सभाहल अपाङ्गमैत्री नबन्नु विडम्बना

दमौली खबर संवाददाता

तनहुँको सदरमुकाम दमौलीस्थित निर्माणाधीन सभाहल पहुँचयुक्त तथा अपांगतामैत्री नहुनु विडम्बना हो । राज्यको लगानीमा निर्माण भईरहेको हल मानवमैत्री नहुनु भनेको लाजमर्दो कुरा । यस सभाहलाई लिएर सरोकारवालाहरुले आन्दोलन गर्न थालेपछि चर्चामा आएको छ । राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका सभापति प्रकाश पन्थले समेत खेद प्रकट गरिसक्नु भएको छ । सभापति पन्थले आईतबार एक प्रेस विज्ञप्ती प्रकाशित गरि अपाङ्गमैत्री नभएकोमा गम्भीर चासो र ध्यानाकर्षण भएको बताउनु भएको छ । सांसद पन्थले नेपाल सरकारले २०६९ सालमै अपाङगता भएका व्यक्तिका लागि पहुँचयुक्त भौतिक संरचना तथा सञ्चार सेवा निर्देशिका जारी गरिसकेको र सबैका लागि पहुँचयुक्त भौतिक संरचना निर्माणका सम्बन्धमा व्यापक जनचेतना भइरहेको सन्दर्भमा, अझै पनि मानव निर्मित सार्वजनिक भौतिक संरचनाहरु पहुँचयुक्त मापदण्ड र भवन निर्माण आचारसंहिता अनुरुप डिजाइन र निर्माण नहुनु अत्यन्तै दुखद भएको उल्लेख गर्दै यस सम्बन्धमा सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछु भनि विज्ञप्तीमा जनाउनु भएको छ ।

सांसद पन्थले भन्नु भएको छ, ‘‘मलाई विश्वास थियो कि तनहुँ दमौलीस्थित सरोकारवाला र अधिकारवादी साथीहरुले समयमै आवश्यक ध्यानदृष्टि दिनु भएकै होला, अपांगताको सवालमा समयमै हस्तक्षेप गर्ने र अधिकारको सवालमा खरो उत्रने अपांगता अधिकारकर्मी साथीहरु समेत आफ्नै नजर अगाडि चुक्नु भएको महसुस भएको छ ।’’ यसतर्फ अपांगता अधिकारकर्मी, सरोकारवाला लगायत हामी सबैको समयमै ध्यान नपुगेकै उहाँले जनाउनु भएको छ । तनहुँ दमौलीस्थित सभाहल सबैका लागि पहुँचयुक्त र अपांगतामैत्री बनाउन सरकारसँग जोडदार माग गर्दछु भनि भनिएको छ जुन कुरा जायज छ । यस विषयलाई सहहृदय मञ्च र अपाङगता भएकाहरुको संघर्ष समितिले पहिले नै विरोध गरिसकेको छ । यस सवाललाई जिम्मेवारी र गम्भीरतापूर्वक लिँदै समस्या समाधान र सुधार गर्न ढिलो गर्नु हुँदैन । राष्ट्रिय अपाङ्ग महासङ्घद्धारा पनि यसको विरोध गरिसकेको छ ।

Show More

Related Articles

Check Also
Close
Back to top button