बाढी पहिरोले तनहुँ बिद्युत क्षेत्रमा एक करोडको क्षति

 ः

सानेबहादुर नेपाली

तनहुँ,१ साउन रासस

गत आइतबार अविरल बर्षात पछि आएको बाढी पहिरोले तनहुँमा करिब रु.एक करोड बराबरको क्षति भएको बिद्युत प्राधिकरण कार्यालय तनहुँले जनाएको छ । जिल्लाको विभिन्न क्षेत्रमा गएको पहिरोका कारण बिद्युतको पोल बगाउने र ढाल्ने गरेकोले ठुलो क्षति भएको हो । बाढी पहिरोका कारण तनहुँमा बिद्युत क्षेत्रमा रु.एक करोड बराबरको क्षति भएको अनुमान गरिएको बिद्युत प्राधिकरण कार्यालय तनहुँका प्रमुख कपिलराज पाण्डेले बताउनुभयो । बिद्युतका पोल बगाएका र ढालिएका कारण अधिकाँश क्षेत्रका बिद्युत लाइन काटिएको छ । उहाँले भन्नुभयो ‘बिद्युत खपत गराउन नसक्दा कार्यालयलाई नोक्सान भएको छ भने कयौ उपभोक्ताहरु अन्धकारमय जीवन बिताउन बाध्य छन् ।’ जिल्लाको थर्पु नोलाइटका तीन सय र दमौली नोलाइटबाट बितरण गरिएका एक सय गरी करिब चार सय घरधुरीका मानिसहरु अन्धकारमा बस्न बाध्य भएका छन् ।

म्याग्दे गाउँपालिका,ऋषिङगाउँपालिका र व्यासनगरपालिका गरी क्षेत्रका करिब ७५ वटा भन्दा बढि बिद्युतका पोल ढाल्ने र बगाउने गरेपछि ती घरपरिवार अन्धकारमा बस्नु परेको थर्पु नोलाइटका इन्चार्ज दीपक वाग्लेले जानकारी दिनुभयो । बिद्युत अवरुद्ध हुँदा म्याग्दे गाउँपालिकाका धेरै बासिन्दाहरु प्रभावित बनेको उहाँले बताउनुभयो । पृथ्वीराजमार्ग क्षेत्रका दश वटा पोल ढलेका छन् । उहाँले भन्नुभयो ‘म्याग्दे गाउँपालिका क्षेत्रमा मात्रै ११ केभी क्षमताको मुख्य लाइनको चौध र शाखा लाइनको १९ वटा पोल ढलेपछि बिद्युत अवरुद्ध भएको हो ।’ पहिरोका कारण ग्रामीण क्षेत्रका सडकमा समेत क्षति पुगेपछि बिद्युत पोल ढुवानी गर्न कठिनाई भएको छ । उहाँले भन्नुभयो ‘प्राविधिक कठिनाईका कारण काम गर्न गाह्रो भएको हो ।’ अधिकाँश क्षेत्रमा पोल गाड्ने स्थानमै पहिरो गएको र पानी परिरहेका कारणले पनि बिद्युत मर्मतका कार्य गर्न नसकिएको उहाँले बताउनुभयो ।

बाढी पहिरोका कारण म्याग्देको तुरतुरे क्षेत्रमा बिद्युत अवरुद्ध हुनुका साथै खेत सिंचाईको लागि प्रयोग गरिएको सात वटा मिटर बाढीले बगाइदिएपछि त्यसक्षेत्रका बासिन्दाहरुले पटक पटक फोन गरेर सताउन थालेको उहाँले जानकारी दिनुभयो । त्यसैगरी दमौली एरिया क्षेत्रको ११ केभी क्षमताको मुख्य र शाखा लाइनका गरी ६० वटा पोल बाढी र पहिरो ढाल्ने र बगाउने गर्नाले जिल्लाको ऋषिङ गाउँपालिका र व्यासनगरपालिका क्षेत्रमा बिद्युत अवरुद्ध बनेको छ । पृथ्वीराजमार्ग क्षेत्र वरिपरि रहेका कतिपय क्षेत्रमा नै बिद्युत बल्न नसकेपछि समस्या भएको छ । व्यासनगरपालिका भित्रमा पोल गाड्नुपर्ने बाहेकका अन्य साना तिना काम गरी बिद्युत सुचारु गरिसकिएको दमौली एरिया इन्चार्ज राजमोहन तिवारीले बताउनुभयो ।

स साना समस्याले रोकिएका स्थानमा तत्कालै गएर बिद्युत सुचारु गरिएको छ । उहाँले भन्नुभयो ‘पोल गाड्ने र पोल ढुवानी गर्नुपर्ने क्षेत्रमा प्राविधिक समस्या कारण बिद्युत सुचारु गर्न समय लाग्ने देखिएको छ ।’ जिल्लाको ऋषिङ गाउँपालिकामा बितरण गरिएको बिद्युतको टान्समिटर बुल्दीखोलाले ढालेपछि ऋषिङ गाउँपालिकाका केही बासिन्दाहरु प्रभावित भएका छन् । तनहुँका मुख्य मुख्य क्षेत्रमा केहि समय अघि मात्रै छुट्टै फिडर लाइन जडान गरिएकोले दुई÷चार वटा पोल ढल्दैमा अन्धकारमा बस्नुपर्ने समस्याको अन्त्य भएको उहाँले बताउनुभयो । फिडर लाइनले दीर्घकालिन समयको लागि समाधान नगरेपनि करिब चार÷पाँच दिन धान्न सक्छ । उहाँले भन्नुभयो ‘उक्त अवधिभित्र अबरुद्ध बिद्युत मर्मत सम्भार गरी सुचारु गर्न सकिने छ ।’ जिल्लाको कुनै क्षेत्रमा पोल ढल्यो भने बिद्युत अबरुद्ध भई त्यसको असर सबै क्षेत्रमा पर्न जाने हुँदा केहि दिन अघि मात्रै दमौली लगायतका मुख्य क्षेत्रमा छुट्टै फिडर जडान गरिएको उहाँले जानकारी दिनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button