शेर्पागाउँ र स्निग्ध सौन्दर्य

संस्मरण
शेर्पागाउँ र स्निग्ध सौन्दर्य

-नवराज न्यौपाने ‘मौन’

रसुवा जिल्लाको साविक व्रिद्धिम गाविस वडा नम्बर सातमा पर्ने शेर्पागाउँ एउटा सुन्दर तामाङबस्ती हो । जम्माजम्मी २०-२५ घर रहेको यो गाउँ समुद्री सतहबाट २५६० मीटरको उचाइमा अवस्थित छ । बुढापाकाको भनाइ अनुसार पहिले यो गाउँमा पहिले पूर्वतिरको शेर्पा आएर बस्ती बसालेको थियो रे । शेर्पाले बस्ती बसालेकोले गाउँको नाम शेर्पागाउँ रहन गयो । हो, यही गाउँमा मैले ट्रसब्रिज निर्माणको क्रमामा २०७१ साल जेठ र असारमा गरी एक महिना समय बिताएको थिएँ ।
रसुवाको स्याफ्रुबेसीबाट खाम्जिङ सुर्का हुँदै ४ घण्टा उकालो र एक घण्टा तेर्सो बाटो पैदल हिंडेपछि बल्ल शेर्पागाउँ पुगिन्छ । लाङ्टाङ क्यान्जिङ जाने पर्यटकहरु खोलाको बाटो गएर फर्कँदा यही गाउँको बाटो फर्किदा रहेछन् । अनि कोही खाम्जिङबाट व्रिद्दिम हुँदै खैदी निस्केर टिमुरे घट्टेखोला झर्दा रहेछन् । कोही भने खाम्जिङ्बाट स्याफ्रुबेसी झरेर गत्लाङ थम्बुचेत हुँदै नागथली र थुमनतिर लादा रहेछन् । त्यस्तै ,कोही भने यो बाटो लाङ्टाङ गएर खोलाको बाटो फर्कने पनि हुँदा रहेछन् ।
शेर्पागाउँबाट २०-२५ मिनेटको दूरीमा रहेको लुम्बुखोलामा ३२ मीटर स्पानको ट्रसब्रिज निर्माण हुँदै थियो । निर्माण मजदूरहरु खोला छेउको पाखामा क्याम्प बनाएर बसेका थिए । म भने होटलमा बसेको थिएँ । बिहान सबेरै उठेर खोलामा जाने र दिनभरी सामान छुट्ट्याउने तथा निर्देशन दिने र लेभल हेर्ने काम हुन्थ्यो । यस्तो खालको पुल नबनाएका कुल्ली मिस्त्री भएकोले मेरो सकृयता झनै बढ्न पुगेको थियो । तर इन्जिनीयरको निर्देशनमा हामी पुल बनाउन सक्छौं भन्ने उनीहरुको आत्मविश्वास थियो । योजनास्थल अत्यन्त कठिन भिरपहरामा भएकोले र खोल्सो गहिरो भएकोले जडान कार्य सकसपूर्ण र खतरायुक्त थियो । तर कठिन निर्माण कार्यमा २० वर्ष विताएको मलाई खासै दु:खको अनुभव भने भएन ।
साझमा मेरा साथी भनेका होटल साहुको बुवा र फ्रान्सेली नागरिक जेभिएर थिए । जेभिएर कुनै संस्थामार्फत अध्ययन अनुसन्धान र सर्भेक्षण गर्न ३ वर्षको लागि यहाँ बसेको रहेछ । बुढाबा आफ्नो जवानीका दिनका तीतामीठा सम्झना सुनाउथे भने जेभियर आफ्नो नेपालयात्रााको काहानी सुनाउथें । आगो बलेको चुलो वरिपरि बसेर हामी दिनहुँ गफिन्थौं ।
जुनेली रातमा सोलारियम डाइनिङ हलमा बसेर मैले धेरै ठाउँमा लेख रचनाहरु लेख्ने गरेको थिएँ । तर शेर्पागाउमा त्यस्ता होटलहरु छैनन् । हामी नेपाली सानो होटलमा बस्ने मान्छे । हामी नेपालीलाई मेनुको मूल्य पनि लागू हुँदैन । अर्थात हामी नेपालीहरु स्थानीय दररेटमा खान बस्न पाउछौं ।
यो ठाउँमा भरिया र निर्माण मजदूर भनेका रसुवाका भोर्ले सरमथलीतिरका धेरै रहेछन् । म जस्तै धेरै नेपालीहरु साइनबोर्ड नभएका होटलमा बस्न मन पराउदा रहेछन् ।
शेर्पागाउँको धारामा पानी असाध्यै चिसो थियो । हात नै झन्झनाउने । हातमुख धुन र नुहाउन त तातो पानी नै प्रयोग गर्नुपर्ने । बाह्रै महिना सुइटर ज्याकेट लगाइरहनु पर्ने । साँझ विहानको हावा निकै चिसो हुने । तर ५ हजार ५ सय मीटरको उचाइसम्म काम गरिसकेको मलाई चिसो सहन सक्ने बानी परिसकेको थियो । यो शेर्पागाउँमा केही वर्षअघि मात्र हाम्रो अफिसले घर घरमा सोलार प्यानल जडान गरिदिएको थियो । र ,गत वर्ष मात्र छ धारा सहितको खानेपानी योजना सम्पन्न गरेको थियो । त्यसैले गाउलेहरु बिकासको निम्ति खटिएर आउने कर्मचारीहरुलाई सम्मानको दृष्‍टिले हेर्ने गर्दथे ।
