गौ संरक्षण केन्द्रलाई पराल

शुक्लागण्डकी नगरपालिका– ९ मा सञ्चालन गरिएको गौ संरक्षण केन्द्रमा संरक्षित पशुचौपायलाई यहाँका २ टोल विकास संस्था मिलेर पराल र नुन सहयोग गरेका छन् । शुक्लागण्डकी–३ को टार टोल विकास संस्था र भुलभुले बाराही टोल विकास संस्थाले शुक्रबार संयुक्त रुपमा संरक्षण केन्द्रमा आश्रित गाई गोरुलाई ६० भारी पराल र २ बोरा नुन सहयोग गरेका हुन् । धार्मिक रुपमा समेत पुजिने राष्ट्रिय जनावर गाईको सेवा गर्न पाउनु भाग्यको कुरा भएको टार टोल विकास संस्थाका सदस्य तथा भुलभुले बाराही भजन समुहका अध्यक्ष जिवनाथ गर्र्तौलाले बताए ।

‘गाईको सिङमा, खुरमा, रौं–रौंमा ईश्वरको वास हुन्छ । गौमाता भनेकी हाम्री आमा जस्तै हुन् । सके त हामीले घरमा नै पाल्नुपर्ने हो । घरमा पाल्न नसकेपनि संरक्षण केन्द्रमा आएर आहारा सघाएका हौँ’, उनले भने । श्ुाक्लागण्डकी नगरपालिकाद्धारा सञ्चालित संरक्षण केन्द्रमा हाल १ सय ३० भन्दा बढी गाई र ३ वटा गोरु छन् । नगरमा छाडा चौपायको संख्या बढ्दै जादाँ सडक दुर्घटना र कृषि बालीको क्षति भएपछि २०७५ बैशाख देखि शुक्लागण्डकी नगरपालिकाले गौ संरक्षण केन्द्र स्थापना गरेको हो । केन्द्रमा पशुचौपायको हेरचाहका लागि नगरपालिकाले २ जना सहयोगी कर्मचारी राखेको छ । संरक्षण केन्द्रका कोषाध्यक्ष भिष्म पौडेलले हिउँद महिनामा चरन क्षेत्रमा घाँस सुक्ने भएकाले सहयोगीले दिएको पराल, दाना, चोक्कर, नुन लगायतका सामाग्रीले थोरै भएपनि सहज भएको बताए ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button