जानकारी दिनुभयो ।
यस्तै, बैठकले नगरपालिका भित्र हुने चालु खर्चको पुनरावलोकन गरी आगामि बैठकमा राय सुझाब पेश गर्न उप–प्रमुख इन्दिरा दरैको संयोजकत्वमा रमेशचन्द्र हडखले, मन बहादुर गुरुङ, रनसिं नेपाली सदस्य र प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिला सदस्य सचिव रहने गरी समिति गठन गरेको छ । बैठकले २०७९ सालको वडादशैं, शुभ दिपावली, नेपाल संम्वत, छठ पर्वमा सम्पुर्ण नगरवासी दाजुभाई, दिदीबहिनिहरुमा शुभकामना व्यक्त गर्दै असोज १५ गते शनिबार नगरपालिकामा नगर स्तरीय शुभकामना आदान प्रदान गर्ने निर्णय गरेको छ । चाडपर्वको सन्दर्भमा नगरस्तरीय, वडास्तरीय बजार अनुगमन गर्ने र खसी, बोका लगायतका दशैं, तिहार लक्षित अस्थायी बजार व्यवस्थापन गर्न सम्बन्धित वडालाई जिम्मा दिने बैठकले निर्णय गरेको नगरपालिका प्रवत्ता जीवन गुरुङद्धारा जारी विज्ञप्तीमा जनाईएको छ ।