होटलका बुढाबा बेलाबेलामा खेतबारी र चौंरीओठमा जाने गर्द्थे । जेभिएर तथ्याङ्क संकलन गर्ने रिमिचे र स्याफ्रुबेसी जाने गर्थे । मलाई पनि बेला बेलामा छिमेकी गाउँबाट योजना हेरिदिन बोलाउन आउँथे । र १-२ दिनको लागि म पनि अन्य गाउँ जाने गर्थें । त्यो बेला म माथिल्लो होटलमा गफ गर्न जान्थें । रामेछाप स्थायी घर भएका टीका बहादुर नेवार ट्रेकिङ हिड्दा शेर्पागाउँकी तमाङ युवतीको प्रममा परेछन् र बिहे गरेर यतै घरजम हरी होटल खोलेर बसेका रहेछन् । पछि घुँडाको क्यान्सर भएर एउटा गोडा नै काट्नु परेको रहेछ । उनका होटलमा बस्न आएका मनकारी विदेशी पर्यटकको सहयोगमा छोराछोरीलाई काठमाडौं बोर्डिङमा पढाएका रहेछ्न् । म बसेको होटलमा भने बुढा लामा पढेका र बुढी काठमाडौंको बोर्डिङमा पढेकी रहिछन् । उनीहरुको ३-४ वर्षको छोरा थियो ।
२०६७ असारमा म रसुवा जाँदा रसुवामा असिस्टेन्ट सब इन्जिनीयर सरोज केसी पनि सँगै थिए । त्यसैले महत्वपूर्ण र जरुरी काम बाहेकका सानातिना काममा म जानु पर्दैनथ्यो । तर दुई वर्षाछिन उनी बढुवा भएर मुगू गएपछि दरबन्दी स्वत: खारेज भयो । त्यसपछि म एक्लो भएँ र सबै ठाउँमा (लाङ्टाङ ,व्रिद्दिम ,थुमन ,चिलिमे ,टिमुरे , गोल्जुङ ,गतलाङ र हाकु गरी ८ गाविस) म आँफैं जानुपर्ने भयो । वैशाखदेखि असारसम्म अफिस र फिल्ड कुद्दैमा समय कटेर जान्थ्यो ।
लुम्बुखोला ट्रसब्रिजको सर्वेक्षण म आँफैंले गरेको थिएँ । त्यो बेला शेर्पागाउँमा एउटी व्रिद्ध महिलाको निधन भएको रहेछ । खाम्जिङ ,सुर्का र रिमिचेका मान्छे पनि जम्मा भएका थिए । समय मिलाएर मैले सर्भे गरेको थिएँ । पछि निर्माण कार्यको लागि पनि म आँफैँ आउनु पर्ने भयो । कालिकोटदेखि संखुवासभाका हिमाली भेगहरुमा कठीन यात्रा गरिसकेको मलाई रसुवाको यात्रा त्यति कष्टकर नलाग्नुपर्ने हो । तर मेरो स्वास्थ्यामा भने अस्वभाविक परिवर्तन आउन थाल्यो । पाँच फीट ३ इन्चको होचो कदको मान्छे म । तर तौल भने बढेर ८७ केजी पुगेको थियो । त्यसैले मलाई उकालो र ओरालो हिंड्न निकै गाह्रो हुने र दम बढेर आउथ्यो । सधैंको यात्रा गर्नुपर्दा जिउ सुन्निएर आउथ्यो । हिमाल ,पहाड ,खोला ,खर्क आदि हेर्दा विगतको जस्तो फुर्तिलो र स्लीम जिउडालको याद झल्झली आइरहन्थ्यो । साइटमा कुनै दुर्घटना नहोस् भनी सचेत भएर काम गरिन्थ्यो । शेर्पागाउँमा होटल बनाउने काममा खटिएका एक डकर्मी सामान्य टाउको दुखेर एकछिन आराम गर्दा तत्काल बितेछन् । अनि सबै श्रमिक र होटल मालिक समेत भएर लाश बोकेर स्याफ्रुबेसी झरे । उनी पनि भोर्लेका रहेछन् । बडो नमज्जा लाग्यो । भगवानको कृपाले गर्दा मेरो जीवनमा कतै पनि मेरो जिम्मामा रहेको काममा दुघटना भएन । २० वर्ष फिल्ड हिड्दा स्वास्थ्यप्रति उत्तिकै सचेत र जोखिमपूर्ण काममा उत्तिकै सचेत भएर हिडियो । तौल् अस्वभविक रुपमा बढेपछि योगा ध्यान गर्दै शाकाहारी बन्न पुगें म । असारको अन्त्यमा निर्माण कार्य सम्पन्न गरेर म धुन्चे आएँ । केही समयपछि दशैं अघि नै मेरो केन्द्रमा सरुवा भयो । यसरी शेर्पागाउँको उक्त पुल मैले बनाएको अन्तिम पुल बनेर सम्झनामा रहिरहने छ । पछि संघीयता लागू भएपछि दुर्गम क्षेत्र बिकास समिति खारेज भएर गयो तर ‘दुक्षेविस बाट निर्मित’ भनेर लेखिएका अक्षरहरु पुल,धारा तथा विद्युतगृहका भित्तामा लेखिएका अक्षरहरु कहिल्यै मेटिने छैनन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button