इशानेश्वर माहादेव करापुटारमा १५सय भन्दा बढी ठाडो बत्ती बाल्ने भक्तजन

दमाली खबर संवाददाता
फागुन १०

लमजुङको ईशानेश्वर(सन्तानेश्वर) महादेव मन्दिरमा भक्तजनहरुको घुइँचो लागेको छ । महाशिवरात्रि पर्वका अवसरमा मन्दिरमा शुक्रबार दर्शनार्थीको ठूलो घुइँचो लागेको मन्दिर क्षेत्र विकास समितिले जनाएको छ ।
प्रत्येक वर्ष महाशिवरात्रि पर्वका अवसरमा यस मन्दिरमा देशका विभिन्न भागबाट दर्शनार्थी आउने गरेको मन्दिर क्षेत्र विकास समितिका अध्यक्ष रामचन्द्र घिमिरेले बताए । उनका अनुसार शिवरात्रीमा ठाडो बत्ती बाले सन्तान प्राप्ति हुने विश्वासका साथ भक्तजनहरु यहाँ आउने गर्छन् ।

मध्यनेपाल नगरपालिका ७ करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिरमा शिवरात्रीका दिन भक्तालुहरुको निकै ठुलो भिड लाग्ने मन्दिरमा पर्दछ । अघिल्लो वर्षको तुलनामा यस वर्ष भक्तजनको संख्या धेरै रहेको समितिले जनाएको छ । मन्दिरमा बिहानदेखि नै शिवको पूजा आराधना गर्ने र दर्शन गर्नेको घुइँचो लागेको हो । मन्दिरमा दर्शका लागि लम्जुङका विभिन्न भेगबाट, पोखरा, चितवन, तनहुँ, पर्वत, स्याङजा, बाग्लुङ, नवलपरासी लगायतका विभिन्न जिल्लाबाट भक्तजनहरु आएका छन् ।

मन्दिर वरपर मदिरा र मासुजन्य परिकार बेचबिखनमा रोक लगाइएको मध्यनेपाल नगरपालिकाका मेयर रमेशकुमार पाण्डेले बताए ।ईशानेश्वर महादेवको वरदानपछि सन्तान प्राप्ति भएपछि मन्दिरमा आई महादेवलाई सन्तान देखाउनेहरु पनि थुप्रै भेटिन्छन् ।

विवाह भएको लामो समयसम्म सन्तान नभएका जोडीहरुका साथै अन्य मनोकामना पनि पुरा हुने विश्वासले शिवरात्रीमा ठाडो बत्ती बाल्न धेरै भक्तजनहरु मन्दिरसम्म आउने गरेको करापुटार महादेव क्षेत्र विकास समितिले जनाएको छ । सन्तान प्राप्तिको आशका साथै मनोकाङ्क्षा पुरा हुने भएकाले ठाडो बत्ती बाल्न चितवनकी सरिता थापा पनि लमजुङको करापुटार आएको बताइन ।

इशानेश्वर महादेव क्षेत्र विकास समितिका घिमिरेका अनुसार गएको वर्ष इशानेश्वर महादेव मन्दिरमा १ हजार २ सयले ठाडो बत्ती बालेका थिए भने यसवर्ष १५ सय बढीले ठाडो बत्ती बालेका छन्।करिब ६ सय वर्ष अघि मन्दिरको निर्माण भएको स्थानीय बासिन्दा बताउँछन् ।

प्राचिनकालमा हरिनारायण पोखरेलद्वारा बीउ राख्न गोरु जोत्दा शिवलिङ्ग जोतिन गई रगत बग्न थालेको र हल गोरुसहित हलीको मृत्यु भई सो ठाउँमा शिवलिङ्ग उत्पत्ति भएको किंवदन्ती रहेको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button