चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते हुने

दमौली खबर संवाददाता

चितवन निर्वाचन क्षेत्र नं. २ को उपनिर्वाचन आगामी वैशाख १० गते हुने भएको छ ।

आइतबार बसेको आयोगको बैठकले वैशाख १० गते उपनिर्वाचनका लागि मिति तय गरेको हो । गत मङ्सिरको चुनावमा उक्त क्षेत्रबाट निर्वाचित रवि लामिछाने अयोग्य भएको सर्वोच्च अदालतले आदेश गरेपछि लामिछानेको पद खारेज भएको थियो । लामिछानेको पद खारेजीपछि चितवन –२ रिक्त थियो ।

नेपालको संविधानको धारा ८४ को उपधारा ७ मा प्रतिनिधि सभाको कार्यकाल ६ महिनाभन्दा बढी बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थान जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको थियो सोही प्रक्रियाद्वारा पूर्ति गरिनेछ भन्ने व्यवस्था रहेकोले उप निर्वाचनको मिति तय गरिएको आयोगले जनाएको छ । प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीअन्तर्गत निर्वाचित कुनै सदस्यको पद प्रतिनिधि सभाको अवधि ६ महिनाभन्दा बढी कायम रहँदै कुनै कारणले रिक्त भएमा आयोगले तोकेको मितिमा त्यस्तो रिक्त सदस्यको पद उपनिर्वाचनद्वारा पूर्ति गरिने व्यवस्था भए बमोजिम आयोगले उपनिर्वाचनको मिति तोकेको हो । उपनिर्वाचन कार्यक्रम अनुसार सोमबार फागुन १ गतेदेखि चैत १६ गतेसम्म मतदाता नमावली अद्यावधिक कार्यक्रम सञ्चालन हुनेछ ।

त्यसैगरी, उम्मेदवारको मनोनयन दर्ता चैत २० गते, उम्मेदवारको विरोधमा उजुरी दिने चैत २१ गते, मनोनयनपत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय दिने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने चैत २२ गते, उम्मेदवारको नाम फिर्ता र उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गर्ने कार्य चैत २३ गते जनाईएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button