औपचारिक रुपमा तनहँुसुर घरवास सञ्चालन

जिल्लाको व्यास नगरपालिका–११ स्थित तनहुँसुरमा सञ्चालन गरिएको तनहुँसुर देवस्थल सामुदायिक होमस्टेको शुक्रवार औपचारिक उद्घाटन गरिएको छ । २०७५ साल देखि सञ्चालित उक्त होमस्टे कोरोनाको कारण औपचारीक रुपमा उद्घाटनमा भएको थिएन । उक्त होमस्टे तथा सामुदायिक होमस्टे भवनको एक समारोहका बीच गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री हरिबहादुर चुमानले उद्घाटन गरे । कार्यक्रममा बोल्दै उनले गण्डकी प्रदेश सरकारको पहिलो प्राथमिकतामा पर्यटन रहेको बताए ।

उनले भने, प्रदेश सरकारको पहिलो प्राथमिकतामा पर्यटनलाई राखेका छौं । त्यसमा पनि ग्रामीण क्षेत्रको पर्यटन प्रर्वद्धन गर्न होमस्टेलाई जोड दिएका छौं । ’ व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यासले कृषि र शिक्षा सँगै पर्यटनलाई पनि प्रमुख प्रथामिकतामा राखेर काम गरिरहेको बताए । उनले भने,‘ नगरपालिकाले कृषि,पर्यटन र शिक्षाबाट ल्याउन खोजी रहेको छ । ’ उनले अघि भने, ‘ प्राचीन सम्पदाको संरक्षणसँगै स्थानीयको जीवन स्तर उकास्न पनि होमस्टे प्रवद्र्धनका कार्यक्रमलाई जोड दिएका छौं । ’

नगरपालिकाका प्रशासकीय अधिकृत डिल्लीराम सिग्देलले होमस्टेले आधुनिकता भन्दा पनि मौलिकतामा आधारित रहि सेवा दिन आवश्यक रहेको बताए । २०७५ सालमा तनहुँसुरको ऐतिहासिक धार्मिक, साँस्कृतिक पुरातात्विक एवम् प्राकृतिक सम्पदाको संरक्षणका साथसाथै तनहुँसुर घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई खाना र आवासको सहजताका लागि तनहुँसुर देवस्थल सामुदायिक होमस्टे सञ्चालन गरिएको होमस्टे सञ्चालक समितिका अध्यक्ष पदम बहादुर आलेले जानकारी दिए । े हाल प्रदेश सरकार, स्थानीय सरकार र विभिन्न संघसंस्थाको सहयोगबाट स्थापित उक्त होमस्टे हाल १४घरमा सञ्चालन गरिएको छ ।

उजाड बन्दै गएको बस्तीको पहिचान कायम गर्दै तनहुँसुरको प्राचीन सम्पदाको संरक्षणका लागि होमस्टे सञ्चालन गरेको होमस्टेका उपाध्यक्ष मदन आलेले बताए । उच्च सम्भावना बोकेर पनि एकाएक गाँउ नै रित्तिन थालेपछि विस्थापित हुनेलाई रोक्न र पुन गाँउमै र्फकाउन पाल्पालीथोक, पत्यारथोक र गंगलीथोकका बासिन्दा जुटेर होमस्टे सञ्चालन गरेको आलेले जानकारी दिए । एक पटकमा ४० जना पर्यटकहरुलाई गुणस्तरीय सेवा दिन सक्ने गरी कोठा र अन्य पुर्वाधार निर्माण गरी सकेको सचिव ज्ञानभक्त आलेले बताए । सफा सुत्ने कोठा, बाथरुम सहितको शौचालय, पानीधारा ,प्रत्येक घरमा वाइफाइ सेवा अन्य आवश्यक सुविधासहित व्यवस्था गरिएको छ ।

होमस्टेका घरका लागि उर्जा तथा वातावरण नेपालले एक–एक सेट खाट, सिरक, डसना, तन्ना सहयोग गरेको आलेले बताए । त्यस्तै होमस्टेमा आवद्ध परिवारलाई अर्गानिक खेती, प्राङ्गारिक विषादी बनाउने तालिम, पुरातात्विक सम्पदाको महत्व सम्बन्धी अभिमुखीकरण लगायतका कार्यक्रम भइसकेको उनले जानकारी दिए । पर्यटकलाई स्थानिय उत्पादन नै खान दिइने गरेको उनले बताए । कमै, कोदो, फापरका परिकार, गुन्द्रुक, बोडी, खसी ,लोकल कुखुराको माँसु त्यहाँका प्रसिद्ध परिकार रहेका छन् । होमस्टेमा नास्ता, खाना र लजिङ्गलाई एक हजारको प्याकेजको व्यवस्था गरिएको छ । प्याकेजमा सादा खाना, मासु खाना, लजिङ्ग, बिहानको नास्ता, बेलुकाको नास्ता र लोकल जुस समावेश गरिएको होमस्टे सञ्चालक समितिले जनाएको छ ।

तनहुँसुर दरबारका अवशेष, राजपरिवारले प्रयोग गरेका किल्ला र गढीहरु, धारा, तोप अन्य हातहतियार, राजाले न्याय निसाफ तथा कचहरी सञ्चालन गर्ने गद्दी चौतारा, भगवतीपानी मन्दिर, सहिद पार्क, ऐना पहरा, छाप लगाउने ढुङ्गा, साउने कुवा, कुँडापानी, बाइस सिढी चौतारा, ढुङ्गेसाँगु, फुलपाती ढुङ्गा, रानीपोखरी, धर्मशाला, रानी बगैंचा, धान गोदाम, विष्णु र शिव मन्दिर, गोलाघर, हात्ति बाध्ने किल्ला, टुँडीखेल, दुर्लभ सिलिङ्गे फूल, समुन्द्र र करवीर फल , अन्नपुर्ण, मनास्लु, लाङटाङ हिमश्रृङ्खलाका २० भन्दाबढी हिमालहरु, कुहिरोको रास, सुर्योदय र सुर्यास्तका मनोरम दृश्यावलोकन, कृषि फलफुल र पशुपंक्षी फार्म लगायत होमस्टे वरपरका सम्पदा हुन । होमस्टेमा पृथ्वीराजमा पर्ने घाँसीकुवाबाट १२.५ किलोमिटरको सहज मोटरमार्गबाट र पैदलयात्रा रुचाउनेका लागि मुलपानीबाट इको ट्रेक सञ्चालन गरिएको छ । पैदल यात्रामा प्रकृतिसँग रमाउदै करिब २ घण्टामा ६.५ किलोमिटरको दुरी सजिलै पार गर्न सकिन्छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button