तनहुँमा चार हजार भन्दा बढीमा डेङ्गुको सङ्क्रमण, चार जनाको मृत्यु

 

दमौली खबर सम्वाददाता

तनहुँ, असोज २१  गते

तनहुँमा डेंगु रोग बिरुद्ध अभियान सञ्चालन गरिएको भएपनि नियन्त्रणमा आउन सकिएको छैन । डेङ्गुको प्रकोप बढ्न थालेपछि तनहुँ उच्च जोखिममा परेको छ । चार हजार भन्दा बढीमा डेङ्गुको सङ्क्रमण पुष्टि भएको छ भने चार जनाले ज्यान गुमाएका छन् ।

हाल सम्ममा चार हजार दुई सय ३९ जनामा सङ्क्रमणको पुष्टि भएको स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । सङ्क्रिमत मध्ये ८६ प्रतिशत व्यास नगरपालिकाको रहेको अधिकारीले बताउनुभयो । मृत्यु हुनेमा चारै जना व्यास नगरपालिकाका रहेका छन् । व्यास नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख प्रमोद सोतीले गत असार १६ गते व्यास –१० का ३५ वर्षीय युवा, यही असोज २ गते व्यास–११ का १५ वर्षीय युवा र यही असोज ८ गते व्यास –२ का ४ वर्षिय बालक र १३ वर्षीया बालिकाको डेङ्गुको सङ्क्रमणबाट मृत्यु भएको जानकारी दिनुभयो । डेङगुको संक्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

एक्कासी तीनदेखि पाँच दिनसम्म ज्वरो आउनु यो रोगको मुख्य लक्षण हो । यसरी आएको ज्वरो पाँचदेखि सात दिनसम्म रहिरहन सक्दछ । यसका साथै बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिबर्तन बरालले जानकारी दिनुभयो । जिल्लामा रोग फैलिदै गएपछि रोकथाम, नियन्त्रण र न्युनिकरणको लागि अभियान सञ्चालन गरिएका छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौं र नष्ट गरौं’’ भन्ने नारा सहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । डेङगु संक्रमण तीव्र गतिमा फैलिए पछि रेडक्रसले समेत एक महिने रोग बिरुद्धको अभियान गरेको छ । असोज १५ देखि सुरु भएको र आगामी काक्तिक १५ गते सम्म सञ्चालन गरिने नेपाल रेडक्रस सोसाईटी तनहुँका महामन्त्री सूर्यचन्द्र हड्खलेले जानकारी दिनुभयो । अभियानमा स्वास्थ्य सचेतनालाइ प्राथमिकता दिईएको उहाँले जानकारी दिनुभयो । रेडक्रसले डेङ्गु नियन्त्रण तथा रोगथामका लागि स्वयमसेवक परिचालन तथा स्थानीय तह र स्वास्थ्य संस्थामार्फत लार्भा खोज र नष्ट लगायतका कार्यक्रम सञ्चालन भईरहेको उहाँले जानकारी दिनुभयो ।

 

 

 

Show More

Related Articles

Check Also
Close
Back to top button