तनहुँ जिल्ला : एक संक्षिप्त परिचय
संघिय नेपालको गण्डकी प्रदेशमा अवस्थित तनहुँ प्रकृति, सभ्यता, रहनसहन र जैविक विविधताले मनोरम ऐतिहासिक पहाडी जिल्ला हो । १० स्थानिय तहमा विभाजित तनहुँमा ४ नगरपालिका र ६ गाउपालिका छन् । भानु न.पा., व्यास न.पा., शुक्लागण्डकी न.पा., भिमाद न.पा., आँबुखैरेनी गा.पा., बन्दीपुर गा.पा., देवघाट गा.पा., म्याग्दे गा.पा., ऋषिङ गा.पा. र घिरिङ गा.पा. तनहुँका स्थानीय तहका नाम हुन् ।
विविध जातजाति भेषभूषाले परिपूर्ण विभिन्न कोट, दरबार, मन्दिर, गुफा, ऋषिमुनिहरूका तपोकेन्द्रहरू सहितका अलङ्कारहरूले सुसज्जित पनि छ । त्यसैगरी नेपाली साहित्यिक आकाशका उज्ज्वल नक्षत्रका रुपमा रहेका वन्दनीय महापुरुष आदिकवि भानुभक्त आचार्यको जन्मभूमि/कर्मभूमि, महर्षि पराशरको तपोभूमि तथा महाभारतका महा रचायिता महर्षि वेदव्यासको जन्मभूमि/कर्मभूमिका रुपमा समेत यस जिल्लाले प्रसिद्धि पाएको छ ।
ऐतिहासिक गाथा र गरिमामय इतिहास बोकेको यो जिल्लाको नामकरण सम्बन्धमा विभिन्न प्रकारका किम्बदन्ती रहे तापनि निम्न दुईलाई प्रमुख रुपमा लिइन्छ ।
१. तत्कालीन तनहुँ राज्यको राजधानी तनहुँसुर आसपासका एकैखालका तीनवटा चुचुराहरुलाई त्रितुङ्ग (संस्कृत त्रि=तीन, तुङ्ग =चुचुरा) नामकरण भई क्रमशः तनुङ्ग बनेको । यस भेकका कतिपय गाउँका नामहरू मानहुँ, किहुँ, काहुँ आदिको अन्त्यमा “हुँ” अक्षर आएकोले त्यस “तनहुँ” भएको हो ।
२. तनहुँको राजधानी तनहुँसुरमा सानो चिउँडो भएको तनुहुनु(संस्कृतः तनु = सानो र हुन = चिउँडो) नाम गरेका ऋषिले तपस्या गरेकाले सो शब्दको अपभ्रंश भएर “तनहुँ” रहेको हो ।
नेपालमा एकीकरण हुनु पूर्व चौविसे राज्यहरू मध्ये जमिन, धन र जनशक्तिमा सम्पन्न तनहुँ राज्य वर्तमान चितवन जिल्लाका अतिरिक्त भारतको विहार राज्यको पश्चिमी चम्पारन जिल्ला अन्तरगत रामनगर तथा वेतियाको – भागसम्मू फैलिएको थियो । वि.स. १६१० देखि १८३९ सम्मको २३० वर्षे अवधिसम्म अस्तित्वमा रही पाल्पाली राजा मणिमुकुन्द सेनका वंशज ९ जना सेनवंशी राजाहरू क्रमशः भृङ्गीसेन, हम्विर तुला सेन, दामोदर सेन, दिग्विजय सेन, कामराजदन्त सेन, त्रिविक्रम सेन, कामरिदत्त सेन र हरकुमारदत्त सेन शासित तनहुँ राज्य श्री ५ रणबहादुर शाह र राजमाता राजेन्द्रलक्ष्मीको शासनकालको एकीकरण अभियानमा नेपाल अधिराज्यमा गाभिन गयो ।
