कोरोनाको त्रास, परीक्षा अघि सारियो

दमौली खबर सम्बाददाता
फागुन २२, दमौली । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको अनुरोधपछि स्थानीय सरकारले धमाधम नयाँ परीक्षा तालिका सार्वजनिक गरेका छन्।
कोरोना (कोभिड १९) भाइरसको त्रास फैलन सक्ने आशंकामा मन्त्रालयले कक्षा १ देखि ९ सम्मका विद्यार्थीको परीक्षा चैत ५ गतेभित्र सम्पन्न गर्न विद्यालयलाई अनुरोध गरेको थियो।
चैत दोस्रो सातादेखि परीक्षा सञ्चालनको तयारी गरिरहेका सबैजसो विद्यालयले फागुनको अन्त्यबाटै परीक्षा चलाउने गरी तालिका बनाएका हुन्। विगतमा जिल्ला स्तरीय भनिएको कक्षा ८ को परीक्षा स्थानीय तहबाट सञ्चालन गर्नुपर्ने कानुनी व्यवस्था छ। व्यास नगरपालिकाले कक्षा ८ को परीक्षा फागुन २८ गतेदेखि चैत ५ गतेसम्म सञ्चालन गर्ने तालिका सार्वजनिक गरेको छ। शनिबारको दिन पनि परीक्षा सञ्चालन गर्ने नगरपालिकाले जनाएको छ।
आँबुखैरेनी गाँउपालिकाले पनि फागुन २७ गतेदेखि चैत ५ गतेसम्म सकिने गरी तालिका सार्वजनिक गरेको छ।
कक्षा ११ र १२ को वार्षिक परीक्षा भने यसअघि निर्धारण गरिएकै मितिमा हुने परीक्षा बोर्डले जनाएको छ। परीक्षा बोर्डका परीक्षा नियन्त्रक कृष्ण शर्माले तोकिएकै समयमा परीक्षा हुने बताए। बोर्डले कक्षा १२ को वार्षिक परीक्षा वैशाख ८ तथा ११ को वैशाख २१ गतेबाट सञ्चालन गर्ने तालिका यसअघि नै सार्वजनिक गरिसकेको छ।
कोरोना भाइरसको संक्रमण फैलन सक्ने आशंकामा सरकारले विद्यार्थीलाई भाइरसको प्रक्रोप फैलिएका मुलुकमा अध्ययनमा जानसमेत प्रतिबन्ध लगाइसकेको छ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button