तनहुँ–१ मा ‘निर्णायक’ जोशी समूह फकाउँदै कांग्रेस

दमौली खबर संवाददाता

काठमाडौं, चैत २३

तनहुँ–१ मा वैशाख १० गतेका लागि तय भएको उपननिर्वाचनमा नेपाली कांग्रेसका पूर्वसहमहामन्त्री गोविन्दराज जोशीको समूह निर्णायक देखिएको छ । २०७४ को निर्वाचनमा ‘बागी’ उम्मेदवारी दिएपछि कारबाही गरिएका जोशीको समूह निर्णायक देखिएपछि कांग्रेस उनलाई पार्टीमा भित्र्याउन प्रयासरत छ । पार्टीनिकटकै अर्थविद् डा. स्वर्णिम वाग्ले राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँ–१ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेपछि कांग्रेस जोशी समूह भित्राउन जोडबल गरिरहेको छ । उपनिर्वाचनका लागि चितवन–२ मा समेत उम्मेदवारी दिए पनि वाग्लेले पार्टी नेतृत्वमाथि गम्भीर आरोप लगाएर फरक पार्टीबाट उम्मेदवार बनेपछि कांग्रेसले तनहुँ–१ लाई प्रतिष्ठाको रुपमा लिएको छ । तनहुँ–१ को उपनिर्वाचनको नतिजा पार्टीको पक्षमा पार्न कांग्रेसले जोशीमाथि गरिएको कारबाही फिर्ता गरेर संवाद अघि बढाएको छ । तनहुँ–१ को निर्वाचन परिणाम जसरी पनि पार्टीका पक्षमा पार्न चैत १९ गते केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट कारबाही फिर्ताको निर्णय गरेको कांग्रेसले जोशी समूहसँग दुई चरणमा छलफल नै गरिसकेको छ । पार्टीका तर्फबाट महामन्त्री गगन थापाले नेता जोशी र उनका छोरा दीपकराजसँग गरी दुई चरणमा छलफल गर्नुभएको हो । थापाले सोमबार दीपकसँग र मंगलबार जोशीसँग छलफल गरेको उक्त समूहले जानकारी दिएको छ । ‘अस्ति (सोमबार) मैले गगनजीसँग काठमाडौँमै डेढ घण्टा कुराकानी गरेको हुँ। हिजो (मंगलबार) उहाँले बुबालाई भेट्नु भएको थियो,’ दीपकले भन्नुभयो ‘बुबाले गगनजीलाई यो–यो हो भनेर भन्दिनुभयो । उहाँले आफ्नो पार्टीमा कुरा राख्नुहोला । ’

वडादेखि केन्द्रसम्म भाग खोज्दै जोशी समूह

कांग्रेसले उपनिर्वाचनलाई मध्यनजर गरेर जोशी समूहको साथ खोजेपछि उक्त समूह अवसरको फाइदा लिने मनस्थितिमा देखिन्छ । मंसिर ४ मा सम्पन्न निर्वाचनमा तनहुँ–१ मा पाएको मतलाई आधार बनाएर जोशी समूह कांग्रेससँग तल्लो तहदेखि नै भाग खोजिरहेको छ ।

जोशी समूहले उपनिर्वाचनमा साथ–सहयोग चाहिए वडादेखि केन्द्रसम्म नेताहरुको कार्यक्षमताअनुसारको व्यवस्था चाहिने सन्देश महामन्त्री थापा मार्फत् सभापति शेरबहादुर देउवालाई पठाएको छ । दीपकका अनुसार नेता जोशीले महामन्त्री थापामार्फत् सभापति देउवालाई वडादेखि जिल्ला, प्रदेश हुँदै केन्द्रसम्म आफ्नो समूहका नेताको व्यवस्थापन गर्नुपर्ने सन्देश पठाएका छन् । जोशी समूह आफूसँग ७ हजार मतदाता रहेको दाबी गर्दै तत्कालीन नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय हुँदा नेता विजयकुमार गच्छदारलाई दिइएको जस्तै सम्मान कांग्रेसबाट खोजिरहेको छ । ‘गच्छदारलाई नेपाली कांग्रेसमा ल्याउँदा कसरी व्यवस्थापन भयो? त्यसरी नै हामीले पनि व्यवस्थापन खोजेको हो,’ दीपक भन्नुुहुन्छ ‘नेविसंघ, तरुण दल, पार्टीको वडा, क्षेत्र, जिल्ला, प्रदेश, केन्द्रसम्म खुबी भएकालाई क्षमता हेरेर राख्नुपर्छ ।’ कांग्रेसले कारबाही फुकुवा गर्नुभन्दा अगाडिदेखि नै संवादमा रहेका कांग्रेसका एक नेता पनि जोशीले ‘सेटलमेन्ट’ चाहेको बताउँछन् । उहाँ अनुसार जोशीले आफूनिकटका नेताहरुको पार्टीमा व्यवस्थापन गर्न खोजिरहनु भएको छ । ‘उहाँ सेटलमन्टको कुरा गरिहनुभएको छ र त्यो खोजिरहनुभएको छ,’ ती नेताले भने, ‘केन्द्रीय समितिमा जान खोज्नुभएको छ । म मात्र गएर हुँदैन अरु–अरु साथीहरु पनि छन् भन्नुहुन्छ ।’ तर, जोशीका छोरा दीपक भने आफूहरुले पद मात्रै नखोजेको दाबी गर्छन् । नेता जोशी केन्द्रीय सदस्य लिएर कांग्रेसमा नजाने उनको भनाइ छ । ‘पद खोजेको होइन। जो जहाँ क्वालिफाइड छ, त्यहाँ–त्यहाँ व्यवस्थापन हुनुपर्छ भन्ने हो,’ दीपकले भने, ‘बुबा देउवाकै उमेरको हुनुहुन्छ। सहमहामन्त्री भइसक्नुभएको हो । प्रधानमन्त्री हुने हैसियतको मान्छे केन्द्रीय सदस्य दिएर जानु हुन्न ।’ उहाँ कांग्रेसमा आफूहरुले भागबण्डा नखोजेको पनि जिकिर गर्छन् । ‘भागबण्डाको राजनीति हुँदै होइन। पर्फमेन्स गर्न सक्नेलाई कुनै न कुनै प्लाटफर्म दिनुपर्यो,’ दीपक भन्नुहुन्छ । उहाँ महामन्त्री थापासँगको छलफलमा पदका बारेमा कुनै कुरा नभएको र आफूहरुले व्यवस्थापनबारे कुराकानी गरेको बताउँछन् ।

