व्यास पालिकामा पाँच हजार डेंगुका बिरामी, पाँचको ज्यान गया

दमौली खबर संवाददाता

तनहुँ, कार्तिक १

तनहुँको व्यास नगरपालिकामा डेङ्गुबाट झण्डै पाँच हजार विरामी भएका छन् भने पाँच जनाको मृत्यु भईसकेको छ । व्यास नगरपालिकामा चार हजार ७३५ जनालाई डेङ्गुको सङ्क्रमण हुनका साथै पाँच जनाको मृत्यु भएको हो ।

जिल्लाका चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिकामा हाल सम्म पाँच हजार ५५६ जनामा सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । व्यासमा चार हजार ७३५, आँबुखैरेनी गाउँपालिकामा ३९, ऋषिङ गाउँपालिकामा १५०, घिरिङ गाउँपालिकामा आठ, देवघाट गाउँपालिकामा नौ, बन्दीपुर गाउँपालिकामा ३७, भानु नगरपालिकामा ७३ भिमाद नगरपालिकामा १५६ जना, म्याग्दे गाउँपालिकामा ८५ जना, शुक्ला गण्डकी नगरपालिकामा ३४० जना र पालिका नखुलेको ६ जनामा डेङ्गुको सङ्क्रमण भएको स्वास्थ्य कार्यालय तनहुँमा प्रमुख शङ्करबाबु अधिकारीले जानकारी दिनुभयो । सङ्क्रमित मध्ये व्यास नगरपालिकामा मात्रै ८५ प्रतिशत भन्दा बढी रहेको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । कार्यालयका अनुसार पाँच जनाको मृत्यु भएको छ । नगरपालिका–४ शीतलचोकका छ वर्षीय रिजब श्रेष्ठको असोज २६ गते निधन भएको छ ।

गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा श्रेष्ठको मृत्यु भएको हो । डेङ्गुको सङ्क्रमणबाट गत असार १६ गते व्यास नगरपालिका–१० निवासी ३५ वर्षीय युवा, असोज २ गते व्यास नगरपालिका–११ निवासी १५ वर्षीय किशोर, असोज ८ गते व्यास नगरपालिका–२ निवासी १३ वर्षीया बालिका र असोज २० गते व्यास नगरपालिका–२ निवासी ३४ वर्षीया महिलाको मृत्यु भएको छ ।

डेङगुको संक्रमण एडिज जातीको लामखुट्टेबाट मात्र फैलने, सफा पानीमा फूल पार्ने, लार्भा हुर्काउने भएकोले पानी जम्न नदिएर बासस्थान ध्वस्त बनाएर लामखुट्टेलाइ नष्ट गर्नुपर्ने चिकित्सक बताउँछन् ।

बेस्सरी टाउको दुख्नु, आँखाको गेडी दुख्नु, शरीरमा डाबर आउनु, अरुचि हुनु, जोर्नी तथा मांशपेशी बेस्सरी दुख्नु, पेट तथा आन्द्रामा गडबडी हुनु पनि डेङ्गुको लक्षण भएको दमौली अस्पतालका प्रमुख डा. परिबर्तन बरालले जानकारी दिनुभयो । जिल्लामा रोग फैलिदै गएपछि रोकथाम, नियन्त्रण र न्युनिकरणको लागि अभियान सञ्चालन गरिएका छ । लामखुट्टेले फुल पार्ने ठाउँमहरु ‘‘खोजौं र नष्ट गरौं’’ भन्ने नारा सहित जिल्लाको सबै पालिकामा अभियान सञ्चालन गरिएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । नेपाल रेडक्रस सोसाईटी तनहुँ डेङ्गु रोगको रोकथाम तथा न्यूनिकरण अभियानमा सामेल छ । रेडक्रसले सचेतना मुलक कार्यक्रम गरिरहेको छ । रेडक्रसले जुनियर रेडक्रस सर्कल, युवा रेडक्रस सर्कल मार्फत लामुखुट्टेको बास स्थान खोज्ने र लार्भा नष्ट गर्ने लगायतको कामभईरहेको नेपाल रेडक्रस सोसाईटी तनहुँका सभापति प्रा.डा. कृष्णप्रसाद गौतमले बताउनुभयो । रेडक्रसले गत असोज १५ गते देखि अभियान सञ्चालन गरेको छ । अभियान कात्तिक १५ गते सम्म सञ्चालन गरिने रेडक्रस तनहुँका महामन्त्री सूर्यचन्द्र हड्खलेले बताउनुभयो ।

Show More

Related Articles

Back to top button