आलुमाको बिउमा आत्मनिर्भर बन्ने व्यासको प्रयास

मंसिरमा धान भित्राएर पछि आलुखेती गर्ने चलन रहेको छ । आलुमा आत्मनिर्भर बनाउने उद्देश्यसहित व्यास नगरपालिकाले हरेक वर्ष कृषकलाई अनुदानमा आलुको बीउ वितरण गर्ने गरेको छ । बाह्य जिल्लाबाट आलुको बिउ ल्याएर किसानहरुलाई नगरपालिकाले ५० देखि ८० प्रतिशतसम्म अनुदानमा वितरण गरदै आएको छ । तर यो वर्ष नगरपालिकालाई बिउ आलुमा आत्मनिर्भर बनाउन निशुल्क रुपमा सहकारीलाई बिउ बितरण गरेको छ । कोरोना महामारीमा स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्दै आलुको उत्पादन बढाउन नगरपालिकाले किसानलाई सहकारी मार्फत आलुको बिउ उत्पादन गर्न लगाएकोे हो । काभ्रेबाट ७८ बोरा जनकदेव र एक सय १२ बोरा डिजिरे आलुको बिउ ल्याएर सहकारीहरुलाई वितरण गरिएको छ ।

निर्वाहमूखी खेतीप्रणालीको अन्त्य गरी सामूहिक खेतीमा किसानलाई प्रोत्साहन गर्न सहकारीमार्फत् आलुको व्यवसायिक खेती परियोजना सञ्चालन गर्न लागिएको नगर प्रमुख वैकुण्ठ न्यौपानेले जानकारी दिए । उनले भने,‘हरेक वर्ष अन्य जिल्लाबाट आलु बिउ ल्याउदाँ आलुमा आत्मनिर्भर हुन सकिएन । अब यहि आलुको बिउ उत्पादन गरि आत्भनिर्भर हुन यस्तो कार्यक्रम ल्याएका हौं । ’ उनले यस अघि भने,‘ कोरोना महामारीमा स्थानीयस्तरमै रोजगारीको अवसर सिर्जना गर्न र व्यवसायिक आलु खेतीतर्फ अग्रसर गराउन यही आलुको बिउ उत्पादन गर्न लागिएको हो । ’ यसअघि घरपरिवारको लागि मात्र खपत हुने आलु खेती गर्ने किसानले यो वर्ष परियोजनाअन्तर्गत् आलुको खेती गर्ने भएका छन् । हरेक वर्ष आफनो सहकारीको सदस्यलाई मात्र खपत गदै आएको व्यास ५ वेल्टोला स्थित रहेको हरियाली फलफुल तथा तरकारी संस्थाले यस वर्ष १० रोपनी क्षेत्रफलमा आलुको बिउ लगाउने गर्ने भएको छ ।

नगरपालिकाबाट प्राप्तको २० बोरा आलुको बिउ सहकारीले लगाउने भएको सहकारीका अध्यक्ष रविचन्द्र आर्चायले बताए । उनले भने,‘हरेक वर्ष आफनो सदस्यहरुलाई मात्र खपत हुने आलु उत्पादन गर्ने गरेका थियौं । अब अरुलाई पनि हुने आलुको बिउ उत्पादन गर्नेछौ । ’ उक्त सहकारी मार्फत ४० सदस्य आलु उत्पादनबाट लाभान्वित रहेका थिए । त्यस्तै एक सय ८ जना सदस्य रहेको व्यास १० को शिसुवा भत्तेरी कृषि सहकारीले पनि यस वर्ष ७ रोपनी क्षेत्रफलमा १४ बोरा आलुको बिउ लगाउने सहकारीका अध्यक्ष यज्ञप्रसाद शर्माले जानकारी दिए । उनले भने,‘ खानेआलु मात्र उत्पादन गरिदै आईरहेको थियौं । अब बिउ उत्पादन गर्ने भएका छौं । ’ यो वर्ष बिजवृद्धिको लागि अधिकांश क्षेत्रमा पहिलो र दोस्रो पुस्ताको आलु खेती गरिँदै छ । यो वर्ष उत्पादित आलुलाई अर्को वर्ष बिऊको रुपमा बिक्री गर्नेगरी कोल्डस्टोरमा राख्नेसम्मको योजना रहेको नगरपालिकाको भनाइ छ ।

नगरपालिकाले समूहलाई आलुको ड्याङ्ग बनाउने, उकेरा लगाउने, फसल खन्ने लगायतका काममा प्रयोग हुने कृषि उपकरण उपलब्ध गराईने भएको कृषि शाखाकी प्राविधिक प्रिया भण्डारीले जानकारी दिईन् । व्यवसायिक खेती गर्ने किसानलाई अनुदानमा प्राथमिकतामा राखिएको उनको भनाइ छ । यस क्षेत्रमा गुणस्तरीय बिऊ उपलब्ध नभइरहेको अवस्थामा परियोजनाअन्तर्गत् उत्पादित बिऊले आगामी वर्षहरुमा आलुको उत्पादन वृद्धिमा ठूलो टेवा पुर्याउने नगरपालिकाको अपेक्षा छ । निर्वाहमूखी आलु खेती गरेका किसानले मूल्य चुकाउँदा समेत गुणस्तरीय बिउ नपाउँदा लागतअनुसारको उत्पादन लिन सकेका छैनन् । नगरपालिकाले आलु उत्पादक कृषक समूहलाई दिगो बनाउन आगामी वर्षमा समेत बजेटको यथोचित व्यवस्था गर्ने नगर प्रमुख न्यौपानेले बताए । आलुको आयात प्रतिस्थापन गर्न यस्ता कार्यक्रम प्रभावकारी बन्ने नगरपालिकाको विश्वास छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button