‘सबैको जित हुने विन्दु खोज्नुपर्छ’

गत स्थानीय तह निर्वाचनमा तनहुँ–१ मा पर्ने व्यास नगरपालिकाको प्रमुखका लागि स्वतन्त्र उम्मेदवारी दिएका नेता दीपक आफ्नो समूहसँग कांग्रेसले सबैको जित हुने विन्दु खोज्नुपर्ने बताउँछन् । अन्यथा उपनिर्वाचनको पूर्वसन्ध्यामा गरिएको कारबाही फुकुवाको निर्णयको कुनै औचित्य नभएको उहाँ भनाइ छ । ‘गएका १८ वर्षमा त केही गरेनन्। अब गर्छन् भन्ने लाग्दैन। कांग्रेसको नियत राम्रो थियो भने राष्ट्रपति चुनाव नहुँदै उम्मेदवारलाई सघाउनु पर्यो भन्थे होलान् नि, तर गरेनन्,’ दीपक भन्नुहुन्छ ‘म्यानुपुलेट गर्ने कोसिस त गर्लान्। तर, सहज भने छैन। हरेक कुरामा लेनदेन हुन्छ। विन–विनको अवस्था हुनुपर्यो। एउटा यस्तो प्वाइन्ट खोज्नु पर्यो, जहाँ सबैको जित होस् ।’ नेता जोशी पनि तनहुँमा समस्या रहेको र समस्या निराकरणका लागि समग्रतामा समाधान खोज्नुपर्ने बताउँछन् । ‘तनहुँमा समस्या छ। समाधान गर्ने हो भने समग्रतामा केन्द्रदेखि वडासम्म समाधान खोज्नु पर्छ,’ उहाँले भन्नुभयो ‘नमिल्ने भन्ने कुरा होइन । मिल्नलाई समग्रतामा समाधान खोज्नु पर्यो ।’ तनहुँका देवघाट, आँबुखैरेनी र बन्दीपुर गाउँपालिका, भानु नगरपालिका तथा व्यास नगरपालिकाका १, २, ३, ४, ७, ८, ९, १०, ११, १२, १३ र १४ नम्बर वडाको भूगोल समावेश गरेर तनहुँ–१ निर्धारण गरिएको छ ।

मंसिर ४ मा सम्पन्न निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसबाट तत्कालीन वरिष्ठ नेता रामचन्द्र पौडेल २५ हजार ३६१ मतका साथ प्रतिनिधि सभा सदस्यमा विजयी भएका थिए। उनका निकटतम प्रतिद्वन्द्वी एकबहादुर रानामगरले १९ हजार ९८१ प्राप्त गरेका थिए ।

स्वतन्त्र उम्मेदवार जोशी (जोशी समूहका नेता गोविन्दराज) ६ हजार ८८६ मत ल्याएर तेस्रो हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार विकास सिग्देल ६ हजार ४४ मतका साथ चौथो भएका थिए। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का उम्मेदवार विनोदकुमार घर्तीले २ हजार ४८४ मत पाएका थिए । २०७४ को निर्वाचनमा तनहुँ–१ मा पौडेलविरुद्ध जोशीले बागी उम्मेदवारी दिएका थिए। बागी उम्मेदवारी दिएपछि कांग्रेसले जिल्ला कार्यसमिति तनहुँको सिफारिसमा २०७७ साउन १० गते उनीमाथि कारबाही गरेको थियो। त्यसबेला जोशीकै बागीका कारण मत काटिँदा पौडेल नेकपा एमालेका तत्कालीन नेता किसान श्रेष्ठसँग पराजित भएका थिए ।

जोशी समूहले गत स्थानीय तह निर्वाचनमा नेता जोशीका छोरा दीपकलाई व्यास नगरपालिकामा प्रमुखको उम्मेदवार बनाएको थियो। उनी मात्र २५२ मतले पराजित भएका थिए । स्वतन्त्रतर्फ उम्मेदवारी दिएका दीपकले ११ हजार ८२६ मत ल्याउँदा कांग्रेसका बैकुण्ठनाथ न्यौपाने १२ हजार ७८ का साथ नगर प्रमुखमा विजयी हुनु भएको थियो । नेकपा माओवादी केन्द्रका अतिन्द्रकेशरी न्यौपानेले ६५९ मत पाउनु भएको थियो ।

१४ वडा रहेको व्यास नगरपालिकाका ५ र ६ नम्बर वडाबाहेक सबै वडाहरु तनहुँ–१ मा पर्दछन्। तनहुँ–२ मा पर्ने ५ नम्बर वडामा कांग्रेस उम्मेदवार यज्ञप्रसाद खनाल १ हजार ६९ मत र ६ नम्बरमा कांग्रेस उम्मेदवार जीवन गुरुङ १ हजार १७७ मतसहित वडाध्यक्षमा विजयी हनु भएको थियो ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Check Also
Close
Back to top button