देवघाटमा रातीमा लास जलाउन रोक

दमौली खबर संवाददाता
फागुन २३

दमौली, तनहँुको देवघाट समयमा दाहासंस्कारमा रोक लगाईने भएको छ । देवघाट गाउँपालिका–५ स्थित देवघाट क्षेत्र बिकास समितिको कार्यालयमा विहिबार बसेको बैठकले प्रसिद्ध धार्मिक स्थल देवघाटमा रातीको समयमा दाहासंस्कारमा रोक लगाइने भएको हो । आगामी बैशाख १ गते देखी राती १० बजेबाट विहान ४ बजेसम्म दाहासंस्कार गर्न रोक लगाईने भएको छ । देवघाट क्षेत्र विकास समितिले रातीको समयमा दाहासंस्कार गर्न रोक लगाउने निर्णय गरेको समितिका अध्यक्ष शिवराज पौडेलले बताए ।

देवघाट स्थित कालीगण्डकी र त्रिशुली नदीको संगम वेणीमा देशभरबाट अन्तिम संस्कार गर्न मृत शरिर ल्याउने गरिन्छ । उक्त संगममा दैनिक करिब १० जना जति मृत व्यक्तिको दाहासंस्कार गरिन्छ । त्यस मध्ये मासिक करिब ५ जनाको रातीको समयमा दाहासंस्कार हुने गरेको छ । नेपालको पशुपती आर्यघाट पछि सबैभन्दा धेरै दाहासंस्कार गर्ने घाटको रुपमा देवघाटलाई लिइन्छ ।

केही महिना अघि देवघाटमा रातीको समयमा दाहासंस्कार गर्न ल्याईएका एक बालक जिवितै भेटिएका थिए । त्यस्तै शंकास्पद मृत्यु या हत्याको घटनाको पनि रातीको समयमा नै दाहासंस्कार गर्न ल्याउने सुचना पाएपछि आफुहरुले धेरै पटक प्रहरीलाई खबर समेत गरेको अध्यक्ष पौडेलले बताए । देवघाटमा दाहासंस्कार गर्न ल्याउने मृतकको सबैभन्दा नजिकको आफन्तले मत्यु सम्बन्धी फारम भर्नु पर्ने हुँदा रातीको समयमा कर्मचारीको व्यवस्थापन गर्न पनि समस्या भईरहेको समितिका कार्यकारी निर्देशक धिरनबाबु घिमिरेले बताए ।

यस्तै विभिन्न कारणले राती १० बजेपछि विहान ४ बजेसम्म दाहासंस्कारमा रोक लगाईने निर्णय भएको कार्यकारी निर्देशक घिमिरेले बताउनु भएको थियो । राती १० बजे पछि घाटमा आईपुग्नेहरुकोलागि नदी किनारमा घाट घरको व्यवस्थापन गरिने समेत बताउनु भएको थियो।

बैठकमा सहभागी तनहुँका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र चितवनका प्रमुख जिल्ला अधिकारी नारयणप्रसाद भट्टराईले कतिपय शंकास्पद मृत्युहरु हतार हतार रातीको समयमा नै दाहासंस्कार गरिहाल्ने र प्रमाण मेटिने भएको कारण पनि रातीको समयमा दाहासंस्कार गर्न रोक लगाउनु उचित हुने बताए ।

यसैविच देवघाट क्षेत्र विकास समितिको बैठकले चालु आर्थिक वर्षमा सञ्चालन गरिएका विभिन्न कार्यक्रमको समिक्षा गरि आगामी आर्थिक वर्षमा सञ्चालन गरिने प्रस्तावित कार्यक्रमलाई अनुमोदन गरि सम्बन्धित मन्त्रालयमा बजेट माग गर्ने निर्णय गरिएको छ।

समितिका अध्यक्ष शिवराज पौडेलको अध्यक्षतामा सम्पन्न समितिको ५७ औं पुर्ण बैठकले देवघाटधामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गर्न धार्मिक परम्परा झल्कने खालको गुरुयोजना निर्माण गर्ने, पर्यटकलाई आकर्षीत गर्ने खालको पुर्वाधार निर्माण गर्ने, धार्मिक सम्पदा समेटिने धार्मिक चक्रपथको निर्माण गर्ने तथा देवघाट क्षेत्रमा शान्ती सुरक्षाको अवस्थालाई थप मजबुत बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ।

बैठकले कालीगण्डकी डाइभर्सनको योजनाले तटीय क्षेत्र खास गरि प्रसिद्ध तिर्थस्थल देवघाटको भविष्यमा पनि संकट पर्न सक्ने भएकाले उक्त डाइभर्सन गर्न नहुने तर्फ संघीय सरकारको थप ध्यानाकर्षण गराउने निर्णय समेत भएको अध्यक्ष पौडेलले जानकारी दिएका छन् ।

Show More

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button