बन्ला त वेदव्यासको मुर्ति ? ५० करोडको योजना, बजेट पाँच करोड

वेद अठार पुराणका रचयिता महर्षि वेदव्यासको २८ औं अवतरण दमौलीमा भएको बताइन्छ । व्यास पराशर क्षेत्रको रूपमा परिचित यस क्षेत्रलाई अनादी वैदिक सनातन धर्मको उद्गमस्थलका रूपमा विकास गर्न भन्दै उक्त क्षेत्रमा एक सय ८ फिट अग्लो वेदव्यासको मुर्ति निर्माण गर्ने कुरा एक दशक अगाडी देखि चर्चा चल्दै आएको छ । तर अहिले सम्म पनि निर्माण कार्यको थलानी सुरु गरिएको छैन । उक्त मुर्ति निर्माणको कार्यको लागि व्यास क्षेत्र शिवपाञ्चायन विकास कोष रहेको छ । कोषले बजेट कम नभएको भन्दै ८ महिना अगाडी महायज्ञ गरि दाता बाट रकम संकलन गरेको थियो ।

निर्माण कार्यको थलानी गर्ने समयमा कोरोनाको महामारीले गर्दा सरकारले गरेको लकडाउनका कारण निर्माण कार्य रोकिएको कोषका अध्यक्ष अशोककुमार श्रेष्ठले बताए । उनले भने,“ लकडाउनले मुर्ति निर्माणमा प्रभाव पार्यो, अब छिटै नै हामीले निर्माण कार्यलाई त्रीवता दिन्छौ ”। मुर्ति निर्माण कार्यमा व्यास नगरपालिकाले अभिभावकको रुपमा ग्रहण गरेको छ । तर पालिकाले मात्र सबै बजेट निकासा गर्न मुस्किल परेपछि कोषले प्रदेश र संघ सरकार बाट सहयोगको अपेक्षा गरेको छ । “व्यासभूमिलाई धार्मिक एवं पर्यटकीय गन्तव्य बनाउने लक्ष्यसहित मूर्ति निर्माणको कामलाई अगाडि बढाउन खोजिएको हो”, श्रेष्ठले भने, “स्थानीय सरकारले सबै खर्च व्यवहोर्न पनि सक्दैन, प्रदेश र सङ्घीय सरकारले पनि मूर्ति निर्माणका लागि बजेट उपलब्ध गराउनुपर्छ ।

उनका अनुसार संघ र प्रदेश सरकार बाट ५ करोड देखि २० करोड सम्म बजेट आउने अपेक्षामा रहेको बताए ।उनले भने,‘ प्रदेश र केन्द्र सरकार बाट पनि बजेट अपेक्षा छ । जग खन्ने काम अब हुन्छ, बिस्तारै अन्य बजेटको पनि व्यवस्था गरिन्छ । ’ कोषले मुर्ति निर्माणको लागि स्थानीयस्तरबाट सहयोग सङ्कलन गर्न महायज्ञ पनि आयोजना गरेको थियो । हाल कोषमा ५ करोड रुपैया मात्र रकम रहेको छ । मुर्तिको लागि मात्र ३२ करोड खर्च हुने अनुमान गरिएको छ । बाँकी क्षेत्रमा वृतचित्र हल, व्यास पुस्तकालय, शौचालय, बगैचाको साथ विश्राम घर, तलाउ सहितको मत्स्यगंघा पार्क, क्याफेटरिया, चमेना गृह, पुजारी घर, साना २७ वटा व्यासका मुर्तिहरु लगायत हुनेछ ।

ब्यासको मूर्ति निर्माणको थालनी विसं २०६८ देखि भएको थियो । मूर्ति निर्माणका लागि रकम सङ्कलन गर्न सो बेला आयोजना गरिएको महायज्ञबाट करिब रु ७० लाख सङ्कलन भएको थियो । सो रकममध्ये रु १० लाखको लागतमा नमूना मूर्ति निर्माण गरिएको छ, जुन ब्यास नगरपालिकाको हाताभित्र राखिएको छ । बाँकी रकमले मूर्तिको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ । व्यास–३स्थित शिव पञ्चायन मन्दिर क्षेत्रमा निर्माण गर्न लागिएको व्यास मूर्तिसहित सबै संरचनाका लागत करिब ६२ करोड ८५ लाख ५ हजार रुपैयाँ बजेट अनुमान गरिएको छ ।

मुर्ति निर्माणमा अन्र्तराष्ट्रिय क्लबबाट अपेक्षा

दमौलीमा रहेका अन्र्तराष्ट्रिय क्लबबाट कोषले मुर्ति निर्माणमा सहयोग अपेक्षा गरेको छ । आईतबार व्यास नगरपालिकाको सभा हलमा दमौलीमा रहेका क्लबहरु सँग कोषले छलफल गरेको छ । व्यास नगरपालिका नगरप्रमुख वैकुण्ठनाथ न्यौपानेको प्रमुख अतिथ्यमा भएको उक्त कार्यक्रममा दमौलीका लायन्स, जेसिस, रोट्राक्ट, रोटरी लगायतको क्लबहरुको प्रतिनिधिको उपस्थिती रहेको थियो । कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले मुर्ति निर्माणको कार्यलाई जोड दिनु पर्ने बताए । उनले भने, ‘ अब बिस्तारै मुर्ति निर्माणको कार्यलाई जोड दिन आवश्यक छ । आवश्यक बजेट प्रदेश र केन्द्र सरकार सँग अपेक्षा गरिएको छ । ’कोषका अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा क्लबहरु सबै मिलेर आफनो नगर सुन्दर बनाउन भरपूर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

 

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button