नामसँगै दाम कमाउँदै खड्का

तनहुँको शुक्लागण्डकी नगरपालिका–१० मिनामखानीमा तीन वर्ष अघिदेखि भैँसीपालन व्यवसाय शुरु गर्नुभएका हरि खड्काले अहिले नामसँगै दाम कमाउँदै आउनुभएको छ । करिब १०० वटा मुर्रा जातका भैँसी पालेर अहिले दैनिक २०० लिटर दूध बिक्री गर्दा सबै खर्च कटाएर मासिक दुई लाख आम्दानी गर्दै आउनुभएको छ । व्यवसायिक भैँसी पालनबाट राम्रो आम्दानी गर्दै आउनुभएका खड्कासँग अहिले जिल्लाका अन्य पशुपालन कृषकले समेत सुझाव र सल्लाह लिन आउने गरेका छन् ।

‘धन कमाउन विदेश नै जानुपर्छ’ भन्ने सोच र मानसिकता भएका व्यक्तिलाई खड्काले गतिलो सन्देश दिँदै आउनुभएको छ । सीप, जाँगर र परिश्रम गर्न सके स्वदेशमै बसेर पनि विदेशको भन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने उदाहरणसहित प्रस्तुत भएका छन् ।

दैनिक २०० लिटर दूध प्रति लिटर ११० दरले विक्री गर्दा मासिक ६ लाख ६० हजार हुने गरेको कृषक खड्काले बताउनुभयो । उत्पादित दूध स्थानीय खैरेनीटार, दुलेगौँडा बजारमा सजिलै खपत हुने गरेको छ । खड्काको फार्ममा १३ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् ।

खड्काका हजुरबुबालाई भैँसी साहुका नाति भन्थे । त्यही सुन्दासुन्दै आफूले पनि त्यसैबाट प्रभावित भएर भैँसी पालेको खड्काले राससलाई जानकारी दिनुभयो । करिब १०० रोपनी क्षेत्रफलमा कृषि, पशुपालन र पर्यटनलाई सँगसँगै लैजाने लक्षका साथ फार्मको नाउँ नै मल्टी एग्रो प्रालिमा दर्ता भएको छ ।

प्राङ्गारिक कृषि उत्पादनसँगै भैँसीका अतिरिक्त लोकल कुखुरा पालन, घरबास ९होमस्टे० सञ्चालन गर्ने गरी लगानी गर्नुभएको छ । खड्काले उक्त क्षेत्रलाई कृषि पर्यटनका रूपमा विकास गर्ने मुख्य उद्देश्यले घुमाउने घरदेखि तालीम, सेमिनार, गोष्ठी सञ्चालन गर्न सकिने सभाहललगायतका संरचना निमार्ण गर्नुभएको छ ।

खड्काले दूध, फलफूल, तरकारी, कृषि पर्यटन र होमस्टेमा गरी पाँचवटै क्षेत्रलाई एकैसाथ नेपालकै नमूना फार्म बनाउन लाग्नुभएको भेटेरिनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र तनहुँका प्रमुख बालकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
खड्काको फार्मका लागि प्राविधिक सहयोग, औजार उपकरण, घाँस काट्ने, दाना पिस्ने, घाँस ढलाउने मेसिन उपलब्ध गराइएको डा श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दूध चिस्यान केन्द्र चिलिङ भ्याटलगायतका उपकरणका लागि रु १० लाख अनुदान प्रदान गरिएको छ । साथै खड्काको भैँसी फार्मका लागि नश्ल सुधार गर्न उन्नत राँगोको व्यवस्था गरिएको पनि उहाँले जानकारी दिनुभयो ।

दूधको माग बढिरहेकाले विक्रीका लागि कुनै समस्या नभएको खड्काले जानकारी दिनुभयो । फर्ममा हालसम्म रु सात करोड लगानी भइसकेको उहाँ बताउनुहुन्छ । तीन करोड लगानी थप गरेर आम्दानी दोब्बर गर्ने लक्ष्य रहेको खड्काले बताउनुभयो । खड्काले शुक्लागण्डकी नगरपालिकाको दुलेगौँडा बजारमा सुपर मार्केट र अस्पतालमा समेत लगानी गर्नुभएको छ । विदेशी समान बेचेरभन्दा स्वदेशमै उत्पादन गरी विक्री गर्दा देशलाई फाइदा हुने सोचेर कृषि क्षेत्रमा लगानी गरेको खड्काले बताउनुभयो ।

“विदेशी समान बेचेर धनी हुनु भनेको सुन्निएर मोटाए जस्तै हो”, खड्काले भन्नुभयो, “अरू क्षेत्रमा लगानी गरे धेरै कमाउन सकिन्थ्यो, कृषि क्षेत्रमा लगानी गर्दा देशको अर्थतन्त्रमा पनि टेवा पुग्ने हुँदा लगानी गरेको हूँ ।” खड्काले व्यावसायिकरूपमा भैँसी पालन गरेर राम्रो आम्दानी गर्न थालेपछि त्यसक्षेत्रका अन्य कृषकसमेत आकर्षित हुँदै व्यावसायिक पशुपालनतर्फ लाग्न थालेको बताइएको छ ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button