३०१ औँ पृथ्वीजयन्ती तनहुँमा भव्यताको मनाइयो, सरकारले विदा दिएपछि आम सर्वसाधारण उत्साहित शंकरराज नहर्की

दमौली खबर संवाददाता

दमौली पुस २७ । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०१ औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बुधवार तनहुँको सदरमुकाम दमौलीमा भव्यताका साथ मनाइएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति तनहुँ, नेपाल ठकुरी समाज तनुहँ लगायतले दमौली बजारको परिक्रमा गरी पृथ्वीजयन्ती मनाएका हुन् । नेपाल ठकुरी समाज तनहुँले दमौली स्थित खुला चौरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं तनहुँ क्षेत्र नम्बर २ प्रतिनिधिसभा सदस्य शंकर भण्डारीले नेपाल एकिकरणमा पौष २७ को दिन विशेष भएकोले सरकारद्वारा राष्ट्रिय दिवस घोषणा गर्नुपर्छ भन्ने भन्दै आएको र त्यसले सार्थकता पाउदा खुशी लागेको बताउनुभयो । पृथ्वीनारायण शाहले नेपाल एकीकरण नगरि दिएको भए आज हामी नेपाली भनेर रहेन अवस्था नरहने समेत सांसद भण्डारीको भनाई थियो ।

जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतिक भएकोले उनको उच्च समान गर्नुपर्ने बताउनुभयो ।

यसैबिच राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका अध्यक्ष विनोद घर्तिले पृथ्वीनारायण शाह राष्ट्रिय एकताको प्रतिक भएकोले प्रत्येक नेपालीहरुले घरघरमा पृथ्वीजयन्ती मनाउनुपर्ने बताउनुभयो

राष्ट्रिय प्रजातन्त्र पार्टी शुक्लागण्डकी नगरपालिकाका केशवराज पौडेलले पृथ्वीनारायण शाहले बाइसे चौविसे राज्यलाई एकिकरण गरी सिंगो नेपाल निर्माण गरेका कारण सिंगो ३ करोड नेपालीहरुले नै पृथ्वी जयन्ती मनाउनुपर्ने बताउनुभयो ।

उता ठकुरी समाज तनहुँका अध्यक्ष टक बहादुर शाहीले पृथ्वीनारायण शाह सिंगो नेपाल राष्ट्रको निर्माता भएकोले हरेक बर्ष पृथ्वीजयन्ती भव्य र सव्य रुपमा मनाउनुपर्ने बताउनुभयो ।

नेपाल ठकुरी समाज जिल्ला कार्य समिति तनहुँका वरिष्ठ उपाध्यक्ष गीता शाही ठकुरीले चार जात ३६ बर्णको सुन्दर फूलवारी नेपाललाई एकतामा बाध्न पृथ्वीनारायण शाहको भुमिका महत्वपूर्ण राख्नुपर्ने बताउनुभयो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button