सुरु भयो व्यास गुफा परिशरमा एक महिने हिन्दु महामिलन पर्व

दमौली खबर संवाददाता

तनहुँ, कात्तिक २  गते

व्यासभूमि दमौलीलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित एक महिने विश्व ओमकार तथा हिन्दू महामिलन पर्व मङ्गलबारबाट सुरु भएको छ । वेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यालयको आयोजनामा पर्व आयोजना गरिएको हो ।

महामिलन पर्वको पर्यटन तथा नागरिक उड्यन मन्त्रालयका सस्कृति विज्ञ तथा प्राज्ञिक डा.भक्त राईले उद्घाटन गर्नुभयो । सो अवसरमा राईले आधुनिकता नाउँमा, विकासको नाउँमा नेपाली सस्कृतिलाई विर्सिएर अर्थ नहुने बताउनुभयो । परम्परागत सीप, ऋषिमुनीबाट सृजित ज्ञानको भण्डारलाई जीवन पद्धतिमा उपनाउनु पर्ने बताउनुभयो । सूसस्कृत समाज भएन भने भौतिक विकास प्राप्त भएपनि समाजमा शान्ति नपाईने उहाँले बताउनुभयो । मानिस धनी भएपनि सूस्कृत समाज भएन भने अशान्ति हुने भएकोले यस्ता महामिलन पर्वले समाजमा शान्ति कायम गर्न टेवा पुग्ने राईको भनाई थियो ।

अठाइसौं श्रीकृष्ण द्वैपायन वेदव्यासको अवतरणभूमिको प्रचारप्रसार गर्ने मुख्य उद्धेश्यले महामिलन पर्व आयोजना गरिएको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारीले जानकारी दिनुभयो । व्यासभूमिलाई विश्वमाझ परिचित गराई धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित प्रतिष्ठानका महासचिव ऋषिराम ढुङ्गानाले बताउनुभयो । ढुङ्गानाका अनुसार व्यासभूमिलाई ओमकार तथा सनातन धर्मावलम्बीहरुको धार्मिकस्थल बनाउन एक महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १०८ दीप प्रज्ज्वलन गरिने छ । महामिलन पर्वको अवसरमा पितृ उद्धारका लागि सवा लाख दीप प्रज्ज्वलन गरिनेछ । यसअघि व्यासभूमिमा शान्ति स्वरुपानन्द दामोदर बाबाको सत्सङ्कल्प र संरक्षक गोविन्द बाबाको तथा वेद अनुयायी प्रतिष्ठानको आयोजनामा १८ महिनासम्म कथावाचन भई प्रथम ऐतिहासिक १८ महिने अखण्ड हरिनाम सङ्र्कीतन एवं १०८ श्रीमद्भागवत ज्ञान महायज्ञ र भूमिपूजन सम्पन्न भइसकेको छ ।

धार्मिक, सांस्कृतिक तथा पर्यटकीय हिसाबले महत्व बोकेको व्यासभूमि ओझेलमा परेको महसुस गरिएकाले कार्यक्रम आयोजना गरिएको प्रतिष्ठानका उपाध्यक्ष दुर्गाभक्त अधिकारी बताउनुहुन्छ । व्यासले यही भूमिमा महाभारत, चार वेद र अठार पुराणको रचना गरेको दाबी र विभिन्न स्रोतले प्रमाणित गरे पनि व्यासभूमिको उचित प्रसारप्रसार हुन नसकेको ओझेलमा परेकाले यस्ता कार्यक्रममले पौराणिक, आध्यामिक, धार्मिक, पुरातात्विक र ऐतिहासिक दृष्टिले परिचित गराउन मद्धत पुग्ने व्यासका अध्यता काशीनाथ न्यौपानेले बताउनुभयो । विसं २०४१ मा योगी नरहरिनाथले कोटीहोम लगाउने शिलशिलामा भएको धर्म सभामा महर्षि वेदव्यासको अवतरण भूमि दमौली स्थित शुक्लामाहेन्द्री सङ्गम भएको भनाइ व्यक्त गरेको न्यौपानेले जानकारी दिनुभयो ।

व्यासभूमिलाई विश्वभर परिचित गराउन र धार्मिक पर्यटनको विकास गर्ने उद्देश्यसहित व्यास क्षेत्र विकास कोषको सक्रियतामा एक सय आठ फिट व्यासको मूर्तिका लागि आवश्यक पूर्वाधार निर्माण काम सुरु गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र व्यास नगरपालिकाबीच सम्झौता भई पहिलो चरणमा रु पाँच करोड ८४ लाख ८४ हजार ५२ को लागतमा मूर्ति अड्याउने स्तम्भ निर्माणको काम भइरहेको छ । यसका लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको समपुरक अनुदान रु तीन करोड ८० लाख १४ हजार छ सय ३३ रहेको छ भने व्यास नगरपालिकाले रु दुई करोड चार लाख ६९ हजार चार सय १९ लागत साझेदारी गरेको छ । व्यासको जन्मभूमि दमौलीमा शिवपञ्चायन मन्दिर छ । मन्दिरको केही तलपट्टि व्यासगुफा छ । जहाँ बसेर व्यास ऋषिले चारवेद र अठार पुराणको रचना गरेको दाबी गरिन्छ । व्यास गुफाको पारिपट्टी पराशर गुफा छ । पराशर गुफासम्म पुग्नका लागि मादी नदीमा झोलुङ्गे पुल निर्माण गरिएको छ । व्यासगुफासम्म घुम्न आएकाहरू पुल तरेर पराशर क्षेत्र पनि पुग्ने गरेका छन् ।

व्यासभूमिलाई अन्तर्राष्ट्रियस्तरसम्म परिचित गराउँदै धार्मिक गन्तव्य बनाउन विविध कार्यक्रम हुँदै आएको छ । आजभन्दा करिब पाँच हजार पाँच सय वर्ष अगाडि व्यासको यस क्षेत्रमा अवतरण भएको धार्मिक विश्वास छ । व्यास ऋषिको जन्म बारेको प्रसङ्गमा दमौलीदेखि आठ किमि पूर्व छाब्दी वाराहको मन्दिर देखि करिब ५० मिटर पश्चिम पट्टिको कुण्डमा व्यासकी माता सत्यवतीको जन्म भएको थियो, माछाको रूपबाट जन्म भएकीले त्यस कुण्डको नाम मच्छे कुण्ड रहन आएको व्यासका अध्यता न्यौपाने बताउनुहुन्छ ।

चारवेद १८ पुराणको रचनाकार भगवान वेदव्यासको जन्म भएको विश्वकै पावन भूमिलाई पौराणिक, धार्मिक, आध्यामिक, पुरातात्विक तथा ऐतिहासिक दृष्टिले सुपरिच गराउन, मानव कल्याण, विश्वकल्याणको थप उद्धेश्यले पर्व आयोजना गरिएको हो ।

Show More

Related Articles

Check Also
Close
Back to top button