नेपालको मध्यवर्ती भागमा पर्ने यो जिल्ला पूर्वमा गोरखा र चितवन, दक्षिणमा चितवन, नवलपरासी र पश्चिममा स्याङ्गजा र कास्की तथा उत्तरमा कास्की र लमजुङ्ग जिल्लाहरुद्वारा परिवेष्ठित छ । समुद्र सतहबाट १८७ मि. (देवघाट गा.पा.को कालीगण्डकी र त्रिशूली नदीको संगमस्थल) देखि २१३४ मि. (छिम्केश्वरी डाँडा) सम्मका – भागहरूमा फैलिएर रहेको यस जिल्लाको क्षेत्रफल १५४६ वर्ग कि.मी. (४,६०० हे.) नेपालको कुल – भागकोभू १.०५% रहेको छ । साथै जिल्लाको – पश्चिमूर्व लम्बाई ६२.५ कि.मि. र उत्तर – दक्षिण चौडाई ४३.७ कि.मि. रहेकोछ । जिल्ला सदरमुकाम दमौली समुद्र सतह देखि ३७० मि.को उचाइमा रहेको छ । औषत वर्षा २०५८ मि.मि. रहेको छ भने अधिकतम तापक्रम ४१ डिग्री सेल्सियस र न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस सम्म हुने गर्दछ । भौगोलिक दृष्टिले दक्षिणतर्फ चुरे(१.१५%) र उत्तर तर्फ मध्यपहाडी( ९८.८५%) क्षेत्रहरू मिली बनेको यो जिल्ला भू – उपयोगको दृष्टिले रुखयुक्त वन क्षेत्रले ७१,७१५.२२ हे. र झाडीयुक्त वन क्षेत्रले ६,३९६.० हे. गरी ७८,१११.२२ हे. ( ५०.५२%), कृषियोग्य क्षेत्रले ६५,०६१ हे. (४२.०८%), चरन क्षेत्रले ४,३०६ हे. (२.७८%) र अन्य क्षेत्रले ७,१२१.७८ हे. ( ४.६२%) ओगटेका छन् । हिमालय पर्वतबाट निस्केका मर्स्याङ्गदी र त्रिशूली नदीहरूले पूर्व, कालीगण्डकी नदीले दक्षिण तर्फबाट घेर्नुका साथै मादी र सेती नदीहरूले बीचमा चिरेर जिल्लालाई जल सम्पदामा समेत धनी बनाएका छन् ।
राष्ट्रिय जनगणना २०६८ अनुसार यस जिल्लाको कुल जनसंख्या ३,२३,२८८ (नेपालको जनसंख्याको १.२२%) रहेकोमा सो मध्ये १,७९,८७८ (५५.६४ %) महिला र १,४३,४१० (४४.३६%) पुरुष जनसंख्या रहेको छ । जनसंख्या वृद्धिदर जम्मा ०.२५% रहेकोछ । जिल्लामा ७८,३०९ घरधुरीहरू २,३६२ वस्तीहरूमा छरिएर रहेका छन् । साक्षरता ८४.९८ % रहेको छ भने ५३,१३० परिवारले खाना पकाउन दाउरा प्रयोग गर्ने गर्दछन्। त्यसैगरी ८६.५१% हिदु, ९.४४% बौद्ध, १.२८% मुस्लिम, १.६९% क्रिश्चियन र १.०८% अन्य धर्मावलम्बीहरू बसोबास गर्ने यस जिल्लामा जातिगत हिसाबले हेर्दा २८% मगर, १३.५५% ब्राहमण, १२.१७% गुरुङ्ग, १०.७९% क्षेत्री, ७.५%४ नेवार, १५.६९% दलित (कामी, दमै, सार्की, सुनार, गन्धर्व) र १२.२६% अन्य जातिका मानिसहरू वसोबास गर्दछन् । प्रशासनिक दृष्टिले ४ नगरपालिका, ६ गाउँपालिका, ४ प्रदेश निर्वाचन क्षेत्र र २ संघिय निर्वाचन क्षेत्रमा विभाजित रहेको छ ।