मुटुको रित्तो चित्र
मुटुको रित्तो चित्र
पर … धेरै पर छुटेको
एउटा प्राचीन चौतारीजस्तै
आफैलाइ फर्किएर हेर्दै
जेलखानाको भितामा ठोक्किने कैदिको भाग्यझै
म ठोक्किन्छु तिमीमा ।
यहि भूगोलको एक अङ्गालो छितिजमुनी
पोखरिमा खसेको घामजस्तै
ओठहरु भुइँभरी खसालि
छरपष्ट मेरा रहरका ताती र सपना
सङ्गाली पोल्टामा हाली दिएका थियौ
र वसन्तका कुरा गर्दै
फूलका रङ्गहरुको वयान गरेका थियौ
मैले एकनास सुनेकी थिएँ
मुटुको पानामा कुदिएर
तिम्रा निला गहिरा आखामा कैदभइ
यो क्षण
हावाको याम मुनि उभिइ
अतितका फाइलबाट
सम्झनाका एलबम झिकी हेर्छु
`तिमिलाई बिर्सिन्छु कि’ भन्ने डरले
कति रात नसुती बिताएछु
मसङ्गै भक्कानिएर रुने
सिरानिलाई थाहा छ
या सधै दु:खि रहने मुटुलाई
उसैगरी रोइरहने साझहरु
बेहिसाब कति आए/कति गए ???
निर्मम समयले छलगरेपछी
प्रीयलाग्ने दिन पनि
हाम्रै बिचबाट अस्ताएर गइहाल्छन
बिच बाटैमा घाम ओझेल परेपछी
तिमी कता लाग्यौ,
कता ?
म त्यही समिको बोट साक्षी राखी
अनुरागको न्यानो बर्को ओढेर
पर्खिरहे__ _ _
ओछ्याएर आखाहरु
परदेशी राजमार्गभरी
अक्सर प्रेम त, हृदयको अटल गहिराईमा
लुकि वसेकै छन
नफुल्दै मुर्झाएको योवनको पिडामा
झोक्राइ रहेको
गुलाबको बोटमूनी बसि
आकाशमा हेर्छु-सधै
सबैबाट छुटेको एउटा तारालाई
देखिन्छ-प्रतिबिम्ब बनी
तिम्रो मुटुको रित्तो चित्र
र मरुभुमी बाचिरहेको
यो विदिर्ण आफ्नै रुप ।
***
-आस्था कोपिला
खोटाङ, दिप्रुङ्चुइचुम्मा-६