तनहुँमा घरेलु हिंसा सम्बन्धी उजुरी बढे

दमौली खबर संवाददाता
तनहुँ, पुस ५ गते । प्राप्त तथ्याङ्कले तनहुँमा घरेलु हिंसा बढ्दै गएको पाईएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँमा यस सम्बन्धि उजुरीहरु बढ्दै गएको तथ्याङ्कमा देखिएको छ ।
तनहुँ प्रहरीमा चालु आर्थिक वर्षको पाँच महिनामा घरेलु हिंसा सम्बन्धी दुई सय ६७ वटा ठाडो उजुरीहरु दर्ता भएका छन् । सो सङ्ख्या मध्ये ४१ वटा सामाजिक हिंसाको उजुरी रहेको छ । कुल दर्ता भएका उजुरीहरु मध्ये एक सय ७७ वटाको मिलापत्र भएको, ६० वटा फछ्र्यौट हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय तनहुँको महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र (महिला सेल)ले जनाएको छ । साउनदेखि पुस मसान्तसम्म शारीरिक यातना (कुटपिट), मानसिक यातना (वास्ता नगरेको तथा गाली गलौज), आर्थिक यातना (खान लाउन नदिएको), यौनजन्य यातना, श्रीमान पीडित भएको (श्रीमती परपुरुषको सम्बन्ध तथा घर छाडी हिड्ने गरेको), स्थानीयसँग झै झगडा र गालीगलौज सम्बन्धी ती ठाडो उजुरीहरु दर्ता भएको महिला सेलकी निमिक्त प्रमुख एवं प्रहरी हवल्दार सुजता कार्कीले जानकारी दिनुभयो  ।
     महिला, बालबालिका र जेष्ठ नागरिक सम्बन्धी परेका ठाडो उजुरी उपर सम्बन्धित पक्षहरुलाई छलफल गराई समाधान निकाल्ने गरिएको छ ।
सकभर सबै समस्याको समाधान त्यही गर्ने गरी दुवै पक्षलाई उपस्थित गराई  जीत जीतको वातावरण तयार गर्न मिलापत्र गर्ने  गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रमुख राजेन्द्रबाबु रेग्मी बताउनुहुन्छ । उक्त केन्द्रबाट समाधान हुन नसकेका उजुरी मात्रै अदालती प्रक्रियामा जाने गरेको उहाँले बताउनुभयो  ।
 उजुरी मध्ये अधिकांश पुरुषबाट पीडित हुनु परेको आउने गरेको रेग्मी बताउनुहुन्छ । मादक पद्धार्थ सेवन घरी धम्काउने, कुट्ने हिंसा सहनु हुँदैन भन्ने सचेतना बढेकाले पनि घरेलु हिंसामा पर्ने उजरी दिने क्रम बढेको उहाँले बताउनुभयो । हिंसा बढ्नु समाजको लागि राम्रो सन्देश हैन होइन तर उजुरीको दर्ता भएको सङ्ख्यालाई बढेको मान्नु भन्दा पनि सचेतना, जागरणले गर्दा उजुरी गर्नेको सङ्ख्या वृद्धि भएको  पाईएको छ’ प्रहरी प्रमुख रेग्मीले  भन्नुभयो । समाज शिक्षित, जागरुक हुँदै जाँदा हिंसा कम हुनु पर्ने तर नैतिक तथा आध्यामिक शिक्षाको कमि भएकोले बढेको उहाँ बताउनुहुन्छ  ।
 आर्थिक वर्ष २०७७÷०७८ मा घरेलु हिंसा सम्बन्धी २ सय ११ वटा ठाडो उजुरी दर्ता भएकोमा १ सय ६७ वटाको मिलापत्र गरिएको, ३८ वटा अदालती प्रक्रियामा गएको र ६ वटा फछ्र्यौट हुन बाँकी रहेको थियो । त्यस्तै आर्थिक वर्ष २०७५/०७६ मा कूल दर्ता भएका २ सय ८६ वटा उजुरीमध्ये २ सय ३५ वटाको मिलापत्र भएको, ५१ वटा अदालती प्रक्रियामा गएको, आर्थिक वर्ष २०७६÷०७७ मा २ सय ११ वटा उजुरी दर्ता भएकोमा १ सय ७३ वटाको मिलापत्र भएको, ३८ वटा अदालती प्रक्रियामा गएको सो केन्द्रको तथ्याङ्कले देखाएको छ । यस तथ्याङ्कबाट पारिवारिक विखण्डन बढ्दै गएको पाईएको प्रहरी प्रमुख रेग्मी बताउनुहुन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button