फर्कियो गुमेको खुसी

८२ वर्षीया डल्लीमाया दुलाललाई वर्षौदेखि बायाँ आँखा राम्रोसँग नदेख्ने समस्या थियो। उमेर ढल्किदै गएपछि उनले आँखा देख्नै छाडे। घर छाडेर आँखाको शल्यक्रिया गर्न उनलाई असम्भव थियो। पोखरा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गर्न पैसा थिएन्। व्यास नगरपालिकाको आयोजनामा व्यास २ बालमन्दिर विद्यालयमा चार दिने आँखा शिविर सञ्चालन हुँदै छ भन्ने थाहा पाइन् ।

त्यही शिविरमा उनले आँखाको चेकजाँच गराईन चिकित्सकले पोखरामा संचालन हुने शल्यक्रियामा आउन भनेपछि उनले गत बुधबार नगरपालिकाको समन्वयमा पोखरा पुगेर निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गराईन । झण्डै ८ वर्षपछि उनले स्पष्ट आँखा देख्ने भएकी छिन्। वर्षौंदेखि गुमेको उनको खुसी अहिले फर्किएको छ। उनीजस्तै व्यास नगरपालिकाका थुप्रै मोतियाबिन्दु भएका बृद्धबृद्धाहरुको निःशुल्क शल्यक्रिया भएको छ।

घर आडैमा आएको सुविधाले उनीहरू लाभाम्वीत भएका छन्। पोखरामा पुगेर आँखाको उपचार गराउन सपनाजस्तै लाग्ने उनीहरूले राहतको महशुस गरेका छन्। व्यास ९ का ८९ वर्षीय मानसिंह थापा मगरले पनि नगरपालिकाको समन्वयमा पोखरा पुगेर मोतियाबिन्दुको शल्यक्रिया गराए। ‘बुढेसकाल लागेपछि आँखा देख्नै सकिएको थिएन’, उनले भने, ‘अहिले चस्मा लगाएपछि आँखा देख्ने भएको छु।’ उनले गरिबहरूका लागि यस्ता शिविर चलाइरहनुपर्ने सुझाव दिए।

व्यास नगरपालिकाले ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई लक्षित गरी हिमालयन आँखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा नगरपालिकाले चारदिने आँखा शिविर शुरु गरेको थियो । त्यसपछि अपरेसन गर्नेहरुलाई पोखरामार लगेर अपरेशन गरिएको थियो । अपरेशन खर्च र बृद्धबृद्धाहरूका लागि आउजाउ गर्न गाडीकोसमेत व्यवस्था नगरपालिकाले मिलाइएको थियो।

शिविरमा ७२ जना बृद्धबृद्धाहरूको मोतियाबिन्दुको निःशुल्क शल्यक्रिया लागि पोखरा पठाईएको थियो जसमा दुइृ जनाको स्वास्थ्यको कारण शल्यक्रिया नगरिएको प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम सिग्देलले जानकारी दिए । उनले ‘सबै वडाका बृद्धबृद्धालाई यसअघि चलेको आँखा शिविरबाट पहिचान गराएर शल्यक्रिया गराएका हौँ’, उनले भने, ‘हरेक वर्ष शिविर चलाएर उनीहरूको उपचार गराउछौँ।’

बृद्धबृद्धाहरूलाई पोखरा लगायत अन्य जिल्लामा पुगेर शल्यक्रिया गर्न हजारौँ खर्च हुने र आउनजान समस्या हुने भएपछि घर आँगनमै शिविर चलाइएको उनको भनाइ छ। १४ वटौ वडाका बृद्धाबृद्धाहरू शिविरबाट लाभाम्वीत भएका छन्